सप्तकोशीको पूर्वी तटबन्धलाई जोगाउन बनाइएका दुई वटा स्परमा यतिखेर मर्मतको काम भइरहेको छ। पूर्वी नेपालमा आएको वर्षासँगै सप्तकोशी नदिमा आएको बाढी तटबन्धका दुई वटा स्परहरुमा सोझिएपछि स्पर जोगाउन मर्मत थालिएको हा।
पानीको बहावले स्परसँगै तटबन्धको भित्रि भागको जमिनमा पनि कटान थालेको छ। यसले बाँधसम्म सिधै पानीको बहाव केन्द्रित हुने खतरा उत्पन्न गराएको छ। नदी र तटबन्ध कम्तिमा १० मिटरसम्म नजिक छन्। तटबन्धलाई क्षतीबाट बचाउनका लागि सो ठाउँमा पनि प्रकोपाइन तथा वालुवाको बोराहरु राख्ने काम भइरहेकोछ।
यो वर्ष स्पर नं. २३५२ र २६४० मा जोखिम देखिएको हो। २२५२ नं.को स्पर दक्षिणतर्फ पानीले सिधै पूर्वी तटबन्धमा ठोक्किएपछि प्रकोपाइन राखेर पानीको बहावलाई पश्चिमतर्फ फर्काउने प्रयास गरिएको छ। त्रिकोण आकारमा पिल्लर गाँसिएर बनाइएको प्रकोपाइनमा वालुवा तथा झारपात अल्झेर त्यहाँ वालुवाको नयाँ सतह बन्छ, जसका कारण नदीले तटबन्धलाई थप क्षती गर्न पाउँदैन।
यता २६४० नं. को स्परमा सिधै पानीको बहाव केन्द्रित भएपछि स्परको सुरक्षाको लागि ढुंगालाई जालीमा भरेर सानो तिनो अवरोधकहरु बनाउन थालिएको छ। भइरहेको काम र सम्भावित खतराको अनुगमन गर्न कोशी तटबन्ध क्षेत्रमा कोशी परियोजनाअन्तर्गतका स्थानिय मजदुर र भारतीय कर्मचारीहरु खटिने गरेका छन्। कटान भए रातमा पनि मर्मत होस् भन्नका लागि स्परहरुमा जेनेरेटर राखेर बिजुली बाल्ने प्रबन्ध मिलाइएको छ।
०६५ साल भदौ ५ गते कोशीको पूर्वी तटबन्ध भत्किँदा जनधनको क्षती भएपछि नेपाल तथा भारत सरकारले कोशी तटबन्धको सुरक्षालाई उच्च महत्व दिँदै आएको छ। ‘भारतीय जल विभागअन्तर्गत कोशी परियोजनाका कर्मचारीहरु राती पनि आएर निरिक्षण गरिरहन्छन्,' स्थानिय दुर्गाबहादुर विष्टले भने, ‘प्रकोपाइनदेखि बालुवाका बोरा र ढुंगा जालीको प्रयोग गरेर स्पर र तटबन्धको सुरक्षामा जोड दिइएको छ।'
वर्षाको समयमा कोशी किनारका वासिन्दाहरु तटबन्ध भत्केर कोशी गाउँ पस्ने डरले त्रसित हुने गरेका छन्। कोशीमा बाढी आउने बित्तिकै मानिसहरु तटबन्ध उक्लेर स्पर तथा बाँधहरुको सुरक्षाबारे जानकारी लिन्छन्। तटबन्धको लागि काम गरिरहेका मजदुर र अधिकारीहरु मिडियामा भनिएजस्तो खतरा तटबन्धमा नहुने ठोकुवा गर्छन्।
मिडियाबाट अलि बढि नै नचाहिँदो हल्ला हुने गरेको उनीहरुको तर्क छ। ‘दिनभर म यहाँ मर्मतको काम गरेर बेलुका घर पुग्दा रेडियोले बाँधमा खतरा भनेर समाचार दिइरहेको हुन्छ,' स्थानिय एक मजदुरले भने, ‘खबर सुनेर मेरी श्रीमती डराउँदै खतरा छ रे भन्छे, जबकी म दिनभर बाँधकै मर्मतमा हुन्छु।'
