सेनाका क्याप्टेनको कुटपिटबाट त्रस्त सुनसरी कप्तानगञ्जवासीहरु बिहीबार इनरुवास्थित जिल्ला प्रशासन कार्यालय सुनसरीमा डेलिगेशन गएका छन्।
नेपाल–भारत सीमामा भारतीय सेनाबाट सधै आतंकित हुने ठाउँका वासिन्दाहरु नेपाली सेनाका कारण रातभर राम्रोसँग सुत्न नसकेको बताउँदै सुरक्षा तथा कुटपिट गर्नेलाई कारवाहीको माग गर्दै त्यहाँ पुगेका हुन्।
नेपाली सेनाको बटुकदल गणका क्याप्टेन छत्रजंग कार्कीको कुटपिटबाट सात जना त घाइते भएको पीडितहरुले बताएका छन्। क्याप्टेन कार्कीले रक्सीले मातेको सुरमा कुटपिट गरेको आरोप स्थानिय उमेशप्रसाद मेहताले लगाएका छन्। कार्कीले कुटपिट गर्नुका साथै ६ राउन्ड गोली समेत चलाएको उनले बताए।
पीडितहरुका अनुसार कप्तानगञ्ज बजारमा रहेको गृल पसलमा ट्याक्टरबाट समान झार्दै गरेका सर्वसाधारणलाई कुटपिट गरिएको थियो। सुनसरी सदरमुकाम इनरुवास्थित जिल्ला प्रशासन कार्यालयमा सुरक्षा माग्दै पीडितहरुले प्रमुख जिल्ला अधिकारीलाई भेटेपछि घटना प्रकाशमा आएको हो। प्रजिअसामु पीडितहरुले गोलीको खोखासमेत देखाएका थिए।
सुनसरीका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले गोलीका खोखासहित स्थानियहरु गुनासो गर्दै आएको बताए। उनले यो सेनाको विषय भएकोले छानविनको लागि अनुरोध गरिएको बताए।
कार्कीको कुटपिटबाट कप्तानगञ्ज–३ का गंगाप्रसाद मेहता, सन्तोष मेहता, दिलिप मेहता र गणेश मेहता, तथा कप्तानगञ्ज–४ का अनन्तलाल मेहता र रुपदेव मेहता र देवानगञ्ज–३ का दीपक मेहता घाइते भएको जनाइएको छ।
घटना सार्वजनिक भएपछि बटुक दलका गणका प्रमुख गणपति श्याम खड्का नेतृत्वको टोलीले नेपाल–भारत सिमाना नजिकै रहेको गुल्ममा पुगेर घटनाबारे जानकारी लिएका थिए। उनले आफुले त्यस ठाउँमा गएर घटनाबारे बुझेको र सामान्य विवाद भएको पाएको र गोली पनि नचलेको तथा कुटपिट पनि नगरिएको बताए।