पर्यटनबोर्डको आँगनमा 'चेक ह्याट' सहित हल्का निलो कमिजमा जिन्सप्यान्ट लगाएर उनी उभिएका थिए।
‘अमर न्यौपानेले अचेल ह्याट लगाउन थालेछन्।’ मैले सोचेँ।
नयाँ उपन्यास करोडौँ कस्तुरीको विमोचन समारोहमा उनी पहिलो पटक ह्याट लगाएर देखा परेका थिए।
अहिले त उनी आफ्नो भेष जस्तो चाह्यो बनाउन सक्छन्। तर ह्याट लगाउनु, कपाल पाल्नु, कस्तो लुगा लगाउनु भन्ने कुराले धेरै अर्थ कहाँ राख्छ र अब?
उनलाई बाल्यकालको झलझली याद आउँछ, जुनबेला रहरहरु असाध्य हुन्थे। त्यो बेला यसरी ह्याटले कपाल छोपेर हैन कपालले टाउको र कान छोपेर हिँड्ने रहर उखरमाउलो थियो उनलाई। कपाल पाल्ने र हिरो बनेर हिँड्ने रहर बन्दकी राखेर उनी हुर्किए। आफ्नो कपालमा समेत आफ्नो मर्जि थिएन। शिक्षक बुवाको कडा अनुसासनको सेपमा परेको उनको मनले मसिनो कापलमा नै सम्झौता गर्यो। उनी आफ्ना शिक्षकले जस्तो सपक्क पारेर कपाल कोर्न थाले।
पछि पो उनलाई थाहा भयो, आफ्ना सरको कपाल जस्तै त वलिउडका स्टार सुनिल दत्तको पनि छ।
त्यसपछि सरनै उनका हिरो भए।
अव त उनी लक्का जवान भैसके, निस्फिक्री भएर जे चाह्यो त्यही गर्न सक्ने भए। तर अब रहरहरु पनि त बदलिए।
अहिले उनलाई मान्छे र कस्तुरीको फरक छुट्याउने रहर छ। तब न ‘जिवन आफ्नो मर्जिले चलाउनु’ भनेर अरुलाई सिकाउँदै हिँड्न थालेका छन्।
पानीको घाम, सेतो धरती र करोडौँ कस्तुरी-- तीनवटा उपन्यास लेखिसकेका छन् अमरले। सेतो धरतीले त मदन पुरस्कार पनि पाइसक्यो। जिवन र जगतका गहिरा विषयलाई अनौठा पात्रमार्फत पस्कन्छन् उनी। त्यसैले नाम चलेको साहित्यकारमा दरिइसके।
***
आधा घण्टा ढिलो आएकोमा डराउँदै म टाढैबाट हाँसे। उनको अनुहार शान्त थियो।
ठिकै पो भयो रे ढिलो आएको।
‘यतिबेर मैले एउटा एफएमलाई अन्तरवार्ता दिएर सकेँ,’ उनले भने।
त्यसो त उनी असनको भीडमा दिनभरि उभिएर कसैलाई कुर्न पनि झिजो मान्दैनन् रे!
