बिहानको मेलापात र खाना खाएपछि वल्लोपल्लो घर गर्दै समय विताउँने रुपन्देहीको देवदह नगरपालिका वडा नं. ९ विशालनगरका महिलाहरुको दैनिकी अहिले भने फेरिएको छ।
गाउँघरमा हुर्कदै गरेका युवायुवती तथा पुरूषहरु समेत जाँडरक्सी एवं जुवातासको कुलतमा फस्न थालेपछि महिलाहरु त्यसको नियन्त्रणमा लागेका हुन्। देवदह ९ विशालनगर र प्रेमनगरका ४० जना भन्दा बढी महिलाहरुले सिर्जना आमा समूह गठन गरी जुवातास, मदिरा र दुर्व्यसनमुक्त समाज बनाउने अभियानका साथ हरेक दिनजसो अनुगमन गर्न थालेका छन्।
बिहान साँझ मेलापात गर्ने पुरुषहरू समेत दिउँसोको समयमा जुवातास खेल्न थालेपछि महिलाहरुले दिउँसो १२ देखि २ बजेको समयमा सबै घरघरमा अनुगमन तथा निगरानी गर्न थालेका छन्।
मेलापात गएका युवायुवती खेतका कान्ला तथा खोल्साखाल्सीहरुमा बसी मदिरा तथा चुरोट खाने गरेको पाईएपछि त्यस्ता ठाउँहरूमा समेत निगरानी गर्ने गरिएको आमा समूहकी अध्यक्ष बुद्धिसरा सारूले बताइन्। ‘घरका ठूला व्यक्तिहरुले गरेको गलत कामको सिको बालबालिकाले समेत गर्ने भएकोले गतल कामलाई हटाउँदै बालबालिकाहरु कुलतमा नफसुन् भन्ने उद्देश्यले यसरी अनुगमन तथा निगरानी गर्ने गरिएको हो’, सारुले बताइन्।
पहिले गाउँघरमा जुवातास खेल्ने र मदिरा खाएर हिड्ने पुरुषहरु पनि आमा समूह गठन भएपछि सतर्क हुन थालेका छन्। फुर्सदको समय साथीभाई मिलेर तास खेल्ने व्यक्तिहरु पनि महिलाहरु देख्ने वित्तिकै खेल्न छोड्न थालेका छन्।
महिलाहरुले जुवातास खेल्ने र खेलाउने दुवैलाई जरिवाना लिने समेत नियम बनाएका छन्। कोहि पनि जुवा खेलेको भेटीए तिनपटक सम्म सम्झाएर सचेत बनाउने र त्यसपछि पनि खेल्ने व्यक्तिलाई ५ सय र खेलाउने व्यक्तिलाई १ हजार रुपैया जरिवाना लिने नियम बनाईएको आमा समुहकी उपाध्यक्ष देवी थापाले बताईन्।
‘धेरै जसो व्यक्तिहरुले राम्रो काम गरेको भन्दै प्रशंसा गर्ने भएपनि केहि व्यक्तिहरुले भने महिलाहरु कतिदिन यसरी हिड्लान् भन्दै खिसी टिउरी गर्छन्’, थापाले भनिन्।
आमा समूह गठन पछि विशालनगर र प्रेमनगर वरपर साँझ ६ बजेदेखि ८ बजेसम्म २ घण्टामात्र मदिरा वेचविखन गर्न खुल्ला गरिएको छ। अन्य समयमा मदिराजन्य वस्तु विक्री वितरण पूर्ण रूपमा रोक लगाईएको समूहकी सदस्य सुमित्रा सहानीले बताईन्।
‘काममा जाने व्यक्तिहरु पनि दिनभर मदिरा खाएर समय बर्वाद गर्न थालेपछि होटलहरुमा साँझ २ घण्टामात्र मदिरा विक्री गर्न नियम बनाईएको हो’, अध्यक्ष सारूले बताईन्।
चार महिना पहिले मात्रै गठन गरिएको आमा समूहमा आवद्ध महिलाहरू नियमित रूपमा बैठक बस्छन्। गाउँघरका महिलाहरूका समस्या के के हुन् ति समस्या समाधान कसरी गर्न सकिन्छ भन्ने विषयमा समेत छलफल गर्छन्।
देवदह ९ प्रेम टोल सुधार समितिको अगुवाईमा गठन गरिएको सिर्जना आमा समूहलाई महिलाको पक्षमा मात्र नभई समाजका हरेक कुरिती र अन्धविश्वासको विरुद्धमा स्थापित गर्ने आफूहरूको लक्ष्य रहेको समूहका महिलाहरुले बताए।