माइती शब्दप्रति उनलाई केटाकेटी हुँदादेखि नै चासो थियो। जब उनकी आमा माइती जान पाउने कुराले प्रफुलित हुन्थिन्। उनी सोच्थे– माइती सम्झेर आमा कति खुसी हुनुहुन्छ। पछि माइती जान पाउने भएपछि उनकी श्रीमती दुई/तीन दिन पहिलेदेखि नै खुसी भएको देख्दा उनलाई लाग्यो– बिहे भएकी महिलालाई सबै भन्दा प्रिय शब्द नै माइती हो। माइतीप्रतिको त्यही प्रफूलता र खुसीलाई उनले गीतमा उतारे।
आकाशलाई छोएको छ मेरो हिमालले
स्वर्गलाई लोभ्याउँछ मेरै नेपालले
मेरो प्रित पलाउँछ सँधै पहरामा
मेरो गित सुसाउँछ सधैं छहरामा
यो हो मेरो प्राणभन्दा प्यारो माइती घर....
महिलाको जन्मघरसँग भावनात्मक साइनो जोडिएको यो गीतमा राष्ट्रभक्ती पनि उत्तिकै लुकेको छ। चलचित्रको गीत भइकन पनि यो 'स्वदेश' गान जस्तो छ। त्यसैले त रेर्कड भएको ५० वर्षपछि पनि नेपालीले यो गीत बिर्सेका छैनन्। चेलीलाई माइती घर र पराई घर भएजस्तै विदेश बस्ने नेपालीका लागि ‘माइती घर‘ जस्तै बनेको छ नेपाल ।
चलचित्रका गीत क्षणिक हुन्छन् भन्नेहरुलाई यो गीत गतिलो जवाफ पनि बनेको छ– माटोलाई आधार मानेर लेखिएको जुनसुकै विधाको गीत जनजिब्रोमा झुण्डिन्छ र बाँच्छ जहिलेसम्म माटोको माया मुटुमा धड्कीरहन्छ।
गीतकार किरण खरेलले यस्ता धेरै गीत चलचित्रमा लेखेका छन् जुन गीत एक दुई वर्षमै मानिसका मनबाट हराएर गएनन्। बरु नेपाली सांगीतिक क्षेत्रमा नयाँ सुरुवात गरेर बाँचिरहे। बन्द समाजमा चलचित्रका माध्यमबाट खरेलका गीतले मनोरञ्जन मात्र दिएनन्। विद्रोहको सन्देश पनि दिए।
म प्यार बेचिदिन्छु, बहार बेचिदिन्छु
को किन्छ मेरो दिलको झंकार बेचिदिन्छु।
परिबन्धमा फसेकी एक नारीले उम्कने कुनै उपाय नपाएपछि गरेको घोषणा हो यो गीत, माइतीघर चलचित्रमा।
खरेलले यस्ता संयौ गीत लेखेका छन् जुन आज सुन्दापनि उत्तिकै कर्णप्रिय लाग्छन्। त्यसो त उनको परिचय गीतकार मात्र होइन उनी चर्चित रेडियोकर्मी पनि हुन। २०२० देखि ५० को दशकसम्म देशभरी एकछत्र गुञ्जने रेडियो नेपालमा उनको मिठासपूर्ण स्वरका पारखी धेरै थिए। खरेल भन्छन् ‘त्यतिबेला रेडियोमा बोल्ने त अहिलेका सिनेमाको हिरो हिरोइनजस्ता लाग्थे।' ती हिरो हिरोइन जस्तै बन्ने रहर खरेलको मनमा पनि पलाएको थियो।
...
