गोरखाको थालाजुङ गाविस–३ मुगेका रामचन्द्र अधिकारी १४ वर्षदेखि एकै थलोमा छन्। शारीरिक अपाङ्गताका कारणले गर्दा उनी हिँड्डुल गर्न सक्दैनन्। उनलाई घरभित्र गुन्द्रीमा सुताएर परिवारका सदस्य काममा जान्छन्।
‘बर्खाका बेला, कामको चापाचाप छ’ रामचन्द्रको ठूलीआमा सुमित्रा अधिकारीले भनिन्, “दिनभर छोरालाई रेखदेख गर्ने कोही छैनन् । रोपाइँका बेला खेतमा जानुपर्यो ।'
अधिकारी परिवारले गाउँका साहुको खेत अधियाँ कमाएका छन् । मानो खाएर मुरी उब्जाउने बेला भएकाले रामचन्द्रको हेरचाह गर्न परिवारका सदस्यले सकेका छैनन्।
ओल्टेकोल्टे फर्कन सक्ने रामचन्द्र हातगोडा लुलो हुँदा उठ्न सक्दैनन्।
“अपाङ्गता भएको छोरो छाडेर आमा अन्यत्रै पोइला गई”, सुमित्राले भनिन्, “हामीले छोरालाई हुर्काएका हौं।”
रामचन्द्रको बाबुको चार वर्षअधि घरको बार्दलीबाट आँगनमा खस्दा मृत्यु भएको थियो । त्यसलगत्तै रामचन्द्रकी आमाले अर्को बिहे गरेको सुमित्राको भनाइ छ।
“अपाङ्गता भएवापत एक हजार रुपैयाँ भत्ता त आउँछ तर त्यसले के ख्वाउने ? के लगाउन दिने ?”, सुमित्राले भनिन्। आर्थिक अभावले गर्दा रामचन्द्रको उपचारमा समस्या भएको सुमित्राले बताइन्। “मानिस छोरो हेर्न आउँछन् । सहयोग गर्ने आश्वासन दिन्छन्, फर्कन्छन्”, उनले भनिन्, “छोराको रोग निको पार्ने भगवान् खोज्दैछौँ ।”
सुमित्राको सासू, ससुरा वृद्धवृद्धा भएकाले उनीहरुके पनि लालनपालन गर्ने जिम्मा उनीमाथि नै छ ।
“सास रहुन्जेल आश हुन्छ हजुर” ७२ वर्षीया बसुन्धराले रुँदै भनिन्, “अपाङ्ग नातिलाई छाडेर आमा पोइल हिँडी । हामी पिँढी छाड्न नसक्ने भयौं। नातिलाई कसरी निको बनाउने ?”
हालै गएको भूकम्पमा घरभित्रै च्यपिएका रामचन्द्रलाई परिवारका सदस्यले तीन घन्टापछि मात्रै उद्धार गरेका थिए। भूकम्पपछि घरको गाह्रो भत्केर झरेको ढुङ्गाले रामचन्द्रको शरीरमा चोट लागेको थियो। भूकम्पले वसुन्धराको एकतल्ले घर बस्नै नहुने गरी चर्किएको छ। रासस