गत असार २८ गते लमहीको अर्नवास्थित आफ्नै ससुराली घरबाट हराएका भनिएका ललितपुरका ४० वर्षीय कृष्णबहादुर घर्तीको शव सोमबार घर नजिकै रहेका चप्परखोला सामुदायिक वनमा फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक कुबेर कडायतले दिएको जानकारीअनुसार बिहान वनमा च्याउ खोज्न गएका स्थानीयवासीले शव फेला पारेपछि प्रहरीलाई जानकारी गराएका हुन्।
यसअघि घर्ती हराएको र मानसिक रोगीसमेत रहेको भन्दै खोजी गरिदिन उनका आफन्तजनले वडा प्रहरी कार्यालय, लमहीमा जाहेरी दर्ता पनि गराएका थिए। उनको मृत्युबारे प्रहरी थप अनुसन्धान गर्ने भएको छ । रासस