एक वर्ष अघिसम्म फुटपाथ पसले, चटके तथा यौन व्यवसायीको बार्गेनिङ गर्ने ठाउँका रुपमा बदनाम बनेको रत्नपार्क अहिले भने शान्त, सभ्य र सुन्दर बनेको छ। रत्नपार्क भित्र नयाँ चौतारा, पिङ बनाइएका छन्, विभिन्न स्थानमा रङ्रोगन गरिएको छ। पार्कभित्र कोही पुस्तक पढिरहेका देखिन्छन् त कोही ल्यापटप चलाइरहेका भेटिन्छन्। घुमघाम गर्न पार्कभित्र छिरेका पनि सभ्य तरिकाले बसेका देख्न सकिन्छन्।
सःशुल्क गरिएसँगै रत्नपार्क सभ्य भएको छ, छाडापन र अश्लीलता देखिदैन्। अब त दिदिबहिनीसँगै पार्कमा आराम गर्न आउँदा पनि फरक पर्दैन,‘ रत्नपार्क घुम्न आएका सिन्धुपाल्चोक चौताराका रेशम थापाले भने।
थापा एक वर्ष अघिपनि पनि फुर्सदमा रत्नपार्क छिर्ने गर्थे। तर रत्नपार्क भित्र यौन व्यवसायीको वार्गेनिङका कारण उनलाई आफन्तसँग रत्नपार्क भित्र छिर्न असहज लाग्थ्यो। तर अब रत्नपार्क शान्त र सभ्य भएको उनको बुझाई छ।
रत्नपार्कमा नगर प्रहरी मात्रै होइन नेपाल प्रहरीले समेत चासो बढाएको छ। प्रवेशद्वारमै नगर प्रहरीले झोला र टिकट चेक गर्छन्। पार्क भित्र पनि केही प्रहरी जवान डुलिरहेका हुन्छन्।
अहिले पार्क सःशूल्क गरिएको छ तर अपाङ्ग र जेष्ठ नागरिकलाई भने निःशुल्क प्रवेश व्यवस्था मिलाइएको काठमाडौं महानगरपालिकाको रत्नपार्क तथा रानीपोखरी एकाईका प्रमुख हरिशरण केसीले जानकारी दिए। उनका अनुसार अहिले रत्नपार्क प्रवेश गर्न विद्यार्थीलाई १५ र अरुलाई २५ रुपैयाँको टिकट काट्नुपर्छ।
टिकटका कारण पार्क भित्र पहिलेजस्तो मानिसको भिडभाड देखिदैन भने गेटमा बसेका नगरप्रहरीको चेकिङका कारण फुटपाथ पसलेले पनि प्रवेश गर्न पाएका छैनन्। टिकटको व्यवस्था गरिएपछि यौनकर्मीले पनि आफ्नो बार्गेनिङ् धन्दा गेट बाहिरै गर्ने गरेको देखिन्छ।
रत्नपार्क बाहिरको भागमा भने ठुलो भिडभाड देख्न सकिन्छ। माइक्रोस्ट्यान्ड रहेका कारण केही मानिस माइक्रो पर्खिरहेका देखिन्छन्। साथै यसअघि भित्र व्यापार गर्नेहरु बाहिर बसेर सामान बेचिरहेको देखिन्छ। यौनकर्मी पार्क भित्र प्रवेश गरेका त छैनन् तर पार्क बाहिर बसेर ढुक्कसँग बार्गेनिङ गरेक छन्। जसका कारण केही मानिस ठाउँठाउँमा झुमिएको देखिन्छ।
रत्नपार्कमा ड्यटीमा खटेका नेपाल प्रहरीका एक जवानले भने– माथिबाटै यस्तो क्रियाकलाप रोक्न निर्देशन दिने हो भने यसलाई केही दिनमै रोक्न सकिन्छ जसले यो भीड धेरै कम गर्न सक्दछ।
अहिले रत्नपार्कको बाहिरी भागमा फुटपाथ पसलेले पत्रिका, काँक्रो, खबरबुजा केहीले नाङ्लोमा चुरोट सुर्ती र चकलेट राखेर बसेका छन्। महानगर प्रहरी प्रमुख धनपति सापकोटाले पार्कको वरिपरि नगर प्रहरीको सक्रियता बढाएको दाबी गरेपनि रत्नपार्कको फुटपाथ पसल भने हटेका छैनन्। रत्नपार्कको भित्रि भाग सुन्दर भएपनि बाहिरी भागमा नेपाल प्रहरी र नगरप्रहरीले सक्रियता नबढाउँदा यसअघि पार्क भित्र हुने कानुन विपरितका कार्य अहिले पार्कको बाहिरी भागमा सरेको छ।
नगर प्रहरी प्रमुख धनपति सापकोटाले भने – पार्क भित्र नगर प्रहरी घुमिरहेको हुन्छ कानुन विपरितको कार्य गर्नेलाई तत्काल कार्वाही हुन्छ, अब रत्नपार्कमा सभ्य ढङ्गले बस्नुपर्दछ।‘
अहिलेको रत्नपार्क पुनर्निर्माणको लागि महानगरपालिकाले गत वर्ष ८५ लाखको योजना बनाएको थियो। सःशूल्क गरेपछि महानगरपालिकाले रत्नपार्कबाट औसत दैनिक १५ हजार रुपैयाँ आम्दानी गर्ने गरेको छ।
२०२१ सालमा निर्माण सम्पन्न भएको रत्नपार्कमा असार १५ गतेदेखि पहिलोपल्ट प्रवेश शुल्क लागु गरिएको हो। तत्कालीन राजा महेन्द्रले रानी रत्नराज्यलक्ष्मी शाहको नाममा यो पार्क निर्माण गर्न लगाएका थिए। २०१८ सालमा एक कमिटी गठन गर्दै महेन्द्रले रत्नपार्कको निर्माण गर्न लगाएका थिए।
पञ्चायतकालमा अञ्चलाधीशको कार्यालयले यसको रेखदेख गर्ने गर्दथ्यो। तर २०३३ सालमा भने तत्कालिन श्री ५ को सरकारले सार्वजनिक उद्यान तथा सभागृह विकास समिती गठन गर्दै यसको रेखदेखको जिम्मा लगाएको थियो। पञ्चायत अन्त्य भएपछि पनि लामो समयसम्म यहि समितीलेनै यसको रेखदेख गर्दै
आएको थियो तर २०५८ चैत्र पाँच गतेको मन्त्रीपरिषदको निर्णयले यो समितीलाई महानगरपालिकामा गाभ्ने निर्णय गरेपछि यसको स्वामीत्व महानगरपालिकालाई आएको थियो।महानगरपालिकामा आएपछि पनि पार्क लामो समय व्यवस्थित हुन सकेन। पर्खालको मर्मत सम्भार र महानगरपालिकाले उचित चासो नदिँदा पार्क लामो समय अव्यवस्थित रह्यो।
जसका कारण यो पार्क यौन व्यवसायी फुटपाथ पसले र चटकेको कमाउने थलो बन्यो।
गत वर्ष २०७१ वैशाखमा महानगरपालिकाले पुनर्निर्माणको लागि रत्नपार्कलाई पूर्ण रुपमा बन्द गरेेको थियो। २०७१ मंिसरमा सम्पन्न भएको सार्क सिखर सम्मेलनलाई लक्षित गर्दै महानगरपालिकाले यसको पुनर्निर्माण गरेको थियो। झण्डै १५ महिना बन्द भएपछि खुलेको रत्नपार्क अहिले भने शान्त, सभ्य र आकर्षक भएको छ।
यो पनि
तस्विरः भरतबन्धु थापा