सार्की जातको एक्लो परिवार बेलबारी गाविस ३ को करमडाँडा बस्नु नै दुर्भाग्य बन्यो। बाहुन क्षेत्री बढ्ता भएको त्यो समाजमा माया सार्की सधैं आँखाको कसिंगर बनिरहिन्।
नाम बिगारी होच्याएर बोलाउँदा त मान्छेको चित्त दुख्छ, उनले कहिल्यै दुखाइनन् आफू ‘तल्लो जातकी' भनेर। जे भन्दा पनि सहने त्यो बानीले मायालाई हेलोहोचोको पात्र बनाइरह्यो। सधैं आँखा फुकाएर 'सर्किनी’ मात्र भने त्यो समाजका सानातिनादेखि बडेबडे सबैले।
मन चरक्क दुःखेर आउँथ्यो।
माया 'तल्लो जातकै हैसियत’मा बसिइरहिन्। यसबीचमा मुलुकमा परिवर्तन आयो। लोकतन्त्र, गणतन्त्र आए। जातीय छुवाछुत उन्मूलन र मुक्तिका चर्का मुद्दा उठाइए। सडकदेखि मुलुकको प्रशासनिक निकायसम्म आवाज पुगे। तर त्यो समाजमा मायामाथिको अवहेलनामा न कमी आयो, न उनले कानुनद्धारा प्रदान गरेका हकअधिकारको न्यूनतम उपयोग र महशुस गर्नै पाइन्।
चित्त बुझाउनुको विकल्प थिएन।
...
साढे चार वर्षअघिको एक दिन सम्भि्कँदा मायाका आँखा आँशुले छचल्किए। आवाज मलिन बन्यो।
‘के भएको थियो त्यो दिन?’
'त्यसदिन झर्झर बलिरहेको काँटी जीउमा परेको भए,' माया सम्भि्कन्छिन्, ‘त्यो समाजको यत्रो अत्यचार भोग्नु पर्थेन।'
श्रीमान् योगेश आफैंले मायालाई बचाएछन्।
योगेश मलेसियाबाट फर्केपछिको दिन थियो। बिपन्नताको चक्रब्यूहसँग जुधिरहेको सार्की परिवारसँग हातमुख जोर्ने अरू उपाय थिएनन्। कतार जान भनेर मेलोमेसो मिलाउँदै थिए। भिसा लागिसकेको थियो। काठमाडौं पुगेर मेडिकल गराइसकेपछि योगेश विदेश जान योग्य भइसकेका थिए।
ठीक त्यहीबेला गाउँभरि एउटा हल्ला चल्यो – योगेशलाई एचआइभी एड्स लागेको छ भनेर। जीवन भेट्वालको परिवार, छिमेकी दाहालनी र तिनका साथीभाइले ‘जस्ती सर्किनी उस्तै बूढो’ भन्न थाले। उनीहरू भन्थे, 'सार्कीलाई लागेको एड्स सर्किनीलाई नसरेको होला र! छि..छि....छि....!’
ज्यूँदो लाश बनेर कतिञ्जेल बस्ने भन्ने भावनाले मायाको मानसपटलमा आयो – आत्महत्या। अनि घर फर्केर भान्साको कुनामा राखेको मटिट्तेलको तुम्लेट उचालिन्, शरीरभरि खन्याइन्। सलाई कोरिन्। काँटी बलिरहेकै बेला योगेश टुप्लुक्क आइपुगे। खोसेर फाल्दिए।
एकपल्ट यसरी बचेछ मायाको ज्यान।
...