यता कोशी परियोजनाका भारतीय अधिकारीहरुले कोशी तटबन्धमा कुनै खतरा नभएको बताएका छन्। को छ। ‘तपाई आफै हेर्न सक्नुहुन्छ, कुनै खतरा छैन,' बिहीबार कोशी किनारमा नदीको धार निरिक्षण गर्दै गरेका कोशी परियोजनाका एक कर्मचारी पत्रकारहरुलाई आश्वस्त पार्दै थिए, ‘खतरा भएका ठाउँमा मर्मत भइरहेको छ, कोशीले कुनै क्षती गर्दैन।'
बाढीको समयमा पहाडबाट कोशीले बगाएर ल्याउने दाउराहरु कोशी किनारमा तथा कटान रोक्न राखिएका प्रकोपाइनहरुमा अडि्कने गरेको छ। जसलाई स्थानियले निकाल्दा त्यसबाट तटबन्ध सुरक्षामा चुनौति उत्पन्न भइरहेको विष्ट बताउँछन्। जम्मा भएका दाउरालाई स्थानियले घरमा खाना पकाउन प्रयोग गर्ने गरेका छन्।
७ वर्षअघि कोशीको पूर्वी तटबन्ध फुट्दा नेपालमा भन्दा भारतको विहारमा जनधनको क्षती धेरै भएको थियो। त्यसयता भारतीय पक्षले अलि बढि सावधानी अपनाएपनि कटान सुरु भएपछि मात्र मर्मत हुने प्रवृत्तीप्रति भने स्थानियले असन्तुष्टी जनाएका छन्।
कोशी नजिक रहेको गाउँ प्रकाशपुरका सञ्चारकर्मी बाबुराम कार्कीका अनुसार वर्षाको बेलामा कटान सुरु भएपछि हुने मर्मतले गर्दा तटबन्धको सुरक्षामा टालटुले काम भइरहेको छ। ‘हरेक ठाउँमा वालुवाको अवस्था हेरेर कोशीले धार परिवर्तन गर्नसक्ने बारे अध्ययन गरी बेलैमा मर्मत गर्न सकिन्थ्यो,' उनले भने, ‘पानी परेको बेलामा काम गर्दा जुनसुकै बेला पनि पानीले मानिसलाई पराजित गर्न सक्छ।'
कोशीको तटबन्धले नौ लाख क्युसेक पानीको बहाव थेग्न सक्ने भएपनि सतहमा निरन्तर वालुवा थुप्ररहेकोले तटबन्धको पानी थाम्न सक्ने क्षमतामा उल्लेख्य ह्रास भएको विज्ञ बताउँछन्। कोशीको पूर्वी तटबन्ध भत्किँदा कोशीमा एक लाख ६४ हजार क्युसेक पानीको बहाव थियो। यसवर्ष कोशीमा पानीको बहाव डेढ लाख क्युसेक नाघिसकेको छ।
पछिल्ला केही वर्षमा वर्षायाममा कोशीमा पानीको बहाव अढाई लाख क्युसेकसम्म पुग्ने गरेको छ। नेपाल–भारत सम्झौताअनुसार भारतको नियन्त्रणमा रहेको कोशी ब्यारेजमा वर्षायाममा पर्याप्त ढोका नखोलिँदा ब्यारेज उत्तरको भुभागमा पानी भरिएर तटबन्धमा तीव्र दबाब पर्ने गरेको छ। ब्यारेजका धेरै ढोका खोल्दा विहारमा बाढी आएर जन धनको क्षती हुने गरेकोले आवश्यकभन्दा कम ढोका खोल्ने गरीएको आरोप भारतीयहरुमाथि लगाइदै आएको छ भने भारतीय पक्षले त्यसको खण्डन गर्दै आएका छन्।