फाइल तस्विरः किशोर
जेठ २४ मा इचोकका निमा तामाङ, सूर्यमान तामाङ र मंगले तामाङले गाउँबाट हराएकी छोरीहरु खोजीदिन माइती नेपालमा निवेदन दिए। आपसी सहमतिमै गाउँकै मामा पर्ने अशोकको साथ लगाएर दुबई जान पठाएका छोरीहरु काठमाण्डौं पुग्नासाथ हराएपछि उनीहरुले माइतीमा निवेदन दिएका थिए। अशोकले गाउँबाट ८ किशोरी लगेका थिए। ती आठ किशोरीलाई भारततर्फ लैजाँदै गर्दा हेटौंडामा प्रहरीले पक्राउ गर्यो। अशोक अझै फरार छन्।
अघिल्लो साता जिल्लाको भोताङ, गोल्चे, इचोक, थाङपालकोट, माहांकालकासहित ३ सय २२ किशोरी तथा बालबालिकालाई प्रहरीले भारततर्फ लैजाँदै गरेको अवस्थ्ाामा उद्धार गर्यो। भूकम्पपछि सम्भावित बेचविखनबाट जोगाउन उनीहरुलाई उद्धार गरिएको थियो।
फुल्पिङकोट–२ कि सुनीता खत्रीलाई भक्तपुरबाट उद्धार गरियो। विक्रीका लागि भारत पुर्याउन लागिएको आशंकामा उनको प्रहरीले उद्धार गरेको थियो। भूकम्पले त्रसित बनाएको बेला खत्रीलाई नुवाकोट शिखरबेंशी–९ का सुमन तामाङले प्रेमको नाटक गरी उनलाई लगेका थिए। खत्रीको उद्धारपछि तामाङ फरार छन्।
यी प्रतिनिधि घटना मात्र हुन्। यस्ता उदाहरणले विनाशकारी भूकम्पपछि महिला तथा बालबालिकाको ‘तस्करी' हुन बढेको पुष्टि हुन्छ। राहत वितरण तथा अन्यको बहानामा गाउँ पसेका दलालहरुले यसलाई उत्कृष्ट मौका ठान्दै गाउँका किशोरी ओसारपसारमा संलग्न भएको पाइन्छ।
यतिबेला सिंगो जिल्ला भयमा छ। भूकम्पको लगातार पराकपका कारण गाउँ वस्ती त्रसित छ। पहिरोको जोखिममा परेका गाउँवासी सुरक्षित स्थानमा स्थानान्तर हुन खोजेका छन्। उनीहरुलाई अहिले गाँस, बास र कपासको चिन्ता छ। यस्तो अवस्थामा सहरबाट आएका वा गाउँकै प्रतिष्ठितहरुले ललाईफकाई फसाइरहेको विभिन्न घटनाक्रमले पुष्टि गर्छ।
गाउँमा सोझा सिधा अझ भनौं भएको बेला मात्र खाने वर्गहरु मुख्य निसानामा परेका छन्। विशेष गरी हिमाली विकट गाउँका चेलीहरु यसको शिकार भएको घटनाक्रमले देखाउँछ। उनीहरुलाई जागिरको प्रलोभनमा पारी भारततर्फ लैजाने गरेको पाइएको पक्राउ या उद्धारपछि भएका अनुसन्धानले देखाएको प्रहरी अधिकारीहरु बताउँछन्। यो विपत्तिको अवस्थामा गाउँमा खानेकुराको अभाव हुनु, तत्कालका लागि अस्थायी प्रकृतिको भएपछि जागिरको आवश्यक पर्नु नै प्रमुख कारण रहेको अधिकारीहरुको भनाई छ।
सामान्य अवस्थामा पनि बेचविखनको जोखिममा रहेको हिमाली विकट गाउँमा किशोरीहरुमाथि अहिले ‘दलाल'को आँखा विशेष गरि पर्न थालेको हो। गाउँवासी आफै चनाखो नभए गाउँमा चेलीहरु कुनै पनि बेला सामान्य प्रलोभनमा फस्न सक्ने सम्भावना देखिन्छ। असामान्य दिनचर्याका साथै अभावले उनीहरु सहजै प्रलोभनका फस्ने गरेको विभिन्न उदाहरणले पनि देखाएको छ।
जिल्लामा मानव बेचविखनविरुद्ध काम गर्ने धेरै सामाजिक संस्था छन्। ती संस्थाहरु गाउँ केन्द्रीत हुन नसक्दा झन् समस्या उब्जिएको छ। जिल्लामा माइती नेपाल, शान्ति पुर्नस्थापना गृह, ग्रामीण महिला सिर्जनशील परिवार, महिला आत्मर्निरता केन्द्र, शक्ति समूह, पौरखी नेपाललगायत अन्य संस्था छन्। यी संस्था सदरमुकाम र प्रमुख बजारमा मात्र क्रियाशील हँुदा गाउँका महिला बढी जोखिममा परेका हुन्। विपत्तिसँगै यस्ता संस्थाहरु गाउँमा चेतना जगाउनभन्दा पनि राहतको काममा सक्रिय भएकाले पनि महिलाहरुमा जोखिम बढेको छ। बेचबिखनविरुद्ध सक्रिय संस्था माइती नेपाल अहिले गाउँमा राहतको प्याकेज लिएर छिरेको छ। अन्य संस्था पनि बेचविखनविरुद्ध काम गर्नभन्दा राहत सामग्री लिएर जाने गरेको पाइएको छ।
बेचविखन विरुद्ध काम गरिरहेको महिला आत्मनिर्भरता केन्द्र(मांक)की अध्यक्ष भगवती नेपालले केही गाउँमा चेतनामूलक छलफल गरेको बताउँछिन्। ‘गाउँमा बेचबिखनको जोखिम भएकाले सचेतना अपनाउनका लागि विभिन्न कार्यक्रम गरिएको छ।' नेपालले भनिन्, ‘महिला तथा किशोरीहरुलाई आफ्नो ठाउँ छाडेर अन्यत्र नजानू भनिएको छ।' उनले विपत्तिपछि विभिन्न बहानामा दलाल गाउँ पस्नसक्ने सम्भावना भएकाले अरुको प्रलोभनमा नपर्न आग्रह गरेको बताइन्।
सामाजिक संस्थाहरु गाउँमा राहत लिएर गएपनि सँगसँगै बेचबिखन नियन्त्रणका लागि चेतननामूलक कामहरु गरेको दावी गर्छन्। पौरखी नेपालका जिल्ला संयोजक दिपक अर्याल अहिले राहतको काममा व्यस्त भएपनि बेचविखनविरुद्ध अन्तरक्रियाहरु गरेको बताउँछन्। ‘समुदायस्तरमा गएर छलफल गरिने योजना छ।' उनले भने।