काभ्रे खरेलथोकमा वि.स.१९९५ माघ २७ गते जन्मेका खरेल काठमाडौंमै हुर्के, बढे। २००७ मा रेडियो नेपाल सुरु हुँदा उनको परिवारमा पनि रेडियो सेट पुगिसकेको थियो। त्यो रेडियोको पनि लाइसेन्स लिनु पर्ने जमाना थियो। यति सानो रेडियो भित्र पसेर मानिसहरु कसरी बोलेका होलान् भन्ने नेपाली युग थियो त्यो। विभिन्न स्वरमा बोल्ने, गाउने बजाउने रेडियो भित्र मानिसहरु बसेका होलान् भन्ने किरण खरेलको बाल मष्तिस्कले पनि सोच्थ्यो रे।
शान्ति निकुञ्ज स्कुलबाट एसएलसी पास गरेका खरेलले कलेज पढ्ने भएपछि थाहा पाए– बोल्नेहरु रेडियो सेटभित्र हुँदैनन् उनीहरु त सिंहदरबारमा रहेको स्टुडियोमा बसेर बोल्छन्। रहर उम्लेर आयो। रहरले उनलाई पनि रेडियोमा पुर्यायो। उनले सुरु गरे, रेडियो नेपालका विभिन्न कार्यक्रमा कथा, कविता वाचन गर्न। छात्र, नारी, बाल कार्याक्रम लगायतका कार्यक्रमा उनी कथा कविताहरु पढेर सुनाउँथे।
त्यतिबेला उनका रेडियोमा बोल्ने र गीतल लेख्ने दुई शोख थिए। तिनै दुई शोख उनको जीवनको लक्ष्य बने। उनका बुवा चाहन्थे– छोराले अरु नै सरकारी जागिर खाओस्। स्थायी जागिर, सरकारी तलब र सुविधा अनि अवकाशपछि पेन्सन पाओस्। तर खरेललाई आफ्नो रेडियोको सपनाका सामु संसारका अरु सबै कुरा फिक्का लागे।
२०१४ सालमै उनले लेखेको पहिलो गीत ‘ए दुरका सितारा मेरी चाँदनी कहाँ छ...‘ रेर्कड भइसकेको थियो। २०१५ सालदेखि नै उनी रेडियो नेपालका विभिन्न कार्यक्रममा आफ्ना रचना सुनाउन थालिसेका थिए। ‘अहिलेको जस्तो आफैंले कमाएर परिवार पाल्नुुपर्ने बाध्यता थिएन, हजुरबुवा र बुवाको सम्पत्तिले पनि खान पुग्थ्यो खरेलले भने ‘त्यही भएर पनि सजिलो भयो रेडियोमै लाग्न।‘
स्वर उनको मिठो थियो। उनकै शब्दमा भन्दा ‘गड गिफ्टेड'। कार्यक्रमको प्रस्तुतीमा उनले केही परिवर्तन ल्याए। त्यही परिवर्तनले उनलाई रेडियो प्रस्तोताको अलग परिचय दिलायो। नविन प्रयोगको एक प्रभावशाली कार्यक्रम थियो – सुन्दर सुशील संगीत कार्यक्रम। अर्की प्रस्तोता धन लामा र खरेलले २०४२ सालतिर यो कार्यक्रम सुरु गरेका थिए। शनिबार विहान आउने कार्यक्रममा कुनै औपचारिक सीमा थिएन। किरण धन लामालाई तिमी भनेर सम्बोधन गर्थे। त्यसअघि रेडियोमा सहकर्मी प्रस्तोतालाई तिमी भन्ने चलन थिएन। त्यतिमात्र होइन, कार्यक्रममा उनीहरु प्रेमका कुरा गर्थे, समाजका कुरा गर्थे अनि हाँसो मजाक पनि गर्थे। कार्यक्रमको एक संवाद खरेलले सम्झिए–
‘धन तिम्रो सुत्ने बेला भइसक्यो र?‘
छैन, किन?
‘हाइ हाइ गरिरहेकी छौं त, बिहान साढे ९ बजे त कोही सुत्दैन।‘
बिहानको साढे ९ बजेको जानकारी दिन उनीहरु यस्तो संवादको साहरा लिन्थे। स्रोताहरु त्यो शैली खुब मन पराउँथे। कार्यक्रम चर्चाको शिखरमा थियो। यतिसम्म कि खरेल र लामाका बारेमा गसिप पनि बन्थे– यी दुईको लभ परेको छ?
