विराटनगरस्थित नोबेल मेडिकल कलेज एन्ड टिचिङ अस्पताल बन्द भएको छ। विद्यार्थी आन्दोलनले सञ्चालन गर्न अफ्ठेरो परेको भन्दै प्रबन्ध निर्देशक सुनील शर्माले आइतबारदेखि अस्पताल र कलेज दुबै बन्द गरेका हुन्।
असार १ गतेदेखि एमबीबीएस पास गरी इन्टर्न गरिरहेका विद्यार्थी डाक्टरको आन्दोलनले अस्तव्यस्त बनेको कलेज र अस्पताल यहीअवस्थामा सञ्चालन गर्न कठीन भएकाले बन्द गरिएको शर्माले बताएका छन्। न्यूनतम पारिश्रमिक माग्दै एमबीबीएस पास गरेका इन्टर्न विद्यार्थीले निरन्तर आन्दोलन गरिरहेका थिए।
आइतबार अस्पतालमा भर्ना भएका सबै बिरामीलाई सञ्चालक शर्माले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र कोसी अञ्चल अस्पताल रेफर गरी अस्पतालमा ताला लगाएका छन्। ‘यथाअवस्थामा अस्पताल सञ्चालन गर्ने वातावरण भएन,' शर्माले सेतोपाटीसँग भने, ‘विद्यार्थीले सबै सेवामा अवरोध गरेकाले बिरामीलाई रेफर गरेको हुँ।'
तर विद्यार्थीले भने आफूहरूले अस्पताल बन्द नगराएको सञ्चालक आफैंले ताला लगाएको जानकारी दिएका छन्। ‘सात दिनका लागि बन्द गरेको भन्ने सूचना आएको छ,' आन्दोलनरत विद्यार्थी डाक्टर गणेश फुलाराले भने, ‘हामीले कुनै सेवामा अवरोध गरेर बन्द गराएका हैनौं, न्यूनतम पारिश्रमिक मात्र माग गरेका हौं।'
काठमाडौं विश्वविद्यालयले इन्टर्न विद्यार्थीलाई न्यूनतम दस हजार रूपैयाँ पारिश्रमिकको व्यवस्था गर्ने दुई दिनअघि निर्णय गरेको थियो। यो पारिश्रमिक दिन कलेज प्रशासन तयार भए पनि विद्यार्थीले बचन हैन व्यवहारमा देखाउनुपर्ने भन्दै आन्दोलन जारी राखेका थिए। उनीहरूले ओपिडी