सरकारी कामकाजमा प्रयोग हुने हेभी उपकरणहरु दुरुपयोग गरेका कारण अख्तियारको समेत छानविनमा परेका बुटवलको हेवी ईक्वुपमेण्ट डिभिजनका प्रमुख डण्डपाणी पौडेलले अर्को पदीय दुरुपयोग गर्न थालेका छन्।
बुटवलकोहेभी ईक्वुपमेन्ट डिभीजन कार्यालय अन्तर्गत रहेका उपकरणहरु सरकारी काम देखाएर निजी काममा भाडामा लगाउने गरेको प्रमाण सहितको समाचार सेतोपाटीमा प्रकाशित भएपछि पौडेलले पुरानो मितिको बैंक भौचर पेश गरेर कारबाहीबाट उम्कन खोजेपनि उनको त्यो योजना सफल हुन सकेको छैन।
गत वैसाख २८ गतेको पत्र अनुसार भैरहवा लुम्बिनी सडकमा रहेको बेथरी नजिकैको पुल मर्मतका लागी डाईभर्सन गर्ने कामका लागी सडक डिभिजन कार्यालय बुटवलमा काज गएको आर डि ०६८१०६ नं को लोडर खटाईएको क्षेत्रमा नगई करिव ५० किलोमिटर पूर्वको ईट्टा उद्योगमा काम गर्दै गरेको अवस्थामा भेटिएको थियो।
पौडेलले कारबाहीबाट आफू बच्नकै लागि २०७१ साल ११ महिना १० गते जम्मा गरेको भौचरलाई मनकामना ईट्टा उद्योगको भौचरको रुपमा स्वीकार गरेर अर्को पदीय दुरुपयोग गर्ने योजनामा लागेका छन्। उनलाई उक्त कार्यमा क्षेत्रिय निर्देशनालयबाट समेत सहयोग भएको देखिन्छ।
सरकारी उपकरण भाडामा लगाएर कार्यालय प्रमुखले व्यक्तिगत रुपमा भाडा असुल्ने गरेको समाचार प्रकाशन भएपछि मन्त्रालयबाट समेत कार्यालय प्रमुखमाथि छानबिन गर्न क्षेत्रीय प्रमुख उत्तमलाल प्रधान, हेभी ईक्वुपमेन्ट डिभिजन नेपालगञ्जका ईन्जिनियर नारायण आचार्य र डिभिजन सडक कार्यालय पाल्पाका लेखा अधिकृत शंकरप्रसाद खनाल सहितको ३ सदस्यीय विभागीय छानबिन समिति बनेको थियो। तर, समितीले आफ्नो दायित्व र कर्तब्य बिर्सेर सोही भौचरलाई मिलाउन सुझाव दिएको श्रोतले बताएको छ।
उपकरण प्रयोग गरे बापत लाग्ने दस्तुर बैंकबाट दाखिला हुने र कतिपय निर्माण कम्पनीहरुले अग्रीम जम्मा गर्ने प्रचलन अनुरुप बिनोद थापा नामका व्यवसायीले २०७१ सालमा उपकरण लैजान अग्रीम रुपमा १ लाख १० हजार २ सय ५० रुपैया बैंक दाखिला गरेका थिए। तर बैंकमा रकम दाखिला गर्ने बिनोद थापा उक्त मनकामना ईट्टा उद्योग संग असम्वन्धीत व्यक्ति हुन्।
कार्यालयले सोही समयको रकमलाई मनकामना ईट्टा उद्योको भौचर बनाउने योजना अनुरुप बिनोद थापालाई मनकामना ईट्टा उद्योगको नक्कली कर्मचारी बनाएर कार्यालयलाई सघाउन खोजेको देखिन्छ। तर, यो योजनाबाट ईट्टा उद्योग कर छलीमा फस्ने प्रस्ट छ।
कुनैपनि उद्योगले लाखौं रूपयाँ व्यक्तिका नामबाट सरकारी खातामा रकम दाखिला गर्ने वा कारोबार गर्ने कार्य गैरकानुनी हुन जान्छ।
यसरी कार्यालयले भनेकै पत्याउने हो भनेपनि बिगतमा कार्यालयको मिलोमतोमा अमुक व्यक्तिका नाममा अग्रीम रकम जम्मा गरेर वर्षभरी उपकरण प्रयोग गर्ने र अन्तिममा उपकरण प्रयोग नभएको देखाउदै हिसाव मिलान गरी भागवण्डा गर्ने गरेको रहस्य समेत खुल्न थालेको छ।
सो कार्यालयसँग लामो समय कारोवार गर्नेहरु उक्त कार्य बिगतमा समेत हुदै आएको र सामान्य भएको बताउँछन्। कसैले थाहा नपाएसम्म उपकरण प्रयोग नभएको देखाउँदै कतिपयका रकम आफै झ्वाम पार्ने कार्य हेभी ईक्वुपमेण्ट डिभिजन र कार्यालयहरुको सामान्य कार्य हो।
यता डिभिजन सडक कार्यालयमा काजमा गएको उपकरणलाई कसरी भाडामा गएको देखाउने भन्ने बिवादले कार्यालय प्रमुख बेचैन भएका छन्। कार्यालयबाट कुनैपनि उपकरण बाहिर निस्कदा र कार्यालय भित्र प्रवेश गर्दा लगबुक भर्ने र समय समेत उल्लेख गर्ने नियम छ। त्यो अवधीमा मनकामना ईट्टा उद्योग वा बिनोद थापाको नाममा उपकरण बाहिरीएको समेत कतै देखिँदैन।
कार्यालयको उक्त उपकरण चलाउने गरी कर्मचारी सुरेन्द्रबहादुर कार्कीलाई खटाईएको भएपनि कार्यालयभन्दा बाहिरका व्यक्तिले उपकरण चलाएको कुरालाई समेत बिभागीय टोलीले कुनै चासो नदिएको देखिएको छ। यसबाट पनि बिभागीय टोली पौडेललाई सफाई दिने योजनाका साथ आएको देखिन्छ।
त्यसवेला उपकरण चलाईरहेका ब्यक्ति कुनै पनि सरकारी निकायका चालक नभएकोले उनलाई ज्यालादारीमा नियुक्ती दिने योजना समेत असफल भएपछि कार्यालय प्रमुख पौडेल आत्तिएका छन्।
कार्यालय प्रमुख डण्डपाणी पौडेलले उक्त व्यक्ति कार्यालयको कर्मचारीको छोरा रहेको जवाफ दिएका थिए।
उक्त उपकरण भैरहवा देखि करिव १० किलोमिटर पश्चिममा सरकारी काममा खटिएको समयमा बैसाख ११, १२ र १३ गते भैरहवादेखि करिब ५० किलोमिटर पूर्वमनकामना ईट्टा उद्योगको काममा खटिएको अवस्थामा फेला परेको समाचार सेतोपाटीमा प्रकाशन भएको थियो।