। जनता निम्न माध्यमिक विद्यालय रोकायगाउँका प्रधानाध्यापक तीर्थराज पुन र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर सिंहले रु छ लाख हिनामिना गरेको खुलासा भएको छ । उनीहरुले छात्रवृत्ति, पाठ्यपुस्तक, कक्षा कोठा पुनःनिर्माण, कार्यालय सहयोगीको तलबलगायत शीर्षकको रकम हिनामिना गरेको खुलेको हो ।
विद्यालयको बजेट हिनामिना भएपछि दुई वर्षदेखि विद्यार्थी छात्रवृत्ति तथा पाठ्यपुस्तकको रकम पाउनबाट वञ्चित भएका छन् । कक्षा कोठा पुनःस्थापना तथा फर्निचर व्यवस्थापनको रु दुई लाख ५० हजार, छात्रवृत्तिको रु एक लाख, पाठ्यपुस्तकको रु एक लाख, कार्यालय सहयोगीको तलब रु ५० हजार र निजी शिक्षकको तलब रु एक लाख हिनामिना भएको स्थानीयवासी टीकाराम नेपालीले बताए।
“छात्रवृत्ति तथा पाठ्यपुस्तकको रकम वितरण नगरेको दुई वर्ष भयो,” नेपालीले भने। त्यस्तै कार्यालय सहयोगी र निजी शिक्षकलाई तलब नखुवाएको पनि एक वर्ष बितेको छ । गत आवमा जिल्ला शिक्षा कार्यालयबाट कक्षा कोठा पुनःस्थापना तथा फर्निचर व्यवस्थापनका लागि आएको रकमसमेत उपयोग नगरेर हिनामिना गरिएको उनले भने।
जिल्ला शिक्षा, गाविसलगायतका निकायबाट निकासा भएको रकम बर्सेनि हिनामिना हुने गरेपछि विद्यालयको भौतिक तथा शैक्षिक अवस्था निकै कमजोर भएको अभिभावक लालबहादुर रोकायले बताए।
विद्यालय निरीक्षक तथा स्रोतव्यक्तिबाट अनुगमन तथा निरीक्षण नहुँदा पनि यस्तो मनोमानी भएको रोकायले बताए। यी समस्या समाधानका लागि पटक पटक जिल्ला शिक्षा र प्रहरीमा जानकारी गराउँदा पनि वास्ता नगरिएको उनको गुनासो छ ।
उहाँले भन्नुभयो – “विद्यालय भवन जीर्ण छ । फर्निचर छैन । खानेपानी तथा शौचालयको व्यवस्था छैन । विद्यार्थीले छात्रवृत्तिसमेत पाएका छैनन् । अनुदान रकम प्रधानाध्यापक र अध्यक्षको खल्तीमा जाने गरेको छ तर दोषीमाथि कारबाही पनि भएको छैन ।”
प्रधानाध्यापक पुनले जिल्ला शिक्षाबाट निकासा नभएको भन्दै छात्रवृत्तिलगायत रकम वितरण गर्न आलटाल गरेको उहाँले बताउनुभयो । पुनले नक्कली भर्पाई बनाउँदै कार्यालयमा पेस गर्ने गरेको बताइएको छ ।
प्रअ पुनले भने समयमा रकम वितरण गर्न नसकेको स्वीकारेका छन् । छात्रवृत्ति र पाठ्यपुस्तकको रकम तत्काल वितरण गरिने पुनको भनाइ छ । कक्षा कोठा पुनःस्थापना तथा फर्निचर व्यवस्थापन कार्यक्रममा भने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सिंहको कमजोरी भएको पुनले बताउनुभयो । “दुवैको कमजोरी भएको छ, यसलाई सच्याउने क्रममा रहेका छौँ,” उहाँले भन्नुभयो ।
अभिभावकले पटक पटक गुनासो गरेपछि विद्यालयको खाता रोक्का गरेको निमित्त जिल्ला शिक्षा अधिकारी मानबहादुर गिरीले बताउनुभयो । प्रअ पुनले अभिभावकसँग निकासा नभएको भन्दै ढाँटे पनि उक्त रकम निकासा भइसकेको गिरीले बताउनुभयो ।
रकम हिनामिना सम्बन्धमा आवश्यक छानबिन गरी नियमानुसार कारबाही गरिने गिरीको भनाइ छ । हिनामिना रकम असुल नभएसम्मका लागि प्रधानाध्यापक पुनको गत वर्ष तेस्रो चौमासिकको तलब निकासा रोकिएको गिरीले बताउनुभयो । रासस