भूकम्पबाट अतिप्रभावित जिल्लामा आवासका लागि नेपाली सेनाले न्यूनतम ब्याजदरमा ऋण उपलब्ध गराउने भएको छ ।
सैनिक कल्याणकारी कोषमार्फत भूकम्पबाट पीडित आफ्ना सैनिकलाई लक्षित गरेर न्यूनतम ४.५ प्रतिशत ब्याज दरमा सो ऋण उपलब्ध गराउने नेपाली सेनाका प्रधान सेनापति गौरवशम्शेर जबराले जानकारी दिए। नेपाली सेनामा भूतपूर्व सैनिक ६५ हजार र बहालवाला ९५ हजार छन् ।
प्रधान सेनापति जबराले भूकम्पबाट प्रभावित जिल्लामा नेपाली सेनाले खोज, उद्धार र राहतमा पेसागत दक्षता देखाएको उल्लेख गर्दै त्यसको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रशंसा भइरहेको बताए ।
उनले देशभरका पाँचैवटा विकास क्षेत्रमा सैनिक कल्याणकारी कोषमार्फत विभिन्न सेवा दिइएको जानकारी दिँदै नेपाली सेनाबाट अवकाश प्राप्त सैनिक र एकल महिलालाई आत्मनिर्भर बनाउनसमेत सैनिक कल्याणकारी कोष प्रभावकारी भएको बताए।
यसैबीच, काभ्रेपलाञ्चोकमा भूकम्पबाट पीडित अवकाश प्राप्त सैनिक तथा एकल महिला १० जनालाई सैनिक कल्याणकारी कोषमार्फत रु एक/एक लाख राहत रकम प्रदान गरियो ।
उनीहरुलाई नेपाली सेनाको व्यवस्थापन तथा नेपाली सेनाको कल्याणकारी बोर्डको संयोजकत्वमा धुलिखेलमा सञ्चालित मध्यमाञ्चलस्तरीय भूतपूर्व सैनिक सम्मेलन एवम् भेटघाटमा सो रकम प्रदान गरिएको थियो ।
सम्मेलनका क्रममा नेपाली सेना कल्याणकारी बोर्ड र नेपाल इन्भेस्टमेन्ट बैंकको संयुक्त सहकार्यमा लघुवित्त कार्यक्रमअन्तर्गत काभ्रेपलाञ्चोककै भूपू सैनिक तथा पारिवारिक निवृत्तिभरणमा रहेका १० जनालाई वित्तीय प्याकेजअन्तर्गत रु ५० हजारको चेक हस्तान्तरण गरिएको थियो ।
सैनिक कल्याणकारी कोष सञ्चालन तथा व्यवस्थापन समितिअन्तर्गत रहने गरी २०७० असोज २१ गते कल्याणकारी बोर्डको स्थापना भएको थियो । रासस