शिक्षिकाको किताबले हिर्काउँदा आँखामा चोट लागेका बाँके हिरमिनियाका विद्यार्थी अजय धोबीको बायाँ आँखाको ज्योति सधैंलाई गुमेको छ । आँखाको ज्योति गुमेको जनाउँदै काठमाडौंस्थित तिलगंगा आँखा अस्पतालले अजयलाई डिस्चार्ज गरेको छ ।
अस्पतालबाट डिस्चार्ज भएपछि अजय बुबा मैकुलालसँग आजै घर फर्कंदै छन् ।
हिरमिनियास्थि विद्यालयमा असार ९ गते गृहकार्य दिने क्रममा शिक्षिकाले किताबले हान्दा अजयको आँखामा चोट लागेको थियो ।
नेपालगन्जको फत्तेबाल आँखा अस्पताल र काठमाडौंस्थित तिलगंगा आँखा अस्पतालमा अजयको उपचार भएको थियो । असार २० गतेदेखि अजयको उपचार काठमाडौंको तिलगंगा आँखा अस्पतालमा भइरहेको थियो ।
चिकित्सकहरुले पटकपटक प्रयास गरे पनि छोराको आँखाको ज्योति नफर्केपछि मैकुलाल निरास भएर घर फर्किदै छन् ।
‘डाक्टर साब्ले तीन महिनापछि फेरि छोरालाई ल्याएर अस्तालमा आउनू भनेका छन् । छोराको आँखा अब सन्चो हुने सम्भावना छैन,’ मैकुलालले भने । छोराको आँखाको ज्योति फर्कने सम्भावना नभए पछि मैकुलाल र उनको परिवारमा पीडा थपिएको छ ।
अजयको उपचारमा भेरी जोन स्कुल र सिबिन बाल हेल्प लाइन र अस्पतालले सहयोग गरेका थिए ।
अजयको आँखामा चोट लागेपछि तनावमा परेको अजयको परिवार यति बेला थप आर्थिक संकटमा परेको छ । उनको परिवारले तरकारी बेचेर गुजारा चलाउँदै आएको थियो ।
शिक्षिकाको कुटाइबाट अजयको आँखामा चोट लागेपछि प्याब्सन र एन–प्याब्सन बाँकेले उपचारका लागि आर्थिक सहयोग गर्ने घोषणा गरेका थिए । घटना भएको दुई महिना पुग्न लागे पनि प्याब्सन र एन–प्याबसन बाँकेले आफंैले घोषणा गरेको रकमसमेत नदिएको गुनासो अजयका अभिभावकहरूको छ ।
असार २२ गते प्याब्सन र एन–प्याबसन बाँकेले नेपालगन्जमा पत्रकार सम्मेलन गरी अजयको उपचारका लागि २० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेका गरेका थिए ।
आँखाको ज्योति गुम्ने गरी विद्यार्थीलाई कुटपिट गर्ने बाँके हिरमिनियास्थित भेरी जोन इङ्लिस मिडियम स्कुलकी शिक्षिका आराधना रानालाई बाँके प्रहरीले असार २० गते पक्राउ गरेको थियो ।
बाँके प्रहरीले शिक्षिका रानाउपर अंगभंग मुद्दा लगाई २५ दिन सम्म हिरासतमा राखेर अनुसन्धान गरेको थियो ।
अस्पतालले उपचारपछि अजयको आँखा ठिक हुने÷नहुने यकिन नहुँदासम्मका लागि शिक्षिका रानालाई जिल्ला सरकारी वकिलको कार्यालयले साउनको १४ गते जमानीमा छाडेको थियो ।