पुरातत्व विभागले भूकम्पका कारण क्षतिग्रस्त सम्पदाका सामग्री सुरक्षित स्थानमा सार्ने कार्य जारी राखेको छ ।
भूकम्पले क्षतिग्रस्त सम्पदामध्ये आवश्यकताअनुसार तत्काल संरक्षण गर्नुपर्ने स्थलका सामग्री प्राथमिकताका आधारमा सार्ने कामलाई तीव्र बनाइएको हो ।
भूकम्पले असुरक्षित हनुमानढोका दरबारको त्रिभुवन सङ्ग्रहालयका अधिकांश सामग्री सारिएको हनुमान ढोका दरबार सङ्ग्रहालय, दरबार हेरचाह कार्यालयकी प्रमुख सरस्वती सिंहले जानकारी गराए।
“हनुमानढोका दरबारभित्रका धेरै संरचना भूकम्पले क्षति पारेका कारण प्रारम्भिक चरणमा धेरै क्षतिग्रस्त सामग्री संरक्षण गरिए पनि उक्तकार्य अझै जारी छ। दरबारभित्र त्रिभुवन सङ्ग्रहालय अत्यन्त जोखिमपूर्ण रहेकाले त्यहाँका सामग्री वीरेन्द्र सङ्ग्रहालयतर्फ सारिएको छ। त्रिभुवन सङ्ग्रहालय जस्तो महेन्द्र सङ्ग्रहालय र वीरेन्द्र सङ्ग्रहालय जोखिमपूर्ण छैन”, सिंहले भने।
दरबारभित्रै पर्यटकलाई लैजाने अवस्था नभए पनि दरबार परिसरमा भने पर्यटक आउने क्रम दिन प्रतिदिन बढिरहेको उनले जानकारी गराए। मध्यकालीन वास्तुकलामा प्रसिद्ध हनुमानढोका दरबारभित्र धेरै सम्पदा क्षतिग्रस्त भएका छन्।
लगभग १६औँ र १७औँ शताब्दीका माजुदेग, त्रैलोक्यमोहन, काष्ठमण्डप, विष्णु मन्दिर र कृष्ण मन्दिर भूकम्पले ध्वस्त बनेका छन्।
दरबार क्षेत्रका मोहनकाली चोक र सुन्दरी चोकतर्फका सम्पूर्ण भाग भत्केका छन् भने नासल चोकको पश्चिम दक्षिण लोंह चोकको केही भाग भत्केको छ। यसभित्रका भक्तपुर र काठमाडौँ टावर पूर्णरुपमा भत्केका छन्। ललितपुर र कीर्तिपुर टावर आंशिक भत्केका छन्।
भत्केका पुरातात्विक सम्पदालाई प्रारम्भिक चरणमा संरक्षण गर्ने र असुरक्षित स्थानका सामग्री सुरक्षित स्थानमा लैजाने काम भइरहेको पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरले बताए।
“धेरै पुरातात्विक सामग्री अत्यन्त जीर्ण अवस्थामा रहेका कारण तिनीहरुलाई सबैभन्दा पहिले सुरक्षित गर्नु आवश्यक छ । भूकम्पलगत्तै धेरै सङ्कटग्रस्त अवस्थामा रहेका सम्पदा सुरक्षित गर्ने काम प्राथमिकताका साथ अघि बढाइयो । अझै पनि असुरक्षित स्थानका सामग्री सुरक्षित स्थानमा सार्ने काम जारी रहेको छ”, प्रवक्ता कुँवरले भने।
क्षतिग्रस्त सम्पदा सुरक्षित गर्ने काम चलिरहेको जानकारी गराउँदै उनले पुनःनिर्माणको काम आवश्यक बजेट विनियोजन भएलगत्तै सुरु हुने बताए।
पाटन दरबार क्षेत्रका सत्रौँ शताब्दीदेखिका कला र सांस्कृतिक सम्पदाले भरिएका चारनारायण, शङ्कर नारायण मन्दिर र मणिमण्डप ध्वस्त भए ।
स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय, पाटनका प्रमुख निरन राजवंशीले पाटन दरबार क्षेत्रमा क्षतिग्रस्त हरिशङ्कर मन्दिर, चारनारायण मन्दिर र मणिमण्डपका पुरातात्विक सामग्री भण्डारखाल बगैँचा मा सारिसकिएको जानकारी गराए।
भूकम्पले पाटन क्षेत्रमा प्रस्तरकलाका अनुपम स्थल कृष्ण मन्दिर र राधाकृष्ण मन्दिरलाई नाजुक अवस्थामा पुर्याएको छ ।
भक्तपुर दरबारभित्रका क्षतिग्रस्त स्थानका पुरातात्विक सामग्री पनि सुरक्षित स्थानमा सारिएको छ।
भक्तपुर दरबार क्षेत्रका वत्सला, केदारनाथ मन्दिर, तवसत्तल, पूर्वेश्वर महादेव, शिव मन्दिर, शिलु महादेव, भैरवनाथको पार्टी र लाल बैठक नष्ट भएका छन् भने अन्य संरचना आंशिक रुपमा क्षतिग्रस्त छन् ।
भूकम्पले दरबार क्षेत्रका अतिरिक्त काठमाडौँको स्वयम्भूस्थित अनन्तपुर, कर्मराज महाविहार, देवधर्म महाविहार र तिब्बतीय छोर्तेन, हयगृव भैरव मन्दिर, बुङ्मतिको रातो मच्छिन्द्रनाथको मन्दिर र बनेपाको चण्डेश्वरी मन्दिरलगायतमा क्षति पु¥याएकामा ती स्थानका क्षतिग्रस्त सामग्रीलाई पनि सुरक्षित स्थानमा सारिएको छ।
भूकम्पबाट हालसम्म क्षतिग्रस्त ५८१ सम्पदामध्ये पूर्ण क्षतिग्रस्त सम्पदा १३७, आंशिक र सामान्य क्षति भएका सम्पदाको सङ्ख्या ४४४ रहेको छ।
पुरातत्व विभागले सङ्कलन गरेको विवरणअनुसार क्षतिग्रस्त सम्पदामा काठमाडौँमा १९७ (पूर्ण क्षति ३५), ललितपुर ७० (पूर्ण क्षति १५), भक्तपुर ४२ (पूर्ण क्षति १५), दोलखा ३४ (पूर्ण क्षति १०), गोरखा ३५ (पूर्ण क्षति १५), धादिङ १८ (पूर्ण क्षति तीन), काभ्रेपलाञ्चोक ३७ (पूर्ण क्षति १०) लमजुङ ३० (पूर्ण क्षति पाँच), मुस्ताङ २३ (पूर्ण क्षति पाँच) नुवाकोट २२ (पूर्ण क्षति आठ), तनहुँ २८ (पूर्ण क्षति आठ), सिन्धुपाल्चोक १८ (पूर्ण क्षति आठ) रहेका छन्।
त्यस्तै रामेछाप १०, रसुवा सात, सिन्धुली एक, मकवानपुर दुई, धनुषामा एक सम्पदा आंशिक रुपमा क्षतिग्रस्त छन् ।
सम्पदाको पुनःनिर्माणका लागि विभिन्न विदेशी राष्ट्र तथा निकायले चासो दिएका छन् । प्रवक्ता कुँवरका अनुसार क्षतिग्रस्त पुरातात्विक सम्पदाको पुनःनिर्माण एवम् प्राविधिक सहयोगलगायतका विषयमा विभिन्न विदेशी सङ्घसंस्था तथा निकायसँग पनि छलफल भइरहेको छ । रासस