असार १५ गतेलाई सरकारले धान िदवस घोषणा गरेको छ। नेपालीहरू आज दहि चिउरा खाएर असार १५ मनाउँछन्। खेत हुनेहरुले रोपाइँ गर्छन्। आजै देशका विभिन्न क्षेत्रमा रोपाइ जात्रा पनि मनाउने गरिन्छ।
तर यो वर्षको असार १५ मा भने पानी नपरेकोले धेरै खेत बाँझो नै छ। त्यसमाथि वैशाख १२ र २९ को भूकम्पले मान्छेको मनको त्रास हट्न सकेको छैन्।
'हिजो पनि भूकम्प गयो हैन्?' खनिरहेको कोदाली रोकेर खोकनाका ७६ वर्षीय गोपीलाल महर्जनले सोधे।
मैले हो भन्दै टाउको हल्लाएँ।
बुढेसकालमा खेतमा एक्लै जोतिएका थिए उनी। 'खेताला लगायो भने ज्वाइँलाई भन्दा बढी मान गर्नुपर्छ' उनले भने 'बिहान खाना, दिउँसो खाजा, बेलुका खाना फेरि जाँड पनि खुवाउनु पर्छ।' उनको गुनासो ज्यालामा पनि थियो।
'दिनको ८०० रुपैयाँ दिनुभन्दा त बरु आफैं काम गर्छु' उनले हाँस्दै भने, 'जतिबेरसम्म मन लाग्छ काम गर्छु अल्छी लागे घर जान्छु।'
महर्जनका छोरा छैनन्। उनी छोरीका दुई जना नातिनी छन्। एउटी नातिनी पढ्न विदेश गइन्। यहीँ भएकी नाितनीले पनि १८ क्लास नपढी बिहे नगर्ने रे।
असार १५ मनाउनु भएन?
'पानी परेको छैन, भूकम्पले अझै तर्साउँछ, खेत बाझै छ, कसरी मनाउनु असार १५?' उनी फेरि हाँसे।