समाजमा आजको जस्तो गरी आफ्नो प्रेम खुलमखुल्ला देखाउन सकिने जमाना थिएन त्यो। देखाउन नमिल्ने भन्दैमा मानिसहरु प्रेममा नपर्ने कुरा थिएन। आखिर मुटु त हिजो पनि धड्किन्थ्यो, आज पनि धडकिन्छ। लाखौ मुटुले एक अर्काका लागि धड्केर नै समाजलाई खुकुलो पार्दै ल्याएका हुन्। त्यो बेला भने समाज धेरै कसिलो थियो, संकुचित थियो।
त्यो संकुचित समाजमा युवायुवतीले प्रेम र मित्रताका संवाद सुन्न पाउथे, सुन्दर शुसील संगीतमा। आखिर किरण र धनको जस्तो निस्फिक्री रोमान्टिक कुरा गर्ने रहर उनीहरुलाई पनि हुन्थ्यो। पाउदैनथे। त्यसैले खरेल र लामाको रेडियो संवादमा उनीहरु आफू र आफ्नो प्रेमी/प्रेमिकालाई पाउथे, रोमान्चित हुन्थे। त्यहि भएर सुन्दर सुशील संगीत त्यो समयको झंकार थियो। युवा युवतीको मुटुको धड्कन।
उनीहरुको प्रेम परेको चर्चाले किरणलाई फरक परेन।
‘त्यस्ता चर्चाले मलाई कुनै असर गरेन' खरेलले हाँस्दै भने ‘अरुले शंका गरेर के फरक पर्थ्यो र घरमा श्रीमतीलाई मप्रति शंका थिएन‘ खरेलले भने। १८ वर्षकै उमेरमा उनले मागी विवाह गरिसकेका थिए। उनको आवाजका प्रंशसक थुप्रै युवती नभएका होइनन। उनले मेरो सम्भावित प्रश्नको उत्तर दिइहाले– बिहे नभएको भए त्यतातिर ध्यान जान्थ्यो होला तर पहिले नै विहे भएकाले युवती प्रशंसकतिर ध्यानै गएन।
उनले २०२२ सालबाट रेडियो नेपालमा जागिर खाए। ७ वर्षपछि उनी शाही नेपाल चलचित्र संस्थानमा आवद्ध भए। रेडियोमा बोल्ने र चलचित्रका लागि गीत लेख्ने उनको धोको त्यतिबेलासम्म पुरा भइसकेको थियो। अरु नै सरकारी जागिर खाओस् भन्ने उनका बुवाको चाहनापनि बदलिएको थियो। प्राय ः कलैयामा बस्ने उनका बुवालाई छोराको कामले गर्व लाग्न थालेको थियो। ‘फलानो ठाउँमा जाँदा किरण खरेलको बुवा हो भनेर खुब सम्मान गरे भन्नुहुन्थ्यो‘ खरेलले आफ्ना बुवालाई सम्झिए।
बाबु छोराको सम्बन्ध उनी र उनका छोराबीच पनि सुरु भइसकेको थियो। रेडियो नेपालमा कार्यक्रम चलाउन जाँदा उनी जेठा छोरा सुमन खरेललाई पनि सँगै लिएर जान्थे। आफू माइक्रो फोन अगाडि बस्थे। सुमनलाई प्राविधिकको कोठामा राखिदिन्थे। किरण माइक्रोफोन अगाडि बोल्न थाल्थे। बाबुलाई सर्वशक्तिशाली मान्ने उमेरका सुमन सोच्थे– यसरी नै मैले पनि बोल्न पाए! किरण भने छोरो डाक्टर बनोस भन्ने चाहन्थे। छोरालाई डाक्टरी पढ्न भर्ना पनि गराए। आखिर किरणको जस्तै सुमनको पनि रेडियोको सपनाले नै जित्यो अन्त्यमा। छोरा पनि आवाजकै दुनियाँमा छिरे। बाबुबाट अंश पाए जस्तै उनको स्वर पनि मिठो थियो। तीन भाइका जेठा उनी बाबुका सच्चा उत्तराधिकारी बने। रेडियो नेपाल र बिबिसी नेपाली सेवा लण्डनमा ३० वर्ष काम गरेर केही महिनामै स्वेच्छिक अवकाश लिने सोचमा रहेका सुमनले भने– स्वर त अरु भाइहरुको पनि राम्रो थियो होला तर उनीहरु यो क्षेत्रमा आउँदै आएनन्।
