राहतबारे जानकारी लिन सदरमुका आएका सिद्धबहादुर(सेतो कपडा) र उनका छिमेकी। सिद्धबहादुरले भुकम्पबाट आमा र सासु गुमाएका थिए भने उनको परिवारका सबै घाइते छन्। उनी बैशाख १२ को दिन सम्झनासाथ भक्कानिन्छन् । तस्वीर, किशोर बुढाथोकी
उनको मुहारमा कत्ति पनि चमक छैन। होस् पनि कसरी सारा खुशी गुमाएपछि। भुईचालोले थिलथिलो पारेको शरिरले मात्रै हैन उनलाई आमा र सासुको एकै चिहान भएको नमिठो यादले बारम्बार झस्काउँने गर्दछ।
बैशाख १२ गते उनको जीवनमै कालो दिन बनेर गई दियो। त्यो दिनको घटना साथी भाईमाझ कुनै प्रसंगवश आइहालेमा उनी भक्कानिन्छन्। सायदै आसुँ टुट्दैन उनका आँखामा। रसिलो आँखा लिएर उनी यताउति भौतारिरहन्छन् काम बन्ने धुनमा।
‘किन–किन त्यो दिनको सम्झना आउँदा सम्हाल्नै सक्दिन’, कामकाजका क्रममा चौतारा आएका बेला शुक्रबार भेटिएका सिद्धहादुर गुरुङले आफ्नो कमजोरी सुनाए। भन्छन् छोरा मान्छे भएर रुनुहुँदैन। तर, समयले जर्बजस्त बाध्य बनाएको उनको बुझाई छ।
नारायण पूजाको तयारी हुँदै थियो जिल्लाको पारी गाउँका नामले चिनिने पाङताङ–७ स्थित उनको घरमा। पूजा घरमा छिमेकीहरुको चहलपहल सामान्य नै थियो। सबै सामग्री जोहो गरेर पूजा सुरु हुनै लाग्दा एक्कासी जमिन हल्लियो। बाहिरतिर चिच्याहट सुरु भयो। छिमेकीका घर ढल्दै गरेको आफ्नो घरैबाट देखेका सिद्धबहादुरले पूरै ढलेको अकल्पनीय दृष्य हेर्नै नपाई उनलाई आफ्नै घरले थिचिहाल्यो।६ घण्टापछि छिमेकीले पुरिएको ठाउँबाट निकालेर उनलाई बचाए। अनि अर्को जीवन दिए।
हेलिकोप्टरको सहायताबाट उनलाई राजधानीको जोरपाटीस्थित अर्थोपेडिक अस्पताल पुर्याइयो अनि पछि टिचिङ लगियो। सात दिनसम्म उनमा होस नआएको छिमेकी खड्गबहादुर गुरुङ बताउँछन्।
उनको ढाडमा रगत जमेको छ। तीनवटा करङ भाँच्चिएको छ भने पाता खुस्किएको छ। ‘होसमा आउने बित्तिकै मेरो घरमात्रै भत्काउने कुन पापी हो भनेर सोधे,' छिमेकी खड्गबहादुरले सुनाए। उनलाई केही थाहा थिएन। सात दिनसम्म मृत्युशैयामा रहेर काललाई जितेर आएका उनलाई आफूले आमा र सासुलाई गुमाएको पत्तो थिएन। ‘हामीले भन्न पनि सकेनौं, के भन्ने भन्नेमा अन्यौल भयो।' खड्गबहादुर भन्छन्।
होस खुलेपछि छिमेकीहरुले चोख्याउनुपर्छ भनेको सुनेपछि उनमा अर्को बज्रपात पर्यो। त्यही घर जुनले उनलाई ६ घण्टासम्म पुरेको थियो त्यहि घरको माटोले उनको आमा र सासुलाई विलय गराएको थियो। उनलाई थप पीडाले पिरोल्यो। विपत्ति मलाई दुखाउन मात्रै आएको रहेछ जस्तो लागेको उनले सुनाए। ‘म बिरामी भएकाले दाईहरुले हामी चोख्याउने काम गर्छौ भनेका थिए,’ उनले भक्कानिँदै भने, ‘मैले दुधको भारा नतिरे छोरा भएको अर्थ रहँदैन भनेपछि आफैले गरें।’
सदरमुकाममा सरकारले दिने राहतबारे बुझ्न आएका उनलाई धेरै लामो बाटो हिँड्न हुँदैन। शरीर अझै सोझि्झएको छैन उनको। शरीरलाई यताउता चलमल नबनाउन उनले सहायता ज्याकेट लगाएका छन्। ‘हिँड्दा गाह्रो हुन्छ,’ उनी आफ्नो समस्या सुनाउँछन्, ‘अलि लामो बाटो हिँड्दा सास फेर्न सकिदैन।’ त्यतिमात्रै हैन उनलाई विपत्तिले छानेरै पीडा दिएजस्तै लाग्छ। आमा र सासुलाई गुमाएका उनको परिवारमा सबै घाइते छन्। आफै ठूलो कालबाट जोगिएका उनको बुबा, दिदी, श्रीमति र छोरी पनि घाइते छन्। घरले परेपछि उनीहरुलाई जिवितै गाउँलेले उद्धार गरेका थिए। छोरीबाहेक परिवारका सबै सदस्यलाई चोट लागेको उनी बताउँछन्। ‘भत्केको घरबाट निकालेको भएपनि छोरीलाईचाँहि भाग्यवस चोट लाग्न पाएन।' उनले भने।
