ललितपुर प्रहरीले बिहीबार बिहान ११ बजे एकान्तकुनास्थित यातायत कार्यालय र ताल्छिखेलमा रहेको कार्यालयमा एकै साथ छापा मार्याे ।
ती कार्यालयमा ठगी गर्नेहरुको विगविगी बढेको भन्दै ती स्थानहरुमा छापा मारिएको ललितपुर प्रहरीका प्रहरी निरीक्षक कवित कटवालले जानकारी दिए ।
प्रहरीले एकान्तकुनाबाट २१ र ताल्छिखेलबाट २० जना पक्राउ गरेको छ । उनीहरुलाई ललितपुर परिसरमा ल्याएर प्रहरीले छानविन गरिरहेको छ।पक्राउ परेकाहरुले आफूहरुलाई मात्र नभएर भित्रका कर्मचारीलाई पनि पक्राउ गर्न माग गरेका छन् ।
दुई चार कमाउनका लागि दिनभर दुख गरेर बस्नेलाई मात्र प्रहरीले समातेको भन्दै भित्र सेटिङ मिलाउने कर्मचारीलाई पनि पक्राउ गर्न उनीहरुले माग गरे ।
प्रहरीले जर्वजस्ती गाडीमा कोच्ने क्रममा उनीहरुले आफूहरुलाई कमाई खान नदिएको भन्दै आक्रोश पोखे ।
यातायत कार्यलयमा बाहिर सेवाग्राहीलाई सहज होस भनेर आफूहरुले काम गरेको र काम गरे वापत सेवाग्राहीले नै आफूहरुलाई दुई चार सय बढीदिने गरेको सागार श्रेष्ठले बताए ।
उनले भने 'हाम्रा साथीहरुमात्र होइन समाउने भए भित्र कामकाज मिलाएर रकम असुल्ने कर्मचारीलाई पनि पक्राउ गर्नुपर्छ ।' लाइसेन्स नविकरण, सवारी सधान पास, ब्लु बुक नविकरण लगायतका काम छिट्दै गरिदिने भन्दैत्यहाँ रहेका एजेन्टहरुले सेवाग्राहीबाट रकम असुल्दै आएका छन् ।
ती क्षेत्रमा ६ सय भन्दा बढी एजेन्टहरु छन् । एजेन्टहरुले सेवाग्राहीबाट लिएको रकमको ३५ प्रतिशत रकम यातायत कार्यालयका कर्मचारीलाई बुझाउने गरेको बताएका छन् ।
नाम नबताउने सर्तमा एक एजेन्टले सेतोपाटीसँग भने, 'हामीले मात्र चाहेर काम हुन्न, भित्रका कर्मचारीहरुको पनि चित्त बुझाउनुपर्छ, त्यसैले सेवाग्राहीसँग केही रकम अल्लि बढी नै लिएका हौं ।'यातायत कार्यालय र कर्मचारीहरुको मिलेमतोमा १० हजार रुपैयाँ नक्कली लाइसेन्स समेत बन्ने गरेको उनले सुनाए ।
कर्मचारीको मिलेमतोमा लाइसेन्स भित्र टाँस्ने होलोग्राम पनि नक्कली लाइसेन्समा सक्कली नै टाँस्ने गरेको समेत यसअघि भेटिएको थियो । एजेन्ट र कर्मचारीकै मिलेमतोमा सेवाग्राहीबाट रकम अअसुल्दै आएपछि यातायत कार्यालय वर्षौदेखि बदनाम समेत बनेको छ ।