त्यहाँ हजारौँ मान्छे ओहोर दोहोर गरिरहन्छन्। उनीहरु अनुहारमा कति कति भावनाहरु छापेर हिँडेका हुन्छन्। शरिरको भाषा र हिँडाइको गति शब्द र संगीत जस्तै लाग्छ। किताब भन्दा मान्छे पढ्न मजा हुन्छ रे उनलाई।
‘हरेक मान्छे एउटा किताब भन्दा ज्यादा हुन्छ,’ लेखक न परे, कति सजिलै भनिदिन सक्छन् गहिरा गहिरा कुरा।
पर्यटनबोर्डमा बसेर कुरा गर्ने ठाउँ थिएन। हामी पुतलिसडकतिर लाग्यौँ।
बाटोमा उनले विद्यार्थीहरुलाई लेक्चर दिएर आएको सुनाए। उनी धुलिखेल पुगेर आएका थिए। मेगा कलेजका विद्यार्थीहरुलाई ‘आफ्नो नाभिमा भएको विना’ चिन्न उत्प्रेरित गरेर।
उनले त्यहाँ भने रे, ‘तिमीहरु पनि करोडौँ कस्तुरी मध्ये एक हौ, प्रत्येक मान्छे भित्र कस्तुरीको विनामा जस्तो सुगन्ध हुन्छ र त्यसलाई चिन्ने क्षमता पनि हुन्छ।’
आफ्नो नाभिको विना थाहा पाएर लेखक बनेका अमर कुनै बेला शिक्षक थिए। धुलिखेलमा शिक्षकहरुकै अघि विद्यार्थीहरुलाई भनिदिएछन्— शिक्षकले देखाएको बाटो कहिलै नहिँड्नु। आफैले देखेको बाटो हिँड्नु।
शिक्षक हुने बेलातिरैबाट उनलाई शिक्षकले सिकाउने तरिका प्रति मनमनै विद्रोह जागेको थियो।
उनी २१ वर्षजतिका थिए। व्यवस्थापनमा स्नातक तहका विद्यार्थी। चितवनको पार्वतीपुर आफ्नै गाउँको बोर्डिङमा पढाउने जागीर पाए।
सम्झेर अहिले भन्छन् — पढाउन थालेपछि मैले विद्यार्थीबाट धेरै सिँके। कस्तो कस्तो कुरा थाहै नपाई उनीहरुले मलाई सिकाए।
उनी ज्यादा भावुक थिए, अझैपनि छन्। झोला भरि आफ्नो तौलभन्दा धेरै किताब,त्यसममाथि खाजा र तुमलेट बोकेर स्कुल आउनेजाने विद्यार्थी देख्दा उनको मन भरिन्थ्यो।
पढ्न मन नलाग्ने विद्यार्थीलाई शिक्षकले मन लागेको गाली गर्थे। विद्यार्थीको सानो गल्तिमा पनि उनीहरु कति सजिलै गरुङ्गा र भद्दा गालिहरु भनिदिन्थे, ‘कुकुर, गधा तैले गरेर खाँदैनस बेवकुफ!’
‘त्यहाँ माथि कुट्थे, विद्यार्थीको कलिलो मनमा के गुज्रीन्छ होला?’ अमरको चित्त पनि फाट्थ्यो।
तर एकदिन ४ कक्षामा उनले पनि एउटा विद्यार्थीलाई गाली गरेछन्, ‘मोरा गोरु!’
गाली नभ्याउँदै उनको मनमा डरले ढ्याङ्ग्रो बजाएछ रे ‘यस्तो मैले के भनेँ’ भनेर।
गाली खाने विद्यार्थीले सोधेछन्: सर कस्तो गोरु म ?