योगेश विदेश गएको केही बित्दै मात्र थियो। बितेका जेठाजू, जेठानीका चार छोराछोरीलाई पालनपोषण गर्ने जिम्मेवारी मायाकै काँधमा आइपरेको थियो। बाबुआमा नभएकाले मायालाई नै सबथोक मान्थे उनीहरू।
माया मजदुरी गर्न हिँडि्थन्। कहिले कोदालो खन्न, कहिले भारी बोक्न। कहिले बेल्चा चलाउन। एक दिन माया काम गरेर फर्किँदा घरमा छोराछोरी रहेनछन्।
यताउता बुझ्दै जाँदा उनीहरू खोलामा पौडी खेल्न गएको थाहा भयो। थकित शरीर, त्यसमाथि केही निष्त्रि्कय बनेछ मस्तिष्क। दुःखगरी खुवाएर स्कुल पठाउने गरेका छोराछोरी घर फर्केपछि पढ्न छोडेर खोलातिर गएर बरालिएको भन्ने लाग्यो मायालाई। फर्केपछि सिर्कना लाइन्। बालबालिका रून थाले।
छिमेकी (मायाको भनाइमा, नाम थाहा भएन) दाहालनी, थापाकी छोरी, भट्टराईनी साइँली लगायत ८/९ घरका आइमाई मिलेर आमाबाउ छैनन् भनेर हेपेकी भन्दै मायालाई लछारपछार पारे। लाठीमुंगा र लात मायामाथि बजि्रए।
शरीरभरि नील डाम हुनेगरी पिटिइन्। ‘त्यतिबेला पन्ध्र दिन त थलै परेँ,’ माया भन्छिन्, ‘आफ्ना छोराछोरीलाई सम्झाइबुझाइ गर्दा पनि निहुँ बनाएर मलाई नै नराम्रो देख्थे गाउँले।’
थलै पर्नेगरी पिटाइ खाँदा पनि सहेरै बसिन्।
...
माया फेरि अर्को अत्यचारको फन्दामा परिन्। १२ वर्षकी भतिजी जीवन भेट्वालका बाबु रामचन्द्रको सिकार बनिन्। एकदिन आफैंले देखिन्, कलिली भतिजीलाई रामचन्द्रले बलात्कार गर्दै गरेको।
अब भने सिमा नाघ्यो। श्रीमान्लाई फोन गरेर सुनाइन्। उनले उजुरी गर्न भने। सहयोगी लिएर माया प्रहरीकहाँ पुगिन्।
कानुनका संरक्षकहरू नै मिल्दिएपछि केही लागेन। मुद्दामामिलामा झन्झट हुन्छ, पैसा खर्च हुन्छ भन्दिए। गाउँमै छलफल डाकियो। त्यो भेलाले निर्णय गयो – ६ कठ्ठा जग्गामा मिलापत्र गरौं।
भेट्वाललाई समर्थन गर्ने गाउँले खुसी भए। प्रहरीले पनि अनुसन्धान गर्नुपर्ने झन्झट पन्छाउँदा टाउको हलुको पारेजस्तो गर्यो।
मायालाई भने अन्याय नै भएको महशुस भए पनि माथि उठेर कानुनको पहुँचसम्म पुग्ने उपाय भएन। पहुँच नपुगेका कारणले स्वीकार्न बाध्य भइन्। ६ कठ्ठा जमिनले जबरजस्ती करणी मुद्दा सामसुम बनाइयो।
गाउँले र पुलिससम्म कुरा पुयाएको रिस। त्यति गर्दा समाजसामु नाबालिकामाथि बलात्कारजस्तो अपराधले पोतिएको रामचन्द्रको शिर निहुरियो। मुख देखाइनसक्नु भएपछि रामचन्द्र र भेट्वाल परिवार मायासँग सधैंका लागि सत्रु बन्यो।
‘जेल गएका हुन्थे होला, मेरो पहुँच थियो भने,' माया भन्छिन्, ‘कमजोर मेरो आर्थिक अवस्था, मुद्दामामिला गर्न पनि गाह्रो भयो। त्यसमाथि समाज र पुलिसले नै त्यस्तो निर्णय गर्दिएपछि एक्ली भएँ।'
त्यो घटनापछि त भेट्वाल र त्यो परिवारका मित्रजनहरू मायामाथि झन् खनिन थाले। बाटोमा आफ्नो सुरले हिँड्दा पनि 'थुक्क सर्किनी' भन्थे। आफैंमाथि त्यत्रो अन्याय भइरहँदा पनि माया निरीह बन्दिन्थिन्।
...
