दृष्टिविहीनलाई समृद्ध बनाउने आकांक्षामा एक्लै काठमाडौंका साँघुरा गल्ली र विदेशका फराकिला संरचनामा कुदिरहेकी हुन्छिन् सृष्टी केसी। उनी आफू पनि त्यस्तै भएर होला उनी दृष्टिबिहिनका अप्ठयारो अरु भन्दा धेरै बुझ्छिन्। उनी आफ्नो कमीले कतै रोकिएकी छैनन्। उनमा हौसलाको दृष्टि सोच्न नसकिने उज्यालो छ।उनी आवश्यक परेको खण्डमा तीनै चस्मा र छडी साथमा काठमाडौंका जस्तै साँघुरो गल्लीमा पनि एक्लै टुप्लुक्कै आइदिन सक्छिन्।
आठ कक्षाको बीचतिर पुगेपछि विस्तारै सृष्टीका आँखाले धुलो र घाम सहन नसक्ने भयो। धुलो र घामका कारण उनको आँखा चिलाइरहन्थे। उनले बानेश्वर जन्मथलो नजिकै लायन्स क्लबमा आँखा जचाउँदा डाक्टरले ‘एलर्जी’ भएको बताए र केही औषधि दिए। अप्रेसन पनि गरे। अप्रेसन गरेपछि दृष्टी घटबढ हुन थाल्यो। आँखाको दृष्टी फेरी फर्केन।
सानैदेखि नाच्ने, बोल्ने, गाउने, लेख्ने स्वभावकी सृष्टी आँखा बन्द हुनुअघि रेडियो नेपालमा बाल कार्यक्रम चलाउँथिन्। रेडियो कार्यक्रम ‘साथीसँग मनका कुरा’ मा नाटक खेल्न पनि भ्याइसकेकी थिइन्। केही सडक नाटक, कथावाचन लगायत सिर्जनात्मक गतिबिधिमा उनको सहभागिता बढ्न थालिसकेको थियो। तर,आँखाको दृष्टि कम हुँदै गएपछि भने हस्पिटल चाहार्ने नियती नै बन्यो।
जीवनमा यो कठिन सफरबाट गुज्रिए पनि सृष्टिले जीवनमा हार मानिनन्। आफ्नो जीवनमा सपना जस्तै गरि आइपरेको विपत्तिको पहाडलाई नाघ्दै अगाडि बढिन्। त्यसैले आज उनी आफूजस्तै दृष्टिविहिनहरुका लागि एउटा 'आइकन' बनेकी छन्। उनले आफूजस्तैका लागि फेसन, नृत्य, हाउभाउको तालिम दिन्छिन् भने जीवनमा समस्यालाई पन्छाउँदै कसरी अगाडी बड्ने भनेर मानिसहरुलाई 'मोटिभेस्नल स्पिच' पनि दिन्छिन्।
आज यो अवस्थामा आइपुगेकी सृष्टिले यहाँसम्म कसरी आइपुगियो भन्ने बिसेकी छैनन्।
अस्पताल जानेआउने सिलसिला चल्दै थियो। एकदिनको फलोअपमा साबिकका आएका डाक्टर थिएनन्। अर्का डाक्टरले मेसिनबाट आँखा जाँचे। जाँच गर्दा डाक्टरले चित खाए। ‘स्टेरोइड’ सम्बन्धि औषधि प्रयोग भइरहेको आँखामा एलर्जीबाट ‘जलबिन्दु’ भइसकेछ। लामो समयसम्म त्यस्तो औषधि प्रयोग नै जलबिन्दुको कारण थियो। ज्योती फर्काइदेलान् कि भनेर विश्वास गरेका डाक्टरले नै उपचारमा उल्टै हेलचेक्र्याईं गरिदिएका रहेछन्।
त्यसदिन नियमित डाक्टरको कमजोरीका बारेमा अर्का डाक्टरले खुलासा गरिदिए र भने,‘तपाईंको आँखामा प्रयोग गरिएको औषधि ठिक थियो तर, लामो समयसम्म प्रयोग गर्नु घातक हो। यदि तपाईंहरु चाहनुहुन्छ भने उहाँलाई मुद्दा हाल्न सक्नुहुन्छ। बरु कागजात म जुटाइदिउँला।’