उनको अनुहार पछुतो र डरले निलो भएको थियो तर विद्यार्थीको अनुहार उज्यालो।
‘उसको अनुहार गाली खाएजस्तै थिएन, त्यो त धेरै 'सफ्ट' गाली पो परेछ,’ पुतलिसडकको एउटा क्याफेमा आफुले पढाएको त्यो कक्षाका विद्यार्थी संझेर उनी हाँसे।
त्यसपछि कक्षा भरि ‘म कस्तो गोरु र उ कस्तो गोरु’ भन्ने हान्थाप चल्यो रे।
‘कहिलेकाँही म रिसाईहालेँ भने उनीहरुले सिधै भन्न सक्थे सर रिसाएको सुहाएन ।’
एक दिन उनी कक्षा बाहिर निस्कीँदा चौरमा देखे, एकजना शिक्षकले विद्यार्थीहरुलाई लस्करै ‘कुखुरा’ बनाएर सजायँ दिदै थिए।
स्कुल छुट्टी भयो। घर फर्किँदा विद्यार्थी पछिपछि थिए अमर।
बाटोमा अघि कुखुरा बनेको विद्यार्थीले साथिहरुसंग भन्दै थियो ‘हामी स्कुलमा मान्छे हुन आउँछम सरले हामीलाई कुखुरा बनाउँछन्।’
अमरले सुने। विद्यार्थीहरु पनि त बुझ्छन् नि। उनिहरुको पनि सोच्ने, ठम्याउने दिमाग हुन्छ, शिक्षक भएपछी हामीहरु भने केही नबुझ्ने भैसक्छौँ जस्तो लागेछ उनलाई।
दशकक्षामा पढ्ने एकजना विद्यार्थीलाई कपाल पाल्ने मन थियो। त्यसैले लामोलामो हुँदा सम्म उसले कपाल काटेको थिएन। एकदिन प्रिन्सिपलले अफिसमा लगेर जबरजस्ती काटिदिए।
उसले घर फर्किँदा साथिसंग भनेछ —हाम्रो स्कुलका सरहरु यस्ता छन्, आइन्सटाइनले कपाल पालेको देख्दैनन हामीले पालेको देख्छन्। यो स्कुल मात्रै छोडुँ न म यति कपाल पालेर आउँछु र प्रिन्सिपललाई सर नमस्ते भन्छु।
यसरी विद्यार्थीका कुरा धेरै सुन्थे । पछिपछि त क्लासमा ‘प्रोजेक्ट वर्क’ नै आफ्ना रहर, अनुभव जे मन लाग्छ त्यहि लेख्न दिन्थे अमर। विद्यार्थीहरु आफ्ना प्रेम प्रसंग समेत लेखेर दिन्थे उनलाई। ती ‘प्रोजेक्टवर्क’मा अमरले शिक्षाको अवस्था,समाजको गति र मान्छेको कथा देख्थे।
काठमाडौँ आएर पनि उनले पढाए, चारपाँचवर्ष जति। यहाँ पनि उसरी नै प्रोजेक्ट लेख्न लगाउँथे।
एकदिन एउटी विद्यार्थीले लेखेको पढेर उनी भित्रै देखि हल्लिए— सर, मेरो घरको बाथरुम, किचन, कोठामा मलाई कहिले मामाले कहिले दाईले जथाभावी छुन्छन् मलाई मनै पर्दैन। जबजब म ती ठाउँमा जान्छु मलाई उनीहरुले छोएको याद हुन्छ, र घिन लाग्छ। अहिले मेरो प्रेमी छ, एकदिन उ रक्सी खाएर मेरो घर आयो। मेरो कोठामा आएर वोमिट ग¥यो तर उसले मलाई छुँदा पनि छोएन। उसले छोएको भने मलाई असाध्यै मन पर्छ।’
विद्यार्थीले प्रोजेक्ट वर्कमा लेख्ने अनुभवहरु गाउँ र शहरमा फरक छन्। उनलाई लाग्छ शहरका भन्दा गाउँका विद्यार्थी तगडा हुन्छन्। उनीहरुले देखेका र भोगेका हुन्छन्। सहरमा विद्यार्थीले देखेका र पढेका मात्रै हुन्छन्।
‘किताब पढ्नु र जीवन भोग्नुमा धेरै अन्तर हुन्छ नि हैन र?’ उनले भने।
