भारतको कोलकत्तास्थित जोसेफ एण्ड कम्पनी लिमिटेडले एकदशक लगाएर सन् १९६२ मा निर्माण सम्पन्न गरेको सप्तकोशी ब्यारेजको पुलको आयु सकिएको ३ वर्ष बढी भयो। पुलको आयु ५० वर्ष तोकिएको थियो। त्यस अनुसार २०१२ मै पुलको आयु सकिएको देखिन्छ। र, पनि हालसम्म प्राविधिक जाँच तथा मर्मतमा नेपाल सरकारको कुनै चासो देखाएको छैन्।
एक हजार एक सय ४९ मिटर लम्बाई रहेको सप्तकोशी पुलको ५६ ढोका रहेको छ। जसरी ब्यारेजको आयु सकिएको छ। त्यसको बिकल्पमा अर्को पुलको निर्माण अपरिहार्य झै भयो। महेन्द्र राजमार्गको मूख्य पुलको रुपमा लिइएको यो पुल जव २ भदौं २०६५ मा स्पर फुट्यो। त्यसपछिका कयौं दिन भारतीय बाटो भएर पूर्वका नागरिकहरु राजधानी आवतजावत गर्नु पर्ने बाध्यता आइलाग्यो।
यही बाध्यतालाई टार्न सरकारले पछिल्लो समय विकासका पूर्वाधारहरुलाईसमेत तदारुकताका साथ अघि बढायो। जस्मा मध्यपहाडी लोकमार्ग पनि प्रमुख रुपमा पर्यो। मध्यपहाडी लोकमार्गलाई जोड्नको लागि उत्तम बिकल्पको रुपमा एसियाली विकास बैंक –एडिवी) को ६० प्रतिशत ऋण अनुदानमा चतरामा सप्तकोशीको पुल निर्माण गर्ने योजना बनायो। त्यो योजनाले २५ नोभेम्बर २०११ मा मूर्त रुप त पायो।
तर, डिजाइन परिवर्तन भएपछि ११ जुलाई २०१२ बाट मात्रै काम सुरु भएको निर्माणको ठेक्का पाएको कालिका जेभी कन्ट्रक्सन प्रालिका प्रोजेक्ट मेनेजर छत्रबहादुर अर्याल बताउँछन्। एडिवीको ऋण अनुदानमा बनेको यो पुलको निर्माण कार्य २३ जुन २०१५ मा सकियो। महेन्द्र राजमार्गबाट अर्थात् इटहरीको कान्छी चोकबाट करिब २५–३० किलोमिटर उत्तरपश्चिममा पर्ने यो पुल मध्यपहाडी लोकमार्गको पुल मात्रै नभई सप्तकोशीको बिकल्पको रुपमासमेत लिइएको छ। ‘यो सप्तकोशीको बिकल्पमा निर्माण भएको पुल हो,’ सुनसरी मोरङ पुल आयोजनाका सव इन्जिनियर लालबहादुर बिश्वकर्माले भने।
उनका अनुसार अहिले इटहरीको कान्छीचौकबाट महेन्द्रनगर हुँदै जाने सडकको पुलको रुपमासमेत लिइएको छ। तर, धरान, चतरा, उदयपुर हुँदै हेटौडा पुग्ने मध्यपहाडी लोकमार्गलाईसमेत यो पुलले जोडेको उनी बताउँछन्। धरानदेखि हेटौडासम्मको ३ सय किलोमिटर भन्दा बढी लम्बाईको मध्यपहाडी लोकमार्गले विभिन्न जिल्लालाईसमेत जोड्ने उनी बताउँछन्।
सुनसरीको नडाहा–कोशीपुल–कञ्चनपुरसम्मको ६१ किलोमिटर बाटोसमेत कालिका जेभीले नै निर्माण गरिरहेको छ। यो निर्माण सम्पन्न भएसँगै यो पुल दैनिक रुपमा सञ्चालनमा आउँने छ। हाल निर्माणधिन अवस्थामा रहेको कालिका जेभीका अर्यालले बताए। २ सय ६१ दशमलव ३ मिटर लम्बाई रहेको उक्त पुलको निर्माण सम्पन्न भएसँगै सोमबारबाट पूर्ण रुपमा सञ्चालनमा आएको छ।
७६ करोड लागतमा निर्माण सम्पन्न भएको पुल तीन खम्बे रहेको छ। साढे ७ मिटर चौडाई रहेको पुलको दुबै साइडमा पैदलयात्रीको लागि एक दशमलव १५ सेन्टिमिटर हिड्का लागि राखिएको छ। यसको डिजाइनिङ पिरियड सयवर्ष भए पनि दुईसय वर्ष भन्दा माथि टिक्ने बताइन्छ। यो पुलको क्षमता १ सय ८० टन हो। पूल निर्माण सम्पन्न भएसँगै उदयपुर, खोटाङ, ओखलढुंगा, सुनसरीबासीले प्रत्यक्ष लाभ पाउँछन् भने अन्य जिल्लाको लागि पनि यो बैकल्पिक पुल रहेको छ।