लामोसाँगु जिरी सडकको किनारैमा पर्छ धनकुमारी श्रेष्ठको घर। नजिकै भत्किएको घरको भग्नावशेष छ। लाकुरीडाँडा गाविसकी ७० वर्षिय श्रेष्ठ हिजोआज खेतीबारीमा व्यस्त हुन लागेकी छिन। “खाने अन्न निकालियो। जस्ता निकालेर टहरा बनायौं। बाँकी सामान पन्छाउन पनि ठाँउ छैन”, श्रेष्ठले भनिन्। गाँउमा विभिन्न किसिमका मानिसहरु आएर सोधिखोजी मात्रै गर्दा स्थानियहरु झर्को मान्न थालेका छन्। “सधैं मान्छेहरु आँउछन् के के सोध्छन अनि जान्छन। दिक्क लाग्न लागिसक्यो।”
भूकम्पले खण्डहर बनाईदिएको घर नजिकै बनेको छाप्रोमा ५ परिवार बसोवास गर्छ। भत्किएको घरको काठ र जस्ता प्रयोग गरि नयाँ छाप्रो बनाएको उनले बताईन। “१० दिन लगायर बनाईयो। गाँउमा काम गर्ने मान्छे छैनन्।” गाँउमा अर्मपर्म गरेर धेरैले टहरा निर्माण गरिसकेका छन्।
भूकम्पसँगै पहिरोको जोखिम बढेपछि पेमडोल्मा तामाङ्गले बारीमा भएको आलु मासेर अस्थायी टहर बनाईन। “अरुलाई पर्खेर बस्दा वर्षामा विजोग हुन्छ”, उनले भनिन। “वर्षा लागिसक्यो। खेती नगरी सधैं अर्काले देला भनेर बसेर के हुन्थ्यो।”
गाविसमा रहेका १ हजार ५ सय १२ घरमध्ये ८ ओटा वाहेक सबै घर पूर्ण रुपमा क्षति भएका छन्। भूकम्पका कारण गाविसमा मानविय क्षति नभएपनि २७ ओटा पशुपन्छि मरेको जिल्ला विकास समितिको कार्यालयले जानकारी दिएको छ।
सरकारले भूकम्पपिडितलाई अस्थायी आवास निर्माणका लागि वितरण गर्ने भनेको १५ हजार रुपैंया जिल्लाका धेरै गाविसमा अझै वितरण हुन सकेको छैन। गाविस सचिवहरुले स्पष्ट कार्यविधी नभएसम्म गाँउमा रकम वितरण गर्न नसकिने भन्दै काम गर्न नमानेका कारण रकम वितरण हुन नसकेको हो।
भूकम्पका कारण जिल्लामा ३९ अर्व ७६ करोड क्षति
जिल्लामा भूकम्पका कारण ३९ अर्व ७६ करोड बराबरको धनमालको क्षति भएको छ। जिल्ला विकास मिति दोलखाले दिएको तथ्याङ्कका अनुसार ३८ अर्व बरावरको वासस्थान, १ अर्व ९० करोड बरावरको पशु चौपाय २१ करोड बरावरको खाद्यान्न क्षति भएको छ। जिल्ला विकास समितिका सुचना अधिकृत विक्रम कार्कीका अनुसार भूकम्पले जिल्लामा ५० हजार २ सय ८४ घर पूर्ण रुपमा क्षति भएको जानकारी दिए। “जिरी र भीमेश्वर नगरपालिकाको तथ्याङ्क यसमा समावेश छैन। यिनीहरुको तथ्याङ्कपछि मात्रै पूर्ण क्षतिको विवरण प्राप्त हुन्छ”, कार्कीले भने।