***
जीवनलाई फर्केर हेर्दा उनलाई आफू भाग्यमानी लाग्छ। भाग्यमानी भएकै कारण उनले आफूले चाहेका काम सजिलै गरे। ‘फरक यत्ति हो मैले गरेका काम आम मानिसले रुचाइदिए‘, खरेलले भने। आम मानिसले उनलाई रुचाएको प्रमाण पुरानो बानेश्वरको उनको घरको भित्तामा सजिएका सम्मान र पुरस्कारका प्रमाणपत्र हुन्। लोकप्रिय हुनका लागि आफू लागेको क्षेत्रमा निरन्तर मिहिनेत गर्नुपर्ने खरेलको तन्नेरी पुस्तालाई सुझाव छ।
७७ वर्ष पुगेका खरेललाई जीवनमा आफूले देखेका दुई सपना पुरा गरेकोमा सन्तोष छ। आफू नजन्मिदै चर्चित बनेको उनको कार्यक्रम सुन्ने मेरो धोको उनलाई सुनाएँ। तर कुन गीत कहिले लेखे, ती गीत कहाँ छन् उनलाई हेक्का छैन्। रेडियो कार्यक्रम त उनको रेकर्डमा हुने कुरै भएन। ‘म अलि अल्छी र अव्यवस्थित मान्छे हुँ‘ उनले भने। उनी भाग्यमा विश्वास गर्छन् तर भगवानका लागि मन्दिर धाउँदैनन्। बुढेसकालमा पनि उनलाई तिर्थव्रतमा रुचि छैन्। आफैंभित्र भगवान प्राप्त गर्नुपर्छ भन्ने मान्यतामा उनी अडिग छन्।
२०४३ सालदेखि खरेल नायब महाप्रबन्धक रहेको शाही नेपाल चलचित्र संस्थान निजीकरण गरिने भयो। रेडियो नेपालको करारको जागिर पहिले नै छुटेको थियो। सुन्दर सुशील संगीत कार्यक्रम अरुले प्रायोजन गरेका थिए। त्यो पनि बन्द भयो। संस्थान निजीकरण भएपछि उनले जागिर छोड्ने निर्णय गरे। उपादान बुझेर उनले अवकाश लिए। ‘रेडियो नेपालमा करारमा जागिर खाएँ, संस्थान निजीकरण भईहाल्यो। स्थायी जागिर खाएको भए पो पेन्सन आउनु? मेरा लागि पेन्सन भनेका यिनीहरु नै हुन‘ छेउमै बसेका सुमनलाई देखाउँदै उनले भने। बाबुको कुरा सुनेर सुमन मुस्कुराए।
खरेलले स्थायी जागिर नखाएकाले पेन्सन पाएनन्। धेरै सम्पत्ति जोड्न सकेनन्। तर उनको बायो डाटामा उल्लेख गर्दा एक पृष्ठमा नअट्ने प्रवल गोरखा दक्षिणवाहु, प्रख्यात त्रिशक्तिपट्ट लगायतका विभुषण, सम्मान र पुरस्कार अनि घरको भित्ता भरिने प्रमाणपत्र उनले ‘अस्थायी जागिर‘बाटै कमाएका हुन्। त्यसभन्दा बढी उनले कमाएको सम्पति हो जनजीब्रो झुण्डिएका उनका गीतहरुः
यो देश हो प्रकृतिको शान्त फुलबारी
झर्छ जहाँ इन्द्रधनुष स्वर्ग माया मारी
कोपिलाको काखमा काउकुति लाई
खेलिरहन्छ झुल्केघाम बिहानमै आई
यो हो मेरो प्राणभन्दा प्यारो माइती घर, माइती घर, माइतीघर....।
गीतका यी शब्दजस्तै जबसम्म महिलाहरु माइतीलाई सम्झन्छन्, नेपालीहरु नेपाललाई प्राणभन्दा प्यारो ठान्छन्, तबसम्म किरण खरेल पनि नेपाली सांगीतिक आकाशमा सम्झिइरहने छन्। कुनै सरकारी जागिरमा मात्र अल्झेको भए सायद उनले यो सौभाग्य पाउने थिएनन्। (तस्बिरहरू ः प्रकाश लामा/ सेतोपाटी)