साइबेरियन चराको आगमनले महोत्तरीको गौशाला क्षेत्र आजभोलि सेताम्मे देखिन थालेको छ।
साइबेरियन जातका चरा यतिखेर गौशाला क्षेत्रका विभिन्न रूखमा बस्दै आएपछि यहाँका वातावरण नै सेताम्मे बन्न पुगेको हो। रूख नै ढाकेर सेतो हुने गरी दर्जनौँको सङ्ख्यामा ती चरा बस्दाको सुन्दर दृश्य हेन टाढा टाढाबाट दर्शक आउने गरेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ।
बकुल्ला जस्तै देखिने सेतो रङ्गका चराको घाँटी भने पहेँलो रङ्गको हुन्छ। यो बकुल्ला प्रजातिले आफ्नो प्रजननको ६ महिना सम्म यहाँ बिताउने प्रहरी निरीक्षक मच्छिन्द्रबाबु केसीले जानकारी दिए।
हजारौं सङ्ख्यामा रहेको ती चरा दिनभरि आहाराको खोजीमा विभिन्न स्थानमा भौँतारिँदै इलाका प्रहरी कार्यालय गौशालाको परिसरमा रहेको ठूलठूला रूखमा रात बिताउन आउने गरेका छन् । यो चरालाई गौशाला र महोत्तरीवासीले पाहुनाका रुपमा लिएको र आफूहरुले वर्षौंदेखि यसको हेरचाहमा समेत ध्यान दिएको प्रहरी निरीक्षक केसीले जानकारी दिए।
नेपालको यस स्थानमा मात्र आउने साइबेरियन चराको आगमन बर्सेनि गर्मी मौसमको सुरुवातसँगै हुनेगर्छ र असोजको अन्तिम साता सम्ममा फिर्ती हन्छ । बर्सेनि आउने यस चराको उपयुक्त बासस्थान नेपालमा महोत्तरीको गौशाला मात्र भएका कारण वरवरको वातावरणलाई स्वच्छ बनाउनुपर्ने स्थानीयवासी दिनेश महतो बताउँछन्।
विगत ५–६ वर्षदेखि यी चरा यस स्थानमा आउने गरे पनि यहाँका रूख प्रतिदिन मासिँदै गएकामा स्थानीयवासी चिन्तित छन् ।