जग्गा विवादमा आफ्नै छोरीको हत्या गर्न खोज्नेलाई प्रहरीले आज दिउँसो पक्राउ गरेको छ।
बाराको सिंहना गाविस–६ मा आज भएको जग्गा विवादमा आफ्नै छोरीको हत्या गर्न खोज्ने राजेश्वर यादव पक्राउ परेका हुन्। अभियुक्त यादवले आफ्नै छिमेकी शङ्कर यादवसँग भएको जग्गा विवादको झोकमा सात वर्षीया छोरी सोनीकुमारलाई कुटपिट गरी घाँटी थिचिरहेको अवस्थामा गाउँलेले देखेपछि उनलाई प्रहरीको जिम्मा लगाएका थिए।
प्रहरीका अनुसार अभियुक्त राजेश्वरले छोरीको हत्या आफैँले गर्ने र झगडिया शङ्करलाई आरोप लगाउने मनसायले छोरीको हत्या गर्न खोजेको हो। घाइते बालिकाको कलैया अस्पतालमा उपचार भइरहेको छ । रासस