के तपाईं मोटरसाइकल चलाउनुहुन्छ? हरेक दिनको कामकाजमा जहाँ ग्ाए पनि मोटरसाइकलकै सहारा लिनुहुन्छ कि? आफ्नो सवारी हाँक्नुअघि के तपाईंले आफ्नो हेल्मेटको फित्ता वा तुना बाँध्नुभएको छ?
होस गर्नुहोला है, सबै मोटरसाइकल चालक मित्रहरू, हतार भयो भन्दैमा हेल्मेटको फित्ता बाँध्न नर्बिसनु होला। काठमाडौंको सवारी चापमा दैनिक आइरहने दुर्घटनाको खबर चाहिँ नबनौं है!
काठमाडौं उपत्यकाको सडकमा दौडिने सवारी साधनमध्ये सबैभन्दा ठूलो भाग मोटरसाइकलहरूले ओगट्छ। तुलनात्मक रूपमा किशोर/किशोरीले मोटरसाइकलको प्रयोग बढी गर्छन्। किशोरावस्थामा ट्राफिक नियमप्रति सचेतना कमी र नियम पालनाप्रति उदासीनताका कारण सडक दुर्घटना बढ्नुका साथै मोटरसाइकल चालकहरूको लापरबाहीका कारण सडकमा गुड्ने अन्य सवारी साधनलाई बाधा पुगेको गुनासोसमेत आउने गरेको छ।
सडक अनुशासनहीनता नियन्त्रण गरी सम्पूर्ण सडक प्रयोगकर्तालाई सुरक्षाको अनुभूति दिलाउन साथै मोटरसाइकल चालकहरूलाई विभिन्न माध्यमबाट ट्राफिक नियमको ज्ञान दिलाउन र सम्भावित दुर्घटना रोकथाम गर्न ट्राफिक कार्यालयबाट बेलाबेला नयाँनयाँ उपाय आइ नै रहन्छन्।
ट्राफिक प्रहरीले अहिले यससम्बन्धी जनचेतनामूलक कार्यक्रम ल्याएको छ। मोटरसाइकल चालकले जानिजानी होस् या हतारमा यदि आफ्नो हेल्मेटको फित्ता कस्न बिर्सेका छन् र यदि उनीहरू बाटोमा भेटिए त्यस्तै अर्को ट्राफिक नियम उल्लंघन गर्ने व्यक्ति नभेटेसम्म ट्राफिक पुलिसको ज्याकेट लगाएर ट्राफिक बन्नुपर्छ। 'यसबाट सबै मोटरसाइकल चालकलाई चेतना आउने र कतै हतारमै जानु पर्ने भए पनि आफू ट्राफिक बनेर बस्नुपर्ने कारणले चालकहरूले हेल्मेटको फित्ता बाँधेर ै हिँड्लान भन्ने आशा गरेका छौं,' ट्राफिक प्रहरीकी सई सतिकुमारी घिसिङ भन्छिन्।
दैनिक दुई घन्टा बाह्र बजेदेखि दुई बजेसम्म थापाथली र सिंहदरबारमा यो कार्यक्रम विगत एक महिनादेखि भइरहेको छ। दैनिक १ सय ५० भन्दा माथि नै कारबाहीमा परिरहेका छन्, या भनौं, पाँच मिनेटका लागि ट्राफिक प्रहरी बन्न बाध्य भइरहेका छन्।
'यो एकदम राम्रो कुरा हो, हामी हतारमा लापरबाही गर्छौं,' भन्छन् पाँच मिनेटका लागि ट्राफिक प्रहरी बनेका पौरख रिमाल।
कहिले नाचेर जनचेतना जगाउन लागिपर्ने ट्राफिक प्रहरीहरू हेल्मेटको फित्ता बाँध्ने कार्यक्रमले मोटरसाइकल चालकमा चेतना आउनेमा आशावादी छन्।
विचार गर्नुस् है, कतै अर्को ट्राफिक प्रहरी तपाईंले त बन्नु पर्दैन ?