धुलिखेलमा मेगा कलेजका विद्यार्थीहरुलाई अमरले लेक्चर दिँदा भने —विश्वविद्यालयबाट बाहिर निस्केर हेर। बाहिरको आकाश खुला हुन्छ। विश्वविद्यालयमा बत्तीको उज्यालो हुन्छ बाहिर सिंगो सूर्य हुन्छ। समाजशास्त्र पढ्नेहरुले किताबका सिद्धान्त मात्रै हैन, खुला आँखाले मान्छे पढ्नु र समाज हेर्नु।
विद्यार्थीहरुलाई देखेर उनलाई आफ्नो बाल्यकाल याद आउँथ्यो। सरकारी स्कुलका उनी अनुसासित विद्यार्थी थिए। स्कुलबाट कहिलै भागेनन्। उनी ‘व्याकबेन्चर' थिए रे, असाध्यै लाजालु पनि। र कहिलै प्रश्न सोधेनन्।
सरहरुले प्रत्येकको होमवर्क हेर्न भ्याउँदैनथे।तर विद्यार्थीहरुले आफुले गरेको होमवर्क आफ्नो अगाडी राख्नै पर्थ्यो। शिक्षकहरु घुम्दै आउँथे होमवर्क नगरेको भए थाहा पाइहाल्थे। होमवर्क गर्ने विद्यार्थीहरुले सर मलाई ‘ठूलो राइट लगाई दिनुस,’ है भन्थे। हौसला भन्नु नै त्यही ‘ठूलो राइट’ हुन्थ्यो।
उनको स्कुलका ‘हेडसर’ निकै कडा स्वभावका थिए। एउटा सिर्कानो बोकेर घुम्थे। जब कोही विद्यार्थी झगडा गरेर वा गुनासो लिएर उनीसामु पुग्थे, पहिले उनीहरुलाई त्यही सिर्कानोले हिर्काउँथे अनि बल्ल सोध्थे — के भन्नु छ भन्।
विद्यार्थीहरु सिर्कानोको पिडाले बोल्नै सक्दैनथे। अमरले पनि एक दुईपटक उनको सिर्कानो पाएका थिए।
अहिले ती शिक्षक पात्र बनेर करोडौं कस्तुरीमा आइपुगेका छन्।
उनी पाँचकक्षामा पढ्दा देखि नै कविता लेख्थे। १० कक्षा पढ्दाताका त उनले उपन्यास नै लेखेका थिए, तर यो कुरा उनका शिक्षकहरुले कहिलै थाहा पाएनन्। स्कुलमा पढाई मात्रै हुन्थ्यो। किताबमा जे छ त्यही पढाउँथे सरहरु। कोहि शिक्षक किताब नहेरी किताबकै कुरा पढाउँथे, विद्यार्थीहरु ठान्थे यो सर जस्तो ट्यालेण्ट त कोहि छैन।
किताब घोक्दा घोक्दा शिक्षकहरु सुगा भएका थिए, विद्यार्थी पनि सुगा!
उनी पढ्न पनि सानै देखि अब्बल थिए। पहिलो नम्बरमा आउँथे। तर बुवाको प्रसंसा भने उनले कहिलै पाएनन्।
उनी एसएलसीमा पनि पहिलो श्रेणीमा पास भए। गाउँ नै रमाएको थियो उनले ‘फस्ट डिभिजन’ ल्याएको देखेर। गाउँले आएर बुवालाई भन्थे,‘तिम्रो छोराले गाउँकै इज्जत धान्यो,’
‘सबै विषयमा राम्रो नम्बर ल्याए पो, एउटामा ४३ आको छ,’ सबभन्दा थोरै अंक देखाएर जब बुवाले उनीहरुलाई फर्काउँथे,अमरको मन अमिलो हुन्थ्यो।
बुवा भित्रभित्र मख्ख परेको उनले कहाँ बुझ्थे र?
बुवासंग डर लागे पनि अमरले उनकै सिरानीबाट चोरेर उपन्यास पढ्थे। यसरी उपन्यास पढेको थाहा पाए बुवाले मार्कसिट देखाएर गाली गर्लान भन्ने कम्ता पीर हुँदैनथ्यो।
अमरलाई स्कुलका भन्दा बुवाको सिरानी मुनिका किताबमा मन बस्यो।
एसएलसी पछि नागरिकता बनाउन अमर बुवासंगै भरतपुर गए। आफ्नो पालो नआउन्जेल झ्यालबाट उनले त्यहाँको हाकीमलाई हेरिरहे। ती सिडिओ रहेछन्। उनको पालोमा एसएलसीको प्रमाण पत्र हेरेर सिडिओले बुवाकै अघि उनको प्रसंसा गरे, ‘ओहो तिमीले त फस्ट डिभिजन ल्याएछौँ खुब राम्रो विद्यार्थी पो रैछौ अब के पढ्ने हो साइन्स?’
