भदौ २ गते साँझ ६ बजे। काठमाडौँको गुर्जुधारास्थित मातातिर्थ बृद्धाश्रम अगाडि एउटा गाडी रोकियो।
वृद्धाश्रमका इन्चार्ज राम थापाले त्यहाँ भएका आमाहरुलाई गाडीमा चढ्न भने। २३ जना वृद्धाहरु गाडीमा चढे। राति नौ बजेको आसपासमा त्यो गाडी नेपाल मेडिकल कलेज, जोरपाटी पुगेर रोकियो।
ती सबै आमाहरुलाई सो कलेजको अर्थोपेडिक (हाडजोर्नी)को वार्डमा राखियो।
शुक्रबार दिउँसो सेतोपाटी जोरपाटीस्थित नेपाल मेडिकल कलेज पुग्दा २३ जना वृद्धाहरू हाडजोर्नी विभागको वार्डमा थिए।
वेड नम्बर ६१४ मा दुर्गा बस्नेत आफूलाई सास फेर्न गाह्रो भएको भन्दै बसेकी थिइन्। उनको नाकमा अक्सिजन पाइप लगाइएको थियो।
‘छाति दुख्छ सास फेर्न सक्दिनँ भुईँचालो आएपछि त झन गाह्रो भयो बा,’ बस्नेतले सेतोपाटीसँग भनिन्, ‘यहाँ ल्याएर फ्यालेका छन्, डाक्टर जाँच्न पनि आउँदैन।’
अर्को बेडमा थिइन्, पूर्णमाया श्रेष्ठ। उनले आफूलाई पेट दुखिरहने बताइन्। उनको पनि दुखेसो थियो ‘डाक्टरले जाँचेन।’
अस्पतालले दिएको फाइलमा भने उनीहरुको रोगबारे लेखिएको थियो-दुवै घुँडाको ओस्टियो अर्थाइटिस।
त्यसरी अकस्मात आफूलाई उठाएर ल्याएकोमा सबै वृद्धाहरु अचम्मित थिए। ‘हामी सबैलाई एकैचोटी ल्याएका हुन्, यसरी वर्षेनी ल्याउँछन्,’ बस्नेतले भनिन्।
अधिकांश वृद्धाहरुको नाम लेखेर त्यो वार्डमा भर्ना गरिएको थियो। भर्ना फाइलमा नामबाहेक अरु सबै डिटेल लेख्ने ठाउँ खाली थियो।
धेरैजसो वृद्धाहरुलाई दुवै घुँडाको ओस्टियो अर्थाइटिस नै भएको उल्लेख थियो। र उनीहरु सबैलाई फ्लेक्सोन र प्यनटासिड नामक दुई औषधि मात्रै दिइएको थियो। अन्य उपचार केही गरिएको थिएन। फ्लेक्सोन ‘पेन किलर’ अर्थात् दुखाइ कम गर्ने दबाइ हो भने प्यनटासिडले ग्याष्ट्रिक कम गर्न सहयोग गर्छ।
***
ती वृद्धाहरुलाई एकै चोटि उठाएर किन ल्याइयो?
