रोल्पाको आधा भू–भागलाई सदरमुकामसँग जोड्ने माडिखोलाको पुल नबन्दा रोल्पालीले सास्ती भोग्नु परिरहेको छ ।सडक हुदाँहुदै पनि पैदल हिड्न बाध्य छन् रोल्पालीहरु ।
त्यसो त पुल नहुँदा रोल्पाको सबैभन्दा बढी तरकारी उत्पादन हुने माडिचौर, बुढागाउँ, नुवागाउँ लगायत पश्चिम क्षेत्रको तरकारीहरु सल्यान, दाङ हुँदै घुमेर पुनः रोल्पा सदरमुकाम ल्याउँदा महंगो पर्ने गरेको छ।
किसानहरु पनि नजिकको बजार छलेर घण्टौंको यात्रापछि तरकारी बेच्न विवश छन्। अर्कातिर कुनै विपद प¥यो भने उद्धारका लागि जनशक्ति परिचालमा पनि कठीनाइ हुनेगरेको छ।
सडक डिभिजन कार्यालय प्यूठानले २०६५ सालमा टेन्डर आव्हान गरी २०६६ सालमा लामा एडि धर्मेन्द्र जे.भि. कम्पनीको बाटो हुँदै प्यूठानका वसन्त डि.सी. नामका एक ठेकेदार लाई ३ करोड ४१ लाखमा जिम्मा दिइयो पूल निर्माण ।
२०६९ असार मसान्त भित्र सम्पन्न गर्ने शर्तमा पुल निर्माणको जिम्मा पाएका ठेकेदार ५० लाख पेश्की लिएर २०६९ सालसम्म गुमनाम भए। २०६६ साल २–३ गाडि सरिया माडिखोलामा झारेका उनी मुश्किलले ४ पटक पनि देखिएनन् ४ वर्षसम्म।
सुरु स्टीमेट ४ करोड ६२ लाख ९७ हजार ४ सय १९ रहेकोमा निमार्ण व्यावसायीले टेन्डरको समयमा घटेर ३ करोड ४१ लाख ५१ ह्जार ५ सय ८६ रुपैयामा सम्झौता गरे । २०६६ असार २२ गते।
४ वर्ष चुप लागेका ठेकेडारले रिडिजाईन भन्दै ३ करोड ९२ लाख ९ हजार ३ सय ७२ पुन्याए आफनो रकम। ६२ मिटर लम्बाई र ४ मिटर चौडाई रहेको उक्त पुल स्टिमेट अनुसार नमिलेको भन्दै ४ वर्षसम्म गुमनाम भएका ठेकेदार वसन्तले अन्ततः पुलको लम्बाई, चौडाई, रकम र समयावधि सबै थपे आफ्नै पुल निर्माणमा ।
त्यति मात्र होइन तत्कालीन बहालवाला भौतिक योजना तथा निर्माण मन्त्री हृदयश त्रिपाठी र अर्थमन्त्री वर्षमन पुनलाई हेलिकप्टर चढाएर पुल सिलन्यास गर्न माडिखोला झारे २०६९ कार्तिक २६ गते।
मन्त्रीद्वय त्रीपाठी र पुनले सिलन्यास गरेको यो पुलमा अहिलेसम्म २ वटा पिलर मात्र ठड्याइएको छ। जुन स्थान वरपर कतै पुल निर्माणका सामाग्री पनि देख्न पाँइदैन।
सिलन्यास कार्यक्रममै सडक डिभिजन कार्यालयले पुलको लम्वाई १० मिटर र चौडाई २ मिटर अनि लागत ३२ प्रतिसतले बढाएकोे घोषणा गर्यो ।
उता मन्त्रीसमेत उपस्थित भएको कार्यक्रममा गलत स्टिमेट गर्ने कन्सल्टेन्सि कम्पनीलाई कार्बाही वा जरीवानाको कुनै कुरा उल्लेख गरिएन भने अर्कोतिर ठेकेदार कम्पनी झन् बलियो भयो र लापरवाहिको हद हालसम्म देखाइरहेको छ।
