परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यही साउन २० गते बुधबारदेखि सुरु गर्ने एसएलसी पूरक (मौका) परीक्षाको सम्पूर्ण तयारी पूरा गरेको छ ।
विसं २०७१ को एसएलसी परीक्षामा दुई विषयसम्म अनुत्तीर्ण हुने परीक्षार्थीका लागि सञ्चालन गर्ने मौका परीक्षाको सम्पूर्ण तयारी पूरा भएको परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले सोमबार जानकारी दिए।
उहाँका अनुसार कुल एक लाख २४ हजार २५१ जना परीक्षार्थी सहभागी हुने परीक्षाका लागि कार्यालयले देशभर कुल २४७ परीक्षा केन्द्र निर्धारण गरिएको छ ।
परीक्षाका लागि आवश्यक सम्पूर्ण सामग्री सबै जिल्ला पुर्याइसकिएको बताउँदै उनले पूरक परीक्षाको परीक्षा केन्द्र सदरमुकाम केन्द्रित गरिएको बताए।
परीक्षामा एक विषयमात्रै परीक्षा दिने ५५ हजार ४७४ जना र दुई विषयमा परीक्षा दिने ६८ हजार ७७७ जना रहेको उनले जानकारी दिए। बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा साउन २७ गते सम्पन्न हुनेछ । रासस