एनएमसी स्रोतले बताए अनुसार, मेडिकल काउन्सिल अनुगमनमा आउने थाहा पाएपछि अस्पताल प्रशासनले वृद्धाहरुलाई ल्याएको हो।
मेडिकल काउन्सिलले कलेज र अस्पतालले कतिको मापदण्ड पूरा गरेका छन् छैनन् अनुगमन गर्नुपर्छ। अस्पतालमा वेड संख्या मात्र भएर मात्रै हुँदैन, विरामी पनि हुनुपर्छ। आवश्यक बिरामी संख्या अस्पतालमा पुगेनन् भने डाक्टरी पढिरहेका बिद्यार्थीलाई ‘प्राक्टिकल’ ज्ञान पुग्दैन।
एमबीबीएसको पढाइ हुने मेडिकल कलेजको अस्पतालमा एकजना विद्यार्थी बराबर ७ जना विरामी हुनुपर्ने नियम छ।
कात्तिकदेखि काठमाडौं विश्वविद्यालयमा एमबीबीएसको नयाँ सत्र सुरु हुन्छ। नयाँ सत्र सुरु हुनुअघि मेडिकल काउन्सीलले कलेजहरुको अनुगमन गर्छ। तोकिएको मापदण्ड कलेजहरुले पुरा गरेका छन्, छैनन् हेर्छ। भौतिक संरचनाको अनुगमन पछि कति विद्यार्थी भर्ना गर्न र पढाउन कलेज सक्षम छ भन्ने निर्क्यौलमा पुग्छ। काउन्सिलले दिएको अनुमति बमोजिम बल्ल कलेजले विद्यार्थी भर्ना गर्नुपर्छ।
यसवर्ष भदौ २ र ३ गते काउन्सील र काठमाडौं विश्वविद्यालयले पठाएको टोली एनएमसी कलेजमा अनुगमनमा आएको निर्देशक डाक्टर राजेश किशोर श्रेष्ठले बताए।
‘बुधवार र विहिबार मेडिकल काउन्सिलबाट सिनियर डाक्टरहरुको टोली यहाँ निरीक्षणमा आएको थियो,’ उनले सेतोपाटीसँग भने ‘बुधवार कलेजमा निरीक्षण गर्नुभयो, अर्को दिन अस्पतालमा आउनु भएको थियो।’
अस्पतालको अर्थोपेडीक वार्डमा ५० सिट छन्। स्रोतका अनुसार, ४० सिटमा काउन्सिलको अनुगमनलाई मध्येनजर गरेर नक्कली विरामी देखाइएको हो। यसरी नै ललितपुरको खोकनाबाट समेत केही विरामीहरु ल्याइएको थियो। अनुगमनका बेला नाक, कानघाँटी वार्डमा ८ नक्कली विरामी थिए। नेत्र विभागमा ११ जना र सर्जरी वार्डमा ९ जना नक्कली विरामी राखिएको अस्पाताल श्रोतले सेतोपातीलाई बतायो।
‘अनुगमनको केही दिनअघि नै डिस्चार्ज गर्नुपर्ने विरामीलाई तत्काल डिस्चार्ज नगर्न प्रसाशनले सर्कुलर गरेको थियो,’ स्रोतले भन्यो, ‘किन रहेछ भनेको काउन्सील अनुगमनमा आउँदै रहेछ।’
अनुगमन सकिएपछि नाक कान घाँटी, नेत्र र सर्जरी वार्डका नक्कली विरामीलाई डिस्चार्ज गरिसकिएको छ।
अस्पताल निर्देशक श्रेष्ठले भने नक्कली विरामी अस्पतालले नल्याएको बताए।
‘विरामीहरु कहिले धेरै हुन्छ कहिले थोरै, हामीले नक्कली विरामी ल्याउनुपर्ने जरुरी नै छैन,’उनले भने।
मातातिर्थ बृद्धाश्रमका वृद्धाहरुलाई अझै एक महिना राख्नुपर्ने पनि उनले बताए।
‘उनीहरू कसैको अप्रेसन गर्नुपर्ने छ, कसैलाई उपचार गर्नुपर्ने छ, त्यसैले अझै एक महिना राख्नुपर्छ’ उनले भने, ‘यस्ता विरामीहरु बेला बेला आइराख्छन्, कहिले कहाँको क्याम्पबाट कहिले वृद्धाश्रमबाट निःशूल्क उपचार हुन्छ भनेर आउँछन्। नक्कली विरामी होइनन्।’
बृद्धाश्रमबाट उठाएर ल्याइएका उनीहरु सबैलाई कसरी एउटै रोग लागेर अर्थोपेडिक वार्डमा भर्ना गरियो भन्ने प्रश्नको जवाफमा उनले भने ‘को के रोग लागेर आएको वा सबैलाई एउटै रोग लागेको भन्नेबारे मलाइ थाहा छैन।’
वृद्धाश्रमका सञ्चालक राम थापाले सेतोपाटीसँग कुरा गर्दै आफूले वर्षको दुई-तीन पटक वृद्धबृद्धालाई जाँच गराउन जोरपाटी अस्पताल लैजाने गरेको बताए। ‘अव सात दिन पछि लिन आउनु भनेर अस्पतालले भनेको छ। भाद्र १२ तिर लिन जान्छौं,’ उनले भने।
एनएमसी कलजेजको जोरपाटीस्थित अस्पतालममा ८०१ वेड छन्। श्रेष्ठका अनुसार अस्पतालमा अहिले जम्मा ‘चानचुन ४ सय विरामी छन्।’
एकवर्ष अघि काउन्सिलले १५० जना विद्यार्थीलाई भर्ना अनुमति दिएको थियो।
‘१५० विद्यार्थीको लागि १ हजार ५० विरामी हुनुपर्ने धेरै पहिलेको नियम हो अहिले त्यो नियम छैन,घटाउँदै लगेको छ। अहिले ७ सय ५० विरामी हुनुपर्ने नियम हो, तर विरामी त थपघट भैरहन्छन् नि,’ श्रेष्ठले बचाउ गरे।
नेपाल मेडिकल कलेज, जोरपाटीका अध्यक्ष डा.भोला रिजाल हुन्। ओम अस्पतालका पनि सञ्चालक रहेका रिजाल एसोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेण्टल कलेज नेपालको अध्यक्ष हुन्।
उनी नेपाललमा मेडिकल चिकित्साको सुधारका लागि माथेमा समितिले दिएको प्रतिवेदन लागू गर्ने कुराको कट्टर बिरोधि हुन्। डा.गोविन्द केसीको चौथो अनसन पछि सरकारले त्रिविविका पूर्व उपकुलपति केदारभक्त माथेमाको नेतृत्वमा गठन गरेको समितिले सरकारलाई प्रतिबेदन बुझाइसकेको छ। सो प्रतिवेदन लागू गर्न नहुने, लागू भए मेडिकल चिकित्सा धरासायी हुने तर्क रिजालले गर्दै आएका छन्।
काउन्सिलको अनुगमन नै विवादास्पद
चिकित्सा शिक्षा नीतिका लागि केदारभक्त माथेमा नेतृत्वको कार्यदलले बनाएको प्रतिवेदन केही समय अघि सार्वजनिक भयो।
प्रतिवेदनले अहिले भएका सबैजसो मेडिकल कलेजहरुलाई अधिकतम दिए १०० जना विद्यार्थी मात्रै भर्ना गर्न अनुमति दिनुपर्ने उल्लेख छ। त्यस्तै विडिएस मा अधिकतम ५० विद्यार्थी भर्ना अनुमति दिनुपर्ने प्रतिवेदनमा उल्लेख छ। यो प्रतिवेदन मन्त्रिपरिषदले लागू भने गरेको छैन।
काउन्सिलले यसैबेला मेडिकलकलेजहरुको अनुगमनलाई तिब्रता दिएको छ। काउन्सिल अध्यक्ष धर्मकान्त बाँस्कोटाका अनुसार काउन्सिलले पब्लिक मेडिकल कलेज र काठमाडौं विश्वविद्यालय अन्तर्गतका सबै कलेजहरुको अनुगमन भ्याइसकेको छ। अदालतमा मुद्दा चलिरहेकाले देवदह कलेजको मात्रै अनुगमन गरेन।
माथेमा प्रतिवेदन लागु हुने प्रतिक्षा नगरि काउन्सिलले अनुगमनलाई तीब्रता दिन नहुने विद्यार्थीहरू बताउँछन्। सरोकारवालाहरु पनि माथेमा प्रतिवेदन लागु हुनुअघि काउन्सिलले गरेको अनुगमनबारे असन्तुष्टी जनाइरहेका छन्।
माथेमा प्रतिवेदन लागू गर्न चौतर्फी दबाबका बाबजुद सरकार उदासीन बनेपछि डाक्टर गोविन्द केसी भोलि सोमबारदेखि अनसनमा बस्दै छन्।