अर्कोतिर ठेकेदारले काम गर्न छोडेको पनि करिब वर्ष दिन पुग्यो। अहिले सम्म १ करोड ८१ लख ९ हजार ४ सय ८६ रुपैंया भुक्तानी भइसकेको छ ठेकेदारका नाममा।
यो एउटा अध्याय चालिरहँदा टेन्डर खुलाई काम गर्ने जिम्मा समेत दिईसकेको डिभिजन सडक कार्यालय, चकचके प्युठानले सोहि ठाउँ नेर १ करोड १८ लाखको लगानीमा बेलीब्रिज बनाउँदै छ।
रोल्पालीका लागि बेलीब्रिजले हुनसम्मको राहत दिने छ तर लाचार कार्यालय जसले टेन्डर स्वीकृती भएको ७ वर्षसम्म पनि पुल बनाउन सक्दैन। न त ठेकेदारलाई कारबाही गर्न सक्छ।
स्टिमेट गर्ने कन्सल्टेन्सी कम्पनीको गल्ती कमजोरी माथि छानबिन नहुनु, जरिवाना नहुनु पनि शंकाको विषय बनेको छ भने सबै प्रकृया पुगेर लम्वाई चौडाई रकम र समयावधि सबै वढेपछि पनि ठेकेदारले हालसम्म पुल निर्माणमा तदारुपकता नदेखाउनु अनौठो बनेको छ ।
बर्षा सकियो भने जिविसको लगानीमा काठको पुल बनाइन्छ लाखौं खर्च गरेर। त्यो पनि बर्सात सँगैको बाढिले बगाएर लगिदिन्छ। अहिले सम्म करिब ३० लाख जति बजेट कच्चि पुल निर्माणमै सकिएको छ ।
यो वर्षपनि काठको पुल बन्यो तर बाढिले बगाएपछि हिजो आज यात्रुहरु ज्यान हत्केलामा राखेर असजिलो बाटो हुँदै झोलुङगे पुलबाट लामो पैदल यात्रा तय गर्छन्।
उपसभामुख ओनसरी घर्ती, सभाषद गोकुल घर्ती, अमर सिहं पुन, तत्कालीन अर्थमन्त्री वर्षमान पुन, नेता नन्दकिशोर पुन पासाङ, नेता नेत्रविक्रम चन्द विप्लव लगायतको घर जानलाई प्रयोग हुने यो पुलबाट उपसभामुख ओनसरी घर्ती र वर्षमन पुनको घर पुग्नलाई करीब २ किलोमिटर मात्र टाढा छ ।
‘मेरो कमजोरी छ भने कारबाही भोग्न तयार छु। गल्ती कमजोरी सबै कार्यालयको छ । म के गरुँ?’ पुलको जिम्मा पाएका वसन्त डिसि निर्धक्क भन्छन्।
‘ताकेता गरिरहेका छौं। पत्राचार भइरहेको छ। यो वर्ष सकाउने अनौपचारीक सम्झौता भएको थियो। म्याद त अधिल्लो आर्थिक बर्षमा सकिएको हो। अब त कारबाहीमा जाने होला।’ निमित्त डिभिजन प्रमुख तथा पुलका प्राविधीक सुरेश न्यौपाने बताउँछन्।
‘१ महिना भित्र एउटा निकास आउँछ। कमी कमजोरी कसको भन्ने कुरा भोलिका दिनले देखाउने छ’ न्यौपानेले बताए।
यी सबै भई रहदा केहि महिना अगाडि अख्तीयार दुरपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय सुर्खेतका प्रमुख डिल्ली शर्माको टिम रोल्पा आउदा आम सरोकारवालाले मौखीक उजूरी गर्यो। औपचारीक कार्यक्रममा।
तर के मिलेन वा के पुगेन अख्तीयार पनि मौन छ। करोडौको पुल ७ वर्षसम्म बन्दैन । अर्काे पुल केहि महिना मै तयार भयो । तर पुरानो पुलको बारेमा अख्तीयार मौन।