गत बुधबार राति आएको मुसलधारे वर्षाका कारण यहाँको एक गाउँका किसानले लगाएको झन्डै एक सय रोपनी धानखेत बगाएको छ।
पर्वतको तिलाहार गाविस–९ थामर्जुङका ३५ जना किसानको १०० रोपनी खेत पहिरोले बगाएको हो । केही महिनाअघि उक्त फाँट हुँदै खनिएको सडकका कारण पहिरो गएको र पहिरोले पूरै धानखेत बगाएको स्थानीयवासी किसान चन्द्रबहादुर खत्रीले जानकारी दिए।
पोखरा–बागलुङ सडकखण्डभन्दा माथि रहेको उक्त खेत बाढीले बगाउँदा राजमार्गसमेत ३५ घन्टा अवरुद्ध बनेको थियो। अहिले उक्त राजमार्ग एकतर्फी रुपमा सञ्चालनमा आएको छ।
मानो रोपेर मुरी फलाउनका लागि असारमै रोपाइँ गरेका किसान सबै खेत बगाएपछि चिन्तित बनेका छन्। पहिरोले बगाएको जग्गामा असारमै स्थानीय किसानले धानखेती गरिसकेका थिए।
उक्त खेतमा धानखेतीलगायत गहुँ, तोरी, मकैलगायतका अन्नसमेत राम्रो उब्जाउ हुने गर्छ।
स्थानीयवासी सीता खत्री, अमरबहादुर खत्री, भीमबहादुर केसी, मानकुमारी बस्नेत, गणेश खत्रीलगायतले बाढीले खेत बगाएपछि समस्यामा परेको र फेरि त्यसलाई खेत बनाएर रोप्न सकिने अवस्था नभएकाले भोकमरीको अवस्था सिर्जना हुने गुनासो गरेका छन् । उनीहरुले राज्यले क्षतिपूर्तिको व्यवस्था गरिदिनुपर्ने मागसमेत गरेका छन्।
उक्त जग्गामा भूकम्पका कारण ठाउँठाउँमा दरार र धाँजा फाटेको थियो। त्यस्तै अवस्थामा पनि स्थानीयले जोखिम मोलेर रोपाइँ गरेका थिए । पहिरोमा बगेको उक्त खेत पोखरा–बागलुङ राजमार्गदेखि झन्डै पाँच मिटरको दूरीको पहाडमाथि रहेको छ।
थामार्जुङ गाउँमा डोजर प्रयोग गरी खनिएको कच्ची सडकसमेत पहिरोले बगाएको छ । पहिरो जानुको मुख्य कारण नै सडक भएको पीडित किसानको अनुमान रहेको छ। रासस