महोत्तरी जिल्लाको बलुवा बजारमा स्थानीयवासी र प्रहरीको बीचमा मंगलबार राति झडप भएको छ।
झडपमा परी करिब २५ जना स्थानीयवासी घाइते भएका छन् भने एक जनाको अवस्था गम्भीर रहेको छ। मङ्गलबार राति बलुवा बजारको विद्यालय प्रांगणमा डा सिके राउतको भाषणको भिडियो प्रदर्शन क्रममा सो झडप भएको हो। भिडियो देखाइरहेको अवस्थामा प्रहरीले स्थानीयवासीलाई रोक्न खोज्दा स्थानीयवासीले प्रहरीमाथि ढुङ्गामुढा गरेका थिए।
प्रहरीमाथि ढुङ्गामुढा गर्न थालेपछि स्थितिलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले स्थानीयवासीमाथि लाठीचार्ज गर्नुका साथै एक राउन्ड हवाई फायर गरेको थियो । प्रहरीको लाठीचार्जबाट करिब २५ जना स्थानीयवासी घाइते भएका छन् भने बलुवा–६ का ६० वर्षीय रामसुन्दर यादवको अवस्था गम्भीर रहेको छ । टाउकोमा चोट लागेका यादवको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको छ ।
सो गाउँको अवस्था तनावग्रस्त रहेको स्थानीयवासीले बताएका छन्। पटकपटक स्थानीयवासी र प्रहरीबीचमा झडप भएपछि आवश्यक सहयोगका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट थप सुरक्षाकर्मी बोलाइएको छ।
स्थानीयवासीले प्रहरीको एउटा भ्यानमा तोडफोड गरेका छन् भने ढुङ्गामुढा गर्नमा संलग्न रहेका महोत्तरी परौलथानका सञ्जयकुमार यादव र बलुवाका सत्यनारायण यादवलाई पक्राउ गरिएको स्थानीयवासी रामदेव यादवले जनाएका छन्।
इलाका प्रहरी कार्यालय बलुवाका इन्चार्ज सहायक प्रहरी नायब निरीक्षक योगकुमार सुवेदीले अनुमति बिना सिडी क्यासेट चलाइरहेकाले रोक्न जाँदा स्थानीयवासीले विरोध जनाएको र प्रहरीमाथि ढुङ्गामुढा गर्न थालेपछि स्थितिलाई नियन्त्रणमा लिनका लागि लाठीचार्ज र हवाई फायर गर्नुपरेको जानकारी दिए। रासस