दस धुर जग्गा। सानो घर। सम्पत्तिको नाममा अरू केही नभएको त्यो दलित परिवारमा १३ वर्षअघि माया बिहे गरेर भित्रिइन्। एक वर्षमै छोरी जन्मिइन्। त्यसपछि छोरा। छोराछोरी हुर्काउने, पढाउने जिम्मेवारी थपिँदै गयो। अर्काकोमा हड्डी खिइनेगरी मजदुरी गर्दा बिहान बेलुकाको छाक टार्दै सकिन्थ्यो। यस्तो परिस्थितिले सार्की दम्पतीलाई छोराछोरीको भविष्यले झन् पिरोल्न थालेको थियो।
मायाले योगेशलाई ऋणपान खोजेर मलेसिया पठाइन्। तर त्यहाँ कमाइ नै भएन। जसोतसो ऋण मात्र तिरेर फर्किए। धेरै पैसा हुन्छ भनेर फेरि कतारतिर लाग्ने भन्ने सोच आयो। एजेन्टले एक लाख २० हजार खर्च हुन्छ भन्दिए। घर भएको जग्गाको धनीपूर्जा साहुकोमा राखेर ऋण निकालिन्।
योगेश विदेश गएपछि महिनाको जसोतसो १० हजार रूपैयाँ मात्र कमाइ भयो। चार वर्ष विदेश बसिरहे पनि योगेशले अहिलेसम्म साहुकोमा रहेको धनीपूर्जा फिर्ता गराउन सकेका छैनन्।
भारी काम गरेकाले माया बीचमा कमजोर भइन्। डाक्टरले त्यस्ता भारी काम नगर्नू भनेपछि घरमै बसिन्। तर बूढाको कमाइको त्यतिधेरै भर हुन छोडेपछि मायाको मन घरमा बसिरहन मानेन।
केही सजिलो कामको खोजीमा भौंतारिइन्।
बेलबारीकै पश्चिम बसस्टेन्डछेउ माधव ढकालको होटलमा काम मिल्यो। २०६९ मंसिर महिनादेखि होटलमा काम गर्न थालिन्। महिनामा दुई हजार आउँथ्यो। पछि बढाएर तीन हजारसम्म पुर्याइदिएका थिए साहुजीले।
बिहान सवेरै होटल जानुपर्ने। फर्किँदा साँझ परेको हुन्थ्यो।
साँझपख एक्लै हिँड्नुपर्ने बाध्यतामा गुजि्रएकी मायामाथि साउन ४ गते छिमेकी कृष्ण सुन्दासको गिद्धे नजर पयो।
साँझ छिप्पिँदै गएको थियो। मान्छे राम्ररी नचिनिने गरी। दिनहुँ हिँड्ने गरेको बाटो माया अन्दाजले नै जसोतसो हिँडिरहेकी थिइन्।
घर पुग्नै लाग्दा च्याप्प कसैले समात्यो। भुइँमा पछायो। बलात्कार प्रयास भयो। मायाले प्रतिकार गरिन्। हात टोकिदिइन्। मायाको प्रतिकारले त्यो मान्छे भाग्यो। अन्धकारको अन्दाजमा मायाले कृष्णको अनुहारमा जीवन भेट्वाल पाइन्।
...
