सप्तकोशीको बैकल्पिक पुलको निर्माण भएको सुनसरी र उदयपुरलाई जोड्ने चतरा पुल सोमबारबाट सञ्चालनमा आएको छ।
पुलको औपचारिक उद्घाटन प्रधानमन्त्री सुशील कोइरालाले गरेका छन्। दुईसय ६१ दशमलव ३ मिटर लम्बाई रहेको उक्त पुल मध्यपहाडी लोकमार्गलाईसमेत जोड्ने बताइन्छ। २५ नोभेम्बर २०११ मा सम्झौता साथै डिजाइनिङ भए पनि विविध कारणवस डिजाइनिङ परिवर्तन गर्दै ११, जुलाई २०१२ बाट काम थालिएको कालिका जेभी कन्ट्रक्सनले बताएको छ।
७६ करोड लागत निर्माणमा सम्पन्न भएको पुलको २३ जुनमा पूर्ण रुपमा काम सकिएको कालिका जेभीका प्रोजेक्ट मेनेजर छत्रबहादुर अर्यालले बताए। उनका अनुसार साढे ७ मिटर चौडाई रहेको पुलको दुबै साइडमा पैदलयात्रीको लागि एक दशमलव १५ सेन्टिमिटर छाडिएको छ। यसको डिजाइनिङ पिरियड सयवर्ष भए पनि दुईसय वर्ष भन्दा बढी टिक्ने बताइन्छ। यो पुलको क्षमता १ सय ८० टन हो।
चतराबाट चारकिलोमिटर उत्तर पश्चिममा रहेको उक्त पुलले नडाहा कोशीपुल–कोशीपुल कञ्चनपुरको ६१ किलोमिटर बाटोलाई जोडेको छ। पूल निर्माण सम्पन्न भएसँगै उदयपुर, खोटाङ, ओखलढुंगा, सुनसरीकाबासीले प्रत्यक्ष लाभ पाउँछन् भने अन्य जिल्लाको लागि पनि यो बैकल्पिक पुल रहेको छ।
सुनसरीको नडाहा–कोशीपुल–कञ्चनपुरसम्मको ६१ किलोमिटर बाटोसमेत कालिका जेभीले नै निर्माण गर्दैछ। यो निर्माण सम्पन्न भएसँगै यो बाटो मध्यपहाडी लोकमार्गको लागि उत्तम सडक हुने विश्वास लिइएको छ।