समस्या झन् झन् थपिएको छ उनीमाथि। एक दिन बीचमा वास बसेर मात्रै सदरमुकाम आइपुगिन्छ उनको गाउँबाट। झन् हरेक पल–पलमा घर भत्किएको र आफूले आमा अनि आफन्त गुमाएको सम्झनाले कहिल्यै मुहारमा चमक आउन नसकेको बताउँछन्। ’भुल्न खोज्छु, साथीभाईसँग कुरा गरेर घाउ विर्सन खोज्छु, तर सकिदैनरहेछ।' उनले भने।
यो पीडाको कथा सिद्धबहादुरको मात्रै हैन। सिगांे सिन्धुपाल्चोक अहिले रोइरहेको छ। विनासकारी भुईंचालालेले सबैको सपना खोसेको छ। जिन्दगी लुटेको छ। यसर्थ पनि सबै मलिन देखिन्छन्। भुईचालो गएको दुईमहिना बितिसके पनि त्यो घाउ, पीडा अनि विनास कसैले भुल्न सकेका छैनन्। ’झन् जताततै देखिने भग्नाबशेषले भुल्न लागेको घटनालाई फेरि बल्झाईदिन्छ।' जिल्लाको विकट गाउँ ठोकर्पाका विज्ञान न्यौपाने सुनाउँछन्,’ भत्केका घरहरुको अवस्था हेर्दा घरिघरि त्यो विध्वशंको पल सम्भि्कँदोरहेछ।' उनले गाउँवासी रातमा पनि राम्ररी निदाउन नसकेको बताउँछन्।
त्यसो त चौतारा नगरपालिका–१ का सञ्जीव सापकोटाको पनि उस्थै छ अवस्था। भुईंचालोको एकै झट्काले उनको छोरी, हजुरआमा र भाउजुलाई खोस्यो। उनी बेला बेलामा झस्किन्छन्। मोबाइलमा रहेको छोरीको तस्वीर हेर्दै भक्कानिन्छन् अनि भन्छन्, ’धेरै माया गरेको मान्छे किन खोस्छ विपत्तिले।'
भुईंचालो आउँदा उनी चौतारामा थिए। अरुको घर भत्किएको देखेका उनले आफ्नो घर सग्लै होला भन्ने सोचेका थिएनन्। उनले सँगै रहेका साथीलाई भनेका थिए। ’यो भुईंचालोले मेरो हजुरआमा र छोरालाई बाँकि राखेन।' उनी आफ्नो गाउँ पुग्दा उनको घर मात्रै हैन सिंगो बस्ती ग्राउण्ड जिरोमा परिणत भइसकेको थियो। सात गाउँकै बाक्लो बस्ती रहेको उनको टोल माटै माटोको टुुडिँखेलजस्तै बनेको थियो। साँच्चै उनको छोरा र हजुरआमा माटोमा पुरिएका रहेछन्। उनी घर पुगेर घोप्टिए। घण्टौं होसमा आएनन्।
’कसरी बिसौ त्यो दिन, बारम्बार सम्झना आइरहन्छ।' उनी त्यो घटना सम्झँदै आँसु झार्दै भन्छन्, ’मेरो छोराले कति थोरै आयु लिएर आएको रहेछ।' उनी आफ्नो भूईचालोले आफ्नो खुशी लुटेको बताउँछन्। हुन पनि अब कस्का लागि बाँच्ने भनेर उनी प्रतिप्रश्न गर्छन। ’साँच्चै कहिल्यै दिन खोलेर हाँस्न नसक्ने गरि स्थायी रुवाएको छ भुईचालोले।' उनी भन्छन्। हुन पनि अझै सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर पराकम्पन आइरहेको छ। मृत्युको सम्भावना सबैलाई छ। यसैकारण हो सिन्धुपाल्चोक अझै हाँस्न सकेको छैन। कसैले पनि खुशी मनाउन सकेका छैनन्। यतिबेलासम्म पनि सिन्धुपाल्चोक वियोगमा छ। शोकमा छ।
भुईचालोले सिंगो सिन्धुपाल्चोकलाई रुवायो। सडकको वास बनायो। यही भुईंचालोले मात्रै जिल्लामा ३ हजार ५ सय ३१ जनालाई मृत्युको मुखमा पुर्यायो। सबैको हाल उस्तै छ तर, कोहीले सन्तोष मान्न सकेका छैनन्। घाइतेको उपचार भइरहेको छ जिल्ला अनि राजधानीका केही अस्पतालमा। गाँस, वास अनि कपाससमेत गुमाएका सिन्धुवासीलाई आलो घाउमा मल्हम लगाउन केही सामग्री वितरण गरियो। तत्कालका लागि केही राहत अनुभूति भएपनि सिन्धुवासी रमाउन सक्नेछैनन् कंयौं वर्ष।
जे नहुनु थियो त्यही भयो तर, बिर्सन कसैले सकेका छैनन्। यी पीडालाई पुर्ने ओखतिको जरुरी छ अहिले। भुकम्पपीडितलाई सरकारले दिने भनिएका केही राहत नै पीडा भुलाउने मल्हम भएको सरकारी अधिकारीहरु बताउँछन्। एक अधिकारी भन्छन्, ’भत्किएको घरका लागि क्षतिपुर्ति वितरण हुनेछ, मृतकका लागि पनि दिइएको छ।' उनले भने, ’विपत्तिको पीडा सहन त गाह्रो हुन्छ तर, अर्काे विकल्प पनि छ छैन।' उनले पीडामा परेका सिन्धुवासी पहिलाको जस्तै सामान्य जीवनयापनमा फर्कन समय लाग्ने बताए।