यसपाली भने अमरका बुवाले केही भनेनन्, शायद उनी पनि फुर्किए अमर झैँ।
नागरिकता बोकेर बाहिर निसकने वित्तीकै अमरले सोधे— बुवा सिडिओ हुन के पढ्नु पर्छ?
खासमा अमरलाई सिडिओको केही काम हुने रहेनछ,भन्ने लागेको थियो। उनले झ्यालबाट हेरुन्जेल सिडिओले टेबलमा अरु कर्मचारिले ल्याएका फाइलमा साइन गर्ने बाहेक कुनै काम गरेनन्।
अमरलाई लाग्यो ‘यत्रो फुर्सद भएको भए त म किताब पढ्थेँ।’
***
काठमाडौँ आएपछि उनी एनआरएनहरुका नेताहरुको संगतमा परे। उनीहरुको विजनेस देखे। सिर्जना देखे। अमरले के थाहा पाए भने, जो विजनेस गर्थे उनीहरुले विजनेस पढेका थिएनन्,यो काम उनीहरुको तनमन र धन सबै थियो। त्यसैले त 'विजनेस साइन्समा' मास्टर गरेकाहरुलाई काम गराउँथे।
जो विजनेस पढेलेखेका थिए उनीहरु कामदार मात्रै भए। अमरलाई लाग्यो ‘उनीहरु पनि मालिक हुने क्षमता राख्थे!’
त्यही थियो करोडौँ कस्तुरी लेख्नुको प्रेरणा।
कस्तुरीले पो आफ्नै नाभिमा भएको विना चिन्दैन र सुगन्धको पछि जंगलजंगल भौतारिन्छ। तर मानिस त आफ्नो ‘विनाको सुगन्ध’ चिन्ने क्षमता राख्छ।
यसरी, अरुलाई सन्देश दिदै हिँडेका अमरलाई साहित्यमा टस बसेको कहिले देखि होला? कसले गर्दा होला?
उनको उत्तर तयार छ, ‘सातआठ बर्षको उमेर देखि, आमाले गर्दा।’
आमाको काखका एक्ला राजकुमार थिए उनी। आमाको पुलपुल्याइ उनलाई पर्याप्त थियो।
आमासंगै सुत्थे। कहिलेकाहिँ बुवा घरमा हुँदैनथे, त्यो बेला भने आमाले भाकाहालेर गीत गुनगुनाउँथिन्।
अमरले काखमा लुटपुटिदै आमालाई अल्लि चर्को गीत गाउन भन्थे। उनलाई आमाले गाएको असाध्यै मन पर्थ्यो।
आमाले गौरी खण्डकाव्यका श्लोकहरु सुनाउँदिरहिछन्। बुबा मास्टर थिए, आमा पढालेखा थिइनन् तर उनकै छहारीमा अमरले प्रेम, मानवता र शिक्षाको उज्यालो भेटे। आमाको भाकामा दिल बसेपछि उनी कवि बने।
अनि त उनलाई लाग्छ प्रेम गर्न किताब पढीरहनु पर्दैन। प्रेम संसारको सर्वश्रेष्ठ अनुभुति हो। त्यसैले मान्छेलाई संसार बनाउने सिर्जनशीलता दिन्छ।
किताबी अक्षर नचिनेकि आमाको काखकै देन, त्यहीँबाटै उनले आफ्नो संसार बनाउने सपना देखे। साहित्यमा जाने बाटो देखे। शिक्षक बुवाको गालीले मात खायो।
अहिले अमरका किताबका पाण्डुलिपी सबभन्दा पहिले उनका बुवाले पढ्छन् र भन्छन् — राम्रो छ।
बुवाको आँखा र अनुहारको उज्यालोमा छोरा प्रतिको ‘गर्व’ झल्किन्छ। आमा भने आजपनि छोराको मायामा एकनाश लिप्त छिन्।