गए रातिदेखि परेको अविरल वर्षाका कारण मेची राजमार्गका विभिन्न ठाउँमा पहिरो गएको छ ।
भीषण वर्षाका कारण मेचीराजमार्गको हर्कटेदेखि कोल्बुङको किटेनीसम्मको क्षेत्रमा पाँच ठाउँमा पहिरो गएकाले बिहानैदेखि यातायातका साधन चल्न सकेका छैनन् ।
हर्कटेदेखि कोल्बुङसम्म गएका पाँच वटा पहिरोमध्ये तीन वटा प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा खुलाइसकेको छ भने दुई ठाउँको पहिरोमा जेसिबीको प्रयोग गर्नुपर्ने अवस्था आएकाले अझै केही समय लाग्ने इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक पदम थपलियाले बताए।
राजमार्गमा गएको पहिरोका कारण झापाबाट इलाम, पाँचथर तथा ताप्लेजुङ जाने र इलामबाट झापातर्फ जाने ठूला तथा साना सवारीसाधन चल्न सकेका छैनन् । बिहानैदेखि राजमार्ग अवरुद्ध भएका कारण यात्रुबीच बाटोमै अलपत्र परेका छन् । रासस