कञ्चनपुरको चुरेको फेदीमा रहेको ऐतिहासिक धार्मिक र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण बेदकोट तालमा रहेका जलचरको अस्तित्व सङ्कटमा पर्न थालेको छ ।
तालमा रहेका जलचरलाई अज्ञात व्यक्तिका समूहले धमाधम मार्न थाले पछि ताल जलचरविहीन हुने अवस्थामा पुग्न थालेका छन् । माछा, कछुवा र अजिङ्गर सर्पलगायतका जलचरलाई केही महिना अघिदेखि मार्ने क्रम सुरु भएको बेदकोटस्थित बुढा वैजनाथ मन्दिरका पुजारी जीतसिंह देउवाले बताए।
अवैधरुपमा एक समूहले चोरी छिपी तालमा रहेका जलचर धमाधम मार्न थालेपछि संरक्षणको प्रयास हुन नसकेको उनले बताए। “तीन दिनअघि मात्रै ताल नजिकै वर्षौंदेखि ताल छेउमा बस्दै आएको अजिङ्गर सर्प मारेर फालेको अवस्थामा फेला परेको थियो” उनले भने।
माछाका विभिन्न प्रजातिका लागि प्रसिद्ध बेदकोट तालमा माछा मार्ने समूह दैनिक सक्रिय रहने गरेकाले सोही समूहले सर्पलाई मारेको हुनसक्ने बताइएको छ।
यसैगरी, चुरे पर्वतबाट बगेर आउने खहरे खोलाले वर्षात्को उर्लिदो भेलसँगै बगाएर ल्याउने माटो, बालुवा र ढुङ्गाका कारण ताल पुरिँदै गएको छ । पाँच हेक्टर क्षेत्रफलमा ताल फैलिएको छ। जैविक विविधताले भरिपूर्ण बेदकोट तालमा विभिन्न प्रजातिका माछा, गोही, कछुवा र राजहंसको मुख्य बासस्थान रहेको छ। यो क्षेत्र आन्तरिक र बाह्य पर्यटकका साथै पिकनिक, व्रतबन्ध, विवाह समारोह आयोजना गर्ने क्षेत्रका रुपमा समेत परिचित रहेको छ।
ताल क्षेत्र वरिपरि रहेका पुराना धार्मिक संरचना जीर्ण बन्दै गएका र नयाँ निर्माण गरिन लागेका भौतिक संरचना आर्थिक अभावका कारण पूरा हुन सकेका छैनन्।
परापूर्वकालमा वनवासका क्रममा पाण्डवले यस क्षेत्रमा आएर बेदधुनि जगाएकाले यस क्षेत्रको नाम बेदकोट रहन गएको जनश्रुति रहेको छ। यो क्षेत्र प्राचीनकालमा ऋषिमुनिको तपोभूमिका रुपमा समेत परिचित रहेको छ। रासस