बारम्बार अन्याय, अत्यचार बढेको बढ्यै भयो। के गरूम् भनेर चिन्तित बनिरहेकै बेला मनोज विश्वकर्मा सम्भि्कइन्। पत्रकारले अफ्ठ्यारो पर्दा सघाउलान् भनी भोलिपल्ट भेटेर सुनाइन्। मनोजले थानामा उजुरी गर्नुपर्छ भन्दिए। साथमा उनी आफैं सहयोगी बनेर थानासम्म पुगे। निवेदन लेखाइदिए। बेलबारी प्रहरीले जीवनलाई पक्रियो।
थानामा ल्याएर अनुसन्धान गर्दा मायाले जाहेरीमा उल्लेख गरेबमोजिम जीवनको औंला टोकिएको प्रमाण पुगेन। पुलिसले घटनाका अन्य प्रमाण खोज्नेतर्फ चासो दिएन। लगत्तै छोडिदियो। माया पनि गल्ती भयो कि भन्दै फर्किइन्।
उनी घर फर्किँदासम्ममा भेट्वाल परिवारको भित्री योजना बनिसकेको थियो। ‘सर्किनीले पहिले पनि ६ कठ्ठा हरेकी थिई, अब फेरि त्यसै गर्न खोजेकी हो, यसलाई ठीक नपारी हुँदैन’ भन्ने गरेको सुनिरहेकै थिइन्।
साउन ६ गते स्थानीय हिमालय बोर्डिङ स्कुलमा गाउँभरिका महिला पुरूष भेला भइसकेका रहेछन्। त्यो भेलामा मायालाई डाकियो। अनुशासित बनेर माया त्यहाँ पुगिन्।
गाउँलेहरूले आक्रोशित बनिरहेकै थिए। झुठो आरोप लगाएर बदनाम गर्न खोजेको भनेर। मनोज पनि त्यो भीडको तारो बनेका थिए। 'यस्तालाई त कालो मोसो र जुत्ताको माला लाएर गाउँभरि घुमाउनुपर्छ,' भीडबाट कोही बोल्दै थियो।
त्यहीबेला अरू दुई पत्रकार पनि त्यहीँ रहेछन्, भोजराज र नरेन्द्र बस्नेत। उनीहरूको मनोजसँग व्यावसायिक दुस्मनी रहेछ। उनीहरूले बलेको आगोमा घिउ थप्दिए।
‘मोसो लाउँछौ भने लाइहाल, नत्र अहिले पुलिस आयो भने लाउन नदेला' भन्दिए। राज्यको चौथो अंगैले यसो भनेपछि गाउँलेले छिनभरमै ब्याटीको धुलो र जुत्ताचप्पलको माया खोजखाज पारेर तयार गरे।
सबै एकैसाथ खनिए।
‘तँ सर्किनी' भन्दै लछारपछार पार्दै कुटे। मनोजलाई ‘डांग्रो' भन्दै कुटपिट गरे। अनि दुबैलाई मोसो र जुत्ताचप्पलको माला लाइदिए।
...
साउन १० गतेदेखि माया विराटनगरस्थित ओरेक नेपाल नाम गरेको एनजिओको सेभ हाउसमा बस्दैछिन्। उनका छोराछोरी सन्ध्या र समीर विराटचोकस्थित माइतीमा छन्। घरबार चौपट्ट बनिसकेको छ। सन्ध्या र समीरको स्कुल छुट्ने बेला भइसक्यो। तर मायाका छोराछोरीको पढाइ र उनको सामाजिक पुनःस्थापना हुने टुंगो लागिसकेको छैन।
माया आफैंले अन्याय गर्ने त्यही समाजमा अब फेरि फर्किनसक्ने हिम्मत जुटाउन सकेकी छैनन्। 'भो अब त्यो समाज फर्किन्नँ,’ माया भन्छिन्, ‘एक जनाबाहेक सबै जना छुटिसकेका छन्, अब फेरि रिस पोख्न बाटो ढुक्लान्, छोराछोरी अपहरण गर्देलान्, बलात्कार गर्देलान् भनेर डर लागिरहेको छ।’
महिला हिंसा निरूपणको अभियान थालेको सरकार मायाको सामाजिक पुनःस्थापना र उनीमाथि भएको अन्यायमा मल्हम लाउन भने उदासिन छ। हत्यारा परिवारलाई १० लाख क्षतिपूर्ति दिन तयार बन्ने खिलराज रेग्मी सरकारले पासबिक यातनामा परेकी मायालाई सामाजिक पुनःस्थापनाका निम्ति एक रूपैयाँ खर्च गर्न सकेको छैन। ‘केही दिनपछि घर फर्किनुपर्छ भनेका छन्,' माया भन्छिन्,
‘मुद्दामामिला लडि्दनेबाहेक अरू खासै मलाई सरसहयोग भएजस्तो लाग्दैन।’
प्रमुख जिल्ला अधिकारी गणेश कार्कीका अनुसार माया घर फर्किन चाहे शान्ति सुरक्षाको प्रत्याभूति दिने बताउँछन्। ‘त्यसबाहेक अरू केही आदेश छैन,' उनी भन्छन्, ‘घर फर्के सुरक्षाको व्यवस्था गर्दिन्छौं।'