नेपाली सहित्यको विकासका लागि युवा सङ्गठित भएका छन्। मुलुकका विभिन्न जिल्लाका साहित्यानुरागी युवाहरुको शनिबार काठमाडौमा बसेको भेलाले विमर्श नेपाल नामक संस्था गठन गरेको छ। अनामनगरस्थित अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज,नेपाल च्याप्टरको सभाकक्षमा बसेको भेलाले किरण भट्टको संयोजकत्वमा संस्थाको तदर्थ समिति गठन गरेकोहो।
समितिको सदस्य सचिव माधव अधिकारी, कोषाध्यक्ष सरस्वती कटुवाल र सदस्य सलिना शिवाकोटी, सुबोध खनाल, प्रेम तामाङ्ग र जनक ढुङ्गाना रहेका छन्। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज,नेपालका अध्यक्ष राधेश्याम लेकाली संरक्षक
रहेको संस्थाका सल्लाहकारमा समालोचक महेश पौड्याल तथा कवि हेमन्त विवश र राजकुमार बराल छन्।
नेपाली साहित्यको विकासमा युवा सहभागिता अभिवृद्धि गर्न संस्था गठन गरिएको सदस्य सचिव अधिकारीले बताए। नवगठित समितिका पदाधिकारीलाई संरक्षक लेकाली र सल्लाहकार पौड्यालले शुभकामना दिएका थिए।