सृष्टिका बाआमाले पहिलेकै डाक्टरले भनेका कुरा सम्झिए,‘यो औषधिले पुरै ठिक पार्छ भन्ने ग्यारेन्टी दिन म सक्दिन। नब्बे प्रतिशतलाई यसले काम गर्छ। दश प्रतिशतलाई भने काम नगर्न पनि सक्छ।’ उनका बाआमाले ‘हाम्री छोरी दश प्रतिशतमै परि त के गर्नु ?’ भन्ने ठानेर मुद्दा हाल्न चाहेनन्। बरु उनीहरु पहिलाका डाक्टरको कमजोरी पत्ता लगाइदिने अर्का डाक्टरले उपचार गराउने ओम अस्पतालतिर लागे।
ओम अस्पतालमा डाक्टरले राम्रै हेरचाह त गरे तर, आँखाको देख्ने ढकनी भने बिस्तारै बन्द हुँदै गए।
आँखाले धमिलो देख्ने बेला डाक्टरले उनलाई नपढ्नु भनेका थिए तर, उनी लुकीलुकी पढ्थिन्। धमिलोपना बढ्दै गएपछि भने सरले पढाएको रेकर्ड सुनेर उनी होमवर्क भ्याउँथिन्। सुरुसुरुमा भाषा विषयका लागि कापीलाई दोबारेर डोब बनाएर लेख्ने उनले पछिपछि काठमा डोब बनाएर लेख्न थालिन्। गणितको होमवर्क गर्न भने उनलाई समस्या हुन्थ्यो। तीन महिना मात्र पढेको भरमा उनले आठ कक्षाको परिक्षा पास गरिन्। नौ कक्षा पनि यसरी नै चल्यो। आफूभन्दा जुनियर विद्यार्थीको सहायताबाट परिक्षा दिनुपर्ने भएकाले एसएलसीअघिको ‘सेन्टअप’ परिक्षामा गणित विषय लाग्यो। एसएलसीमा भने गणितमा सामान्य अंक सहित सत्तरी प्रतिशत ल्याइन्।
उनलाई सर्ट, पाइन्ट र टाइ लगाएर +२ जान मन थियो। बाहिरफेर हिँड्दा जमिनलाई पानी र पानीलाई जमिन देख्ने समस्या भोगिरहेकी सृष्टीलाई त्यतिबेलासम्म पनि ‘म दृष्टीबिहिन होइन’ भन्ने लाग्थ्यो तर, समाजले ‘अन्धो’ बनाइदिदयो। उनी भन्छिन्,‘दिमागले आँखा देख्छु भनिरहेपनि सबैले ‘तँ देख्न सक्दिनस्, ठूलो विषय पढ्न सक्दिनस् भनेको सुनेपछि भने म साँच्चै देख्न नसक्ने रहेछु भन्ने लाग्यो।’
आँखा नदेख्दा उनलाई कमजोरको भन्नेहरुले नै बोल्ने स्वभावकी सृष्टीलाई वकिल बन्छौ भन्थे। त्यसैले उनको मनले ‘वकिल’ बन्ने सोच्न थालेको थियो।
उनलाई राम्रो कलेज पढेर वकिल बन्ने मन भयो। साथीहरुसँग राम्रो कलेज खोज्न थालिन्। कलेज पुग्दा परिक्षामा आएको प्रतिशत सुन्ने बित्तिकै सञ्चालकहरु छुट र सुबिधाका विभिन्न स्किम सुनाउँथे। तर, उनका समस्या सुन्नेबित्तिकै तर्सिन्थे र भन्थे,‘यो कलेज तपाईंका लागि हुन सक्दैन।’
कलेज खोज्ने सिलसिलाले उनलार्इ डिल्लीबजारको कन्या क्याम्पस पुर्यायो। सर्ट, पाइन्ट र टाइ लगाउने सपनालाई कुर्थासुरुवालले साटिदियो। उनले मानविकी पढिन्।
सुरुसुरुमा कलेज जाँदा उनलाई सहपाठीहरु आँखा नदेख्ने भन्दै हेर्न झुम्मिन्थे। उनलाई चित्त बुझ्दैनथ्यो। ‘कलेजमा मलाई हेर्न यसरी आउँथे कि म संग्रहालयमा राखिएको केही चिज हूँ।’,उनी भन्छिन्,‘मेरो साथी कोही थिएन। न म कसैसँग बोल्थें न अरु नै मसँग बोल्थे।’
विस्तारै उनले बुझ्दै गइन्,‘म जस्तो छु, अरुले पनि मलाई त्यसरी नै स्विकार्ने त हो नि !’ त्यसपछि उनी घुल्दै जान थालिन्। जोक गर्न थालिन्। साथीहरु बढ्दै गए। आँखा नदेखेपनि ध्यान दिने क्षमता बढेकाले उनी मेधावी पनि बन्दै गइन्। साथीहरु उनसँग सिकाई माग्न थाले। तर, उनलाई साथीहरुले पिकनिकजस्ता रमाइलो हुने ठाउँमा नलगेकोमा भने चित्त दुख्थ्यो। तैपनि उनलाई लाग्यो,‘मैले खोजेको कलेज त यही हो। म किन लुगा, भवन खोज्दै हिँडेको रहेछु ?’
सोही कलेजले उनलाई नयाँ ज्ञान दियो। एकदिन मैतिदेवीको एक संगीत विद्यालयमा उनी संगीत सिक्न पुगिन्। त्यहाँ पुग्दा उनीजस्तै दृष्टीबिहीनहरु संगीत सिकिरहेका थिए। उनको मनले सोच्यो,‘मैले अब हिँड्न सिक्नुपर्छ। हो म आँखा देख्दिन। तर, मैले गर्न नसक्ने केही छैन। आाँखा नदेख्नु नै मेरो अर्को आँखा खुल्नु हो।’
प्रमाणपत्र तहमा उनले सत्तरी प्रतिशत ल्याएर कलेज नै टप गरिन्। स्नातक तहमा नेपाली साहित्यमा त्रिवि टप भइन् र अर्जुन स्वर्णपदक पाइन्।
स्नातक अध्ययन गर्दैगर्दा उनमा कला भावना तिखारिँदै गएको थियो। सानो छँदा कथा लेख्ने उनले लामो लेख्न झन्झटिलो हुने भएर कविता लेख्न थालेकी थिइन्। हाल गजल पनि तीन दर्जनभन्दा बढी लेखीसकेकी छिन्। अहिले नै गजल प्रकाशित गरिहाल्ने मुडमा भने उनी छैनन्।
साहित्य उनको व्यक्तिगत रुचिको मात्र भएकाले आफूजस्तै दृष्टीबिहिनहरुको जीवनस्तर उकास्नमा उनले केही आइडियाहरु जन्माउन थालिन्। आफूले भोगेका समस्यालाई बहसको विषय मात्र होइन कामको विषय बनाउनुपर्छ भन्ने ठानेर दृष्टीबिहिनहरुलाई संगठित गरेर ‘ब्लाइण्ड रक्स’ नामक संस्था खोलिन्।
ब्लाइण्ड रक्सको अभियानलाई मुर्त रुप दिन उनले आफ्नै व्यक्तित्वमा निखारता ल्याउनुपर्ने सोचिन्। ठाउँ ठाउँमा गएर तालिमहरुमा भाग लिइन्। सोहीक्रममा उनी दक्षिण भारतको केरलामा सात महिनाको क्षमता अभिवृद्धी तालिममा भाग लिन एक्लै पुगिन्। त्यहाँ उनले नृत्य, गायन, अभिनय लगायत प्रतिभा देखाएपछि तालिम दिने संस्थाले एक वर्षका लागि काम पनि दिए।
केरलाबाट तालिम सकेर उनी नेपाल फर्किइन्। ब्लाइण्ड रक्सबाट दृष्टीबिहिनहरुलाई एडभान्स तालिम दिने सोचले सुरुमा हाउभाउ सिकाइन्। उनले भनिन्,‘दृष्टीबिहिनहरुमा सबैभन्दा ठूलो समस्या भनेकै हामी आँखा देख्दैनौ त्यसैले केही गर्न सक्दैनौ भन्ने छ। उहाँहरु कुरा गर्दा पनि ‘आइ कन्ट्याक्ट’ गरेर कुरा गर्नुहुन्न। हाउभाउमा मिलाएर बोल्नुहुन्न। त्यसैले मैले उहाँहरुलाई सुरुमा कुरा गर्दा आममानिस सरह बोल्ने, खाने लगायतका व्यक्तित्व विकासका कुराहरु सिकाउँछु।’
गाडीमा गीत बज्यो कि नाचिहाल्ने स्वभावकी सृष्टी नाच्न पनि जान्दछिन्। सानोमा टिभी हेरेर नाचेको कल्पनामा उनले कोठामा गीत बजाएर आफैं नाच्न सिकेकी हुन्। सोही नृत्यप्रस्तुति उनले नर्वे, फ्रान्स लगायत चार देशमा देखाइसकेकी छिन्। देशविदेश घुम्दा सिकेको कुरालाई समेत प्रयोग गरेर उनले ब्लाइण्ड रक्समा सामान्य खाले नृत्य सिकाउँछिन्।
सुरुसुरुमा खुल्न पनि हिचकिचाउने दृष्टीबिहिनहरु उनकोमा आएपछि खुल्न सकेका छन् भन्ने उनलाई लाग्छ। नाच्न लजाउनेहरु पनि ‘ओइ हिजो मैले पार्टीमा नाचेको नि !’ भन्न थालेका छन्।
नृत्य सिकाएर मात्र उनलाई पुगेन। सपिङ गर्न जाँदा पसलेले दृष्टीबिहिन भनेर सामान्य कपडा दिने गरेकाले उनलाई लाग्यो,‘के हामी आँखा नदेख्दैमा नराम्रै बनेर हिँड्नुपर्छ भन्ने छ ?’ उनले सरकारलाई आवाज उठाउनु आवश्यक नठानी केही साथीहरु भेला गराएर फेसनको कक्षा सुरु गरिन्। जसमा कुन ठाउँ जाँदा कस्तो लगाउने, कस्तो रंगको लगाउने, कुन मौसममा कस्तो रंग प्रयोग गर्ने ? लगायतका कुराहरु पर्थे। आफूलाई थाहा नभएको कुरा उनी फेसन बुझेका मानिसलाई ल्याएर कक्षामा भन्न लगाउँथिन्।
फेसनसँगै उनी अभिनय पनि सिकाउँछिन्।
समाजमा बारम्बार दृष्टीबिहिन भनेका अशक्त हुन् , उनीहरुलाई सरकारले हेर्नुपर्छ भन्ने सुनिरहेका सृष्टीका साथीहरु अहिले ढुक्क छन्। उनी तिनै साथीहरुलाई लिएर नेपालमा पहिलोपटक दृष्टीबिहिन फेसन सो गराउने सोचमा छिन्।
कोठाभित्र गर्न सकिने काम सकेर उनी बाहिरी वातावरणका काममा पनि सरिक भइन्। दृष्टीबिहिन साथीहरुलाई जम्मा पारेर र्याफ्टिङ गइन्। अब हाइकिङ र प्याराग्लाइडिङ पनि जाने सोच छ। मिलेसम्म अन्य जोखिम मानिने मनोरञ्जनको मज्जा लिन पनि उनलाई मन छ।
मनोरञ्जनका लागि उनी हलमै गएर फिल्म पनि हेर्छिन्। उनी भन्छिन्,‘अंग्रेजीमा संवाद कम, दृष्यभाषा बढी हुने भएकाले हेर्न अलि समस्या हुन्छ। नेपाली र हिन्दी हेर्न ग्याङ कसेर जान्छौं। अरु हामीलाई हेर्याहेर्यै गर्छन्। हामी फिल्म।’
फेसन, नृत्य, अभिनयसँगसँगै उनको मुख्य परिचय हो,‘मोटिभेसन स्पिच’। कलेज, विद्यालय लगायत अन्य कार्यक्रममा उनलाई उत्प्रेरणा दिन बोलाउनेहरु बढेका छन्। मिठो बोली, उत्कृष्ट शब्द चयन, स्पष्ट र सकारात्मक विचार, कसैलाई दोष नदिने स्वभाव, टड्कारो भाषणले गर्दा उनी परिचित छिन्। उनी स्पिचमा दृष्टिबिहिनको अधिकारको कुरा मात्र गर्दिनन्। समसामयिक विषय पनि उनका भाषणमा उठ्ने बहसका विषय हुन्।
उनी अन्य दृष्टिविहिनलाई पनि आफ्ना मुद्दाका बारेमा मात्र नबोल्न सुझाव दिन्छिन्। उनी भन्छिन्,‘पहिला हामी देशका नागरिक हौं। त्यसपछि मात्र दृष्टीबिहिन। त्यसैले नागरिक हुनुको दायित्व निभाउनुपर्छ अनि दृष्टिविहिनका लागि पाउने अधिकारका लागि बोल्नुपर्छ। तर, काम भने आफैं गर्नुपर्छ।’
उनका यस्तै विचारले गर्दा उनीमाथि फिल्म नै बन्ने भएको छ। मिलन चाम्सले फिल्मलाई निर्देशन गर्ने कु्रा भएको उनले खुलाइन्। चौबिस वर्षसम्म उनले भोगका कथालाई सिनेमा बनाउनका लागि स्क्रिप्ट पनि तयार भइसकेको उनले बताइन्।
नेपाली फिल्मका केही कुरामा असहमत हुँदै उनले भनिन्,‘म नेपाली फिल्ममा परिवर्तन आउनुपर्छ भन्छु। फिल्ममा दृष्टीबिहिनहरुलाई जहिल्यै पनि गरिब लगायत अशक्त चरित्रमा देखाइन्छ। फिल्मले दृष्टीबिहिनहरु सबै यस्ता हुँदैनन् र उनीहरुमा पनि शक्ति हुनुपर्छ भन्ने देखाइनुपर्छ। ममाथि बन्ने भनिएको फिल्म मिलन चाम्सले मैले प्रज्ञा प्रतिष्ठानमा केही समयअघि बोलेको अठार मिनेटको भाषण हेरेपछि उहाँहरुले फिल्म बनाउने सोच्नुभएको रहेछ। अशिष्मा नकर्मीले मेरो भुमिका निभाउँदै हुनुहुन्छ।’
अब उनी चाँडै ‘डान्स एण्ड एक्टिङ’ पढ्न युरोप जाँदैछिन्। दुई वर्षको कोर्सका लागि उनले बेलायत, नर्वे लगायत चार देशमा अभिनय र नृत्य पढ्दैछिन्। संयोगले सो कोर्सका लागि छानिएकी उनी पहिलो नेपाली दृष्टिविहिन हुन् भने सो विश्वविद्यालयमा भएका विद्यार्थीमध्ये एकमात्र दृष्टिविहिन पनि।
सो कोर्स सकेपछि उनलाई आफ्नो केही सपना पुरा हुनेछ। त्यसपछि उनलाई नेपालमा आएर ‘डान्स एण्ड एक्टिङ’ स्कुल नै खोल्न मन छ। त्यसका लागि उनले अहिलेदेखि नै तयारी थालिसकेको बताउँछिन्।
जीवनको लक्ष्य पुरा गर्न उनी यतिले मात्र नपुग्ने बताउँछिन्। उनलाई जीवनका बारेमा उपन्यास लेखेर प्रकाशित गर्न मन छ। सर्ट फिल्महरु बनाउन मन छ।