झारफुक गर्ने नाममा नवलपरासीको कुडियामा एक बालकको हत्या भएको छ। कुडिया गाविस वडा नं. ४ मा झारफुकको काम गर्दै आएका रुद्धल चमारले बली चढाउने भन्दै स्थानीय १० वर्षिय बालकको हत्या गरेको प्रहरीले जनाएको छ।
ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरिक्षक जगतबन्धु पोखरेलले स्थानीय शिवमंगल कोहारका १० वर्षिय छोरा जीवन कोहारलाई बली चढाउन भन्दै हत्या गरेको सेतोपाटीलाई बताए।
पोखरेलका अनुसार छिमेकी सुकई चमारका विरामी रहेका छोराको रुद्धलले झारफुक गर्दै आएका थिए। झारफुकका क्रममा सुकईका छोराले मान्छेको मासु खान मन लाग्यो भन्दै बर्बराउन थालेपछि रुद्धलले बालकको हत्या गरेको प्रहरीले जनाएको।
बिहीबार साँझ ५ बजेदेखि बालक जीवन हराएपछि परिवार, आफन्त तथा गाउँलेले खोजी गरेपनि नभेटेपछि प्रहरीमा खबर गरेका थिए। खोजतलासको क्रममा बालकको शव घर नजिकै रहेको झाडीमा घाँटी रेटेर फालेको अवस्थामा फेला परेको प्रहरी निरीक्षक पोखरलेले बताए।
पोखरेलले घटनामा संलग्न धामी रुद्धल सहित आठ जनालाई पक्राउ गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको बताए। बालकको हत्यामा संलग्न एकजना फरार रहेकाले उसको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।