मापदण्ड अनुरूप सञ्चालन नभएको भन्दै रूपन्देहीको देवदहस्थित मायाँदेवी अनाथ तथा असहाय बालबालिका संरक्षण केन्द्रमा रहेका बालबालिकाहरूलाई केन्द्रीय बालकल्याण समितीले काठमाडौंको अर्कै संस्थालाई जिम्मा लगाएको छ।
पालन पोषण, स्याहार सुसार र सरसफाईमा समस्या देखिएको भन्दै जिल्ला बालकल्याण समिती र केन्द्रीय बालकल्याण समितिले संरक्षण केन्द्र बन्द गराउनुको साथै त्यहाँ आश्रीत ३० जना बालबालिकाहरूलाई काठमाडौंको गल्फुटारमा रहेको हिमाली नविन समाजको जिम्मा लगाएको हो।
‘मायाँदेवी अनाथ तथा असहाय बालबालिका संरक्षणले केन्द्रले बालगृहसम्बन्धी कुनैपनि मापदण्ड पुरा नगरेको र पटकपटक सुधार गर्ने मौका दिँदापनि अवस्था सुधार नभएको पाईएकोले बालगृह बन्द गरी सबै बालबालिका हिमाली नविन समाजलाई स्थानान्तरण गरिएको छ’, जिल्ला बालकल्याण अधिकारी उषा रावलले उक्त बालसंरक्षण केन्द्रलाई दिएको पत्रमा उल्लेख गरिएको छ।
संरक्षण केन्द्रमा ८ महिनादेखि साढे १२ वर्ष सम्मका २२ बालक र ८ बालिका गरी ३० बालबालिका बस्दै आएका थिए। अब ति बालवालिकाहरु काठमाडौंको गल्फुटारमा रहेको हिमाली नविन समाजको रेखदेख र संरक्षणमा रहने बताईएको छ। तर उक्त संस्थाले बालबालिका संरक्षण गर्ने भन्दा पनि अभिभावकको खोजी गरी जिम्मा लगाउने र अभिभावक बिहीन बालबालिकाहरुलाई केन्द्रीय बालकल्याण समितिको जिम्मा लगाउने बताईएको छ।
बालबालिकाको उद्दार गर्न भन्दै हिमाली नविन समाजको तर्फबाट देवदह आएकी रुपा सिटौलाले आफूहरूले बालबालिकालाई लामो समय संरक्षण गर्ने नभई अभिभावको खोजी गरी उनिहरुको जिम्मा लगाउने र अभिभावक विहीन भएका बालबालिकाहरुलाई केन्द्रिय बालकल्याण समितीको जिम्मा लगाउने बताईन्।
बालबालिका संरक्षण केन्द्रमा रुपन्देही, कपिलवस्तु नवलपरासी र मुगुका बालबालिका आश्रीत रहँदै आएका थिए। कतिपय बालबालिकाहरुका अभिभावक भएर पनि पालनपोषण गर्न नसक्ने भन्दै संरक्षण केन्द्रमा बालबालिका राख्ने गरेकोले काठमाडौं लगेपछि बालबालिकाहरु झनै विचल्लीमा पर्नसक्ने स्थानीयले आशंका गरेका छन्।
त्यसैगरी ३० जना बालबालिकामध्ये २९ जना स्थानीय जनता माध्यमिक विद्यालयमा अध्ययन गरिरहेको अवस्थामा अन्यत्र स्थानान्तरण गरिँदा उनीहरूको पठनपाठनमा समेत अवरोध हुने देखिएको छ।
केन्द्रीय बालकल्याण समितिमा परेको उजुरीको आधारमा जिल्ला प्रशासन कार्यालयको सहयोगमा ति बालबालिकाहरुको उद्धार गरीएको बुझिएको छ। संरक्षण केन्द्रमा रहेका बालवालिकाहरूको पालन पोषण र स्याहार सुसार तथा शिक्षादिक्षामा समेत समस्या आएको गुनासोका अधारमा उद्धार गरीएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ।
तर आश्रम सञ्चालक समितीका सचिव तथा संचालक शंकर प्यासीले ३० जना बालबालिकामध्ये ८ महिनाको बालक बाहेक २९ जना सबै बालबालिका स्थानीय जनता माविमा कक्षा १ देखि ४ सम्म अध्ययन गर्ने गरेको दावी गर्छन्।
बिगत १३ बर्ष देखि स्थानीय समाजसेवी स्वर्गीय बावुराम प्यासीले सुरु गरेको अनाथ आश्रमलाई बिभिन्न संस्थाहरुले आफ्ना स्थापना दिवस र अन्य कुनै कार्यक्रमका अवसरमा सहयोग उपलब्ध गराउदै आएका थिए।
स्थानीय सहयोगीहरुको भरमा चलेको उक्त आश्रमलाई केही बर्ष यता देवदह नगरपालिकाले समेत बार्षिक रुपमा ५० हजार रूपैया उपलब्ध गराउँदै आएको थियो। जिल्ला महिला तथा बालबालिका कार्यालय प्रमुख उशा रावल, जिल्ला बालकल्याण अधिकृत राज्यलक्ष्मी गुप्ता लगायतको रोहवरमा हिमाली नबिन समाजको टोलीले बालवालीका लगेपछि बालबालिका संरक्षण केन्द्र सुनसान बनेको छ।
बालबालिकाहरुले दाई भाउजु भन्दै गाडीमा रूँदै जाँदा आश्रम सञ्चालक शंकर प्यासी र बन्दना प्यासी समेत डांको छोडेर रोएका थिए। बिना जानकारी एक्कासी गाउँटोलको संरक्षण केन्द्रका बालिबालिका अन्यत्र लैजादा स्थानीयका समेत आँखा समेत रसाएका थिए।
आश्रम सञ्चालक शंकर प्यासी, संस्थापक बावुराम प्यासीको निधनपछि परिवारमा देखिएको आन्तरीक किचलोका कारण संरक्षण केन्द्र समस्यामा पर्दै आएको बताईएको थियो। संरक्षण केन्द्रकी अध्यक्ष्ँ समेत रहेकी शंकरकी आमा अम्बिका प्यासीका विचमा उनको समयसमयमा घरायसी विषयमा किचलो हुने गरेको स्थानीय बताउँछन्।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद ढकालले बालबालिकाहरुलाई आश्रमले यथोचित व्यवस्थापन र संरक्षकत्व दिन नसकेकाले केन्द्रीय बाल कल्याण समितीको आग्रहमा उद्धार गरीएको र उनीहरूको पालन पोषणको जिम्मेवारी केन्द्रीय बालकल्याण समितीको सिफारिसमा हिमाली नबिन समाज गल्फुटारले लिने बताए।
तर संचालक प्यासी भने होस्टल र घरमा जस्तो सुविधा दिन नसकेपनि आफूले सक्दो सुविधा दिएको दावी गर्छन्। संरक्षण केन्द्र केहि साँघुरो भएकोले कोठा थोरै हुँदा धेरै बालबालिका एउटै कोठामा सुत्ने गरेपनि खानपान, औषधी उपचार र अध्ययनमा कुनै कमि नगरेको उनले दावी गरे।
दाताहरुको गलत प्रभावमा परी केन्द्रीय बालकल्याण समितिका नाममा आफ्ना बालबालिकाहरु खोसेर लगेको आरोप लगाउंदै उनले आफ्ना बालबालिकाहरु पुनः फर्काउने उनले बताए। संस्थाले सक्दो संरक्ष्ँण र रेखदेख गरेको अवस्थामा एकै पटक बिना सुचना र बिना जानकारी आएर लैजानु गलत भएको उनको गुनासो थियो।
स्थानीयवाशीले पनि आश्रममा बसेका बालबालिकाहरुलाई कुनै समस्या भएको नदेखिएको बताउँछन्। स्थानीय होमनाथ पाण्डेले खानपान, औषधी उपचार र अध्ययनको व्यवस्था आश्रमले मिलाउँदै आएको बताए। संरक्षण केन्द्रमा घरको जस्तो वातावरण नभएपनि पहिले भन्दा अहिलेको समितिले केहि सुधार गर्दै लगेको उनले बताए।