ओशो तपोपनमा आइतबार प्रहरीका उच्च पदस्थ कर्मचारीका लागि आध्यात्मिक गोष्ठि आयोजना गरिएको थियो। सधै ड्रेस कोडमा गम्भीर देखिने प्रहरीका उच्च तहका एआईजी, डिआइजी, एसएसपी लगायतका २५ जना अधिकारीहरू तपोवनमा खुल्ला सेतो कुर्ता पाइजामा देखिए।
नेपाल प्रहरी तालिम केन्द्रको अनुरोधमा ओशो तपोवन पुगेका उनीहरूलाई आचार्य स्वामी आनन्द अरुणले स्वागत गर्दै सबैलाई चियापानमा आमन्त्रण गरे।
मानिसको भीडभाड र समस्याहरुले आक्रान्त दिनचर्याबाट फुर्सद पाएका अधिकारीहरू तपोवनको प्रकृतिमा रमाए।
सधै जनताको सुरक्षाको चिन्तामा समय खर्चिने बानी परेका उच्च पदस्थ प्रहरीहरू आफैंमा रमाउने कला सिक्न, शान्तिपूर्ण रुपले समस्या समाधान गर्न, उर्जालाई सन्तुलित राख्ने कला सिक्न भेला भएको दृश्य रमाइलो थियो।
कोही निष्चिन्त देखिन्थे भने कोही बाहिरबाट आउने फोन उठाउँदै छोटो कुरा गर्दै प्रकृतिको सान्निध्यमा फर्किने प्रयास गरिरहेका देखिन्थे। तपोवनको कार्यक्रमको बारेमा चाख राखी बुझ्न खोज्ने सहभागीहरुको वार्तालापमा प्राकृतिक सौन्दर्यताले उनीहरुलाई लोभ्याएका प्रष्ट देखिन्थ्यो।
चिया र नास्ताको कार्यक्रम पछि विस्तारै हलमा जम्मा भएर स्वामी अरुणले प्रार्थनाबाट कार्यक्रम शुरु गर्न आग्रह गरे। समस्त बुद्धहरुको स्मरण प्रार्थनापछिका मौन क्षणमा अधिकांश सहभागी अधिकारीहरू गहिरो डुबेको दृश्यले वातावरणमा एक गहिरो शान्ति छाएको थियो।
स्वामी आनन्द अरुणले उपनिषद, गीताको सत्यहरुलाई सहज रुपले व्यक्त गर्दै हाम्रा पूर्खाले आर्जन गरेको धरोहरलाई चटक्क बिर्सेर हामीले बाटो विराएकाले व्यक्तिगत, सामाजिक, आर्थिक र धार्मिक सबै क्षेत्र समस्याले आक्रान्त भएको बताए।
हाम्रो अस्तित्व पाँच वटा शरीरबाट बनेको पंचकोशको रहस्य उपनिषदहरुमा उल्लेख भएको तथ्यलाई विस्तृत रुपमा बताउँदा स्रोताहरु विषयभावले सुनिरहेका थिए।
भोजनबाट बनेको अन्नमय कोष (शरीर), उर्जाबाट बनेको प्राणमय कोष, विचारबाट बनेको मनोमय कोष, विचारहरुलाई निरपेक्ष भावले हेर्ने क्षमता भएको विज्ञानमय कोष र आनन्द स्वभावले बनेको आनन्दमय कोषको सत्यलाई स्वामी अरुणले विस्तृत रुपमा बताएका थिए।
यी पाँच शरीरहरुलाई ख्याल राख्न सके जीवन आफै उत्साहजनक, शान्तिपूर्ण, सहभागिमुलक र आनन्दित हुने स्वामी अरुणले रहस्योद्घाटन गरे। समस्या सधै हुन्छन्, तिनलाई सबैको भलो हुने दिशामा सामाधान गर्दै अघि बढ्न सक्नु जीवनको कला भएका स्वामी अरुणले बताए।
प्रवचनको अन्त्यमा छुट्याइएको प्रश्नोत्तरको क्षण पनि रोचकपूर्ण थियो। हाम्रो संस्कार नै ठूलाको जीहजुरी गर्नेमा केन्द्रित भएकोले सेवा क्षेत्रमा पनि यसले विशेष कुप्रभाव पारेकोले न्यायसंग प्रत्यक्ष सम्बन्ध राख्ने विभागहरुपनि आक्रान्त भएको तथ्य एक उच्च अधिकृतले उठाएका थिए।
कार्यक्रमको अन्तमा नेपाल र विदेशका ओशो संन्यासीहरुहरुसँग भजन, कीर्तन र आरतीमा आनन्दभावमा उत्साहजनक भई नृत्यमा रमाएका थिए।
कार्यक्रमको समापनमा प्रहरी तालिम केन्द्रका प्रमुख एआइजी राजेन्द्रसिंह भण्डारीले तपोवनमा आएर जीवन कौशलका लागि धेरै कुरा सिक्ने अवसर पाएको बताए।
उनले भविष्यमा पनि प्रहरी अधिकृतहरुको तालिममा यस्ता सकारात्मक जीवन दर्शन बोकेका कार्यक्रम अनिवार्य सामेल गराउने जानकारी दिए।
कार्यक्रममा सहभागी एसएसपी रमेश खरेलले आफू पहिलोचोटि आएको र यहाँको वातावरणले आफूलाई आश्चर्यमा पारेका बताउँदै छुट्टीमा सपरिवार तपोवनमा बस्न आउने बताए।