सशस्त्र प्रहरी बलले नेपाल प्रहरीले भनेजस्तो आफूहरुको संगठनबाट 'प्रहरी'शब्द निकाल्न नहुने बताएको छ । नेपाल प्रहरीले अर्धसैनिक बल सशस्त्र प्रहरीबाट 'प्रहरी' शब्द निकाल्न सुझाव दिएपछि उसले कुनैपनि हालतमा 'प्रहरी' शब्द निकाल्न नमिल्ने बताएको हो ।
सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तसहितका प्रहरी अधिकारीले आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर आगामी र्संविधानमा नेपाल प्रहरीले भनेजस्तो सशस्त्र प्रहरीबाट प्रहरी शब्द निकाल्न नहुने सुझाव दिएका हुन् ।
नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्यालसहितका प्रहरी अधिकारीले सवैधानिक राजनीतिक संवाद समितिका सभापति बाबुराम भट्टराई भेटेरसशस्त्र प्रहरीको प्रहरी शब्द हटाउन सुझाव दिएका थिए ।
अर्यालले प्रहरी शब्द राख्दा विवादमाथि विवाद थपिएको भन्दै नयाँ संविधानमा सशस्त्र प्रहरीको प्रहरी शब्द हटाउनुपर्ने बताएका थिए । ओलीसँगको भेटमा सशस्त्र प्रहरी महानिरीक्षक वन्तले अर्धसैनिक बल सशस्त्र प्रहरीलाई नेपाली सेनाभन्दा तल र नेपाल प्रहरीभन्दा माथि मर्यादाक्रममा राख्नुपर्नेमा समेत ध्यानाकर्षण गराएको सशस्त्रका एक उच्च प्रहरी अधिकारीले जानकारी दिए ।
विश्वव्यापी नियम अनुुसार हतियार क्षमताको हिसावले अर्धसैनिक बललाई सेनाभन्दा मुनि र नेपाल प्रहरीभन्दा माथिको मर्यायाक्रम दिनुपर्छ ओली सँगको भेटमा वन्तले भनेको ती अधिकारीले सेतोपाटीलाई जानकारी दिए ।
सशस्त्र प्रहरीलाई व्यक्ति पक्राउ पुर्जीको अधिकार दिएपछि दुई प्रहरी संगठनबीच विवाद रहँदै आएको छ । दुई संगठनबीच सम्बन्ध चिसिएपछि अहिले दुवै संगठनका प्रहरी अधिकारी आफूहरुले भनेजस्तो हुनुपर्छ भन्दै विभिन्न राजनीतिक दलका नेता र शक्तिकेन्द्रमाझ गइरहेका छन् । ओलीसँगको भेटमा सशस्त्र प्रहरीका महानिरीक्षक, ६ जना एआइजी, डिआइजी र ३ जना एसएसपी गरी १७ जना प्रहरी अधिकारी सहभागी थिए ।
सशस्त्र प्रहरीले प्रहरी शब्द नहटाउन एमाले अध्यक्ष केपी ओलीलाई गुहारेपछि नेपाल प्रहरीका एक उच्च अधिकारीले भने असन्तुष्ट जनाएका छन् । उनले भने, '२०४७ सालमा सेनाका अधिकारी राजाको अधिकार कटौटी नगर्न आग्रह गर्दै शक्तिकेन्द्र धाएका थिए', 'अहिले सशस्त्र प्रहरी बल त्यसैगरी हुल बाँधेर शक्तिकेन्द्र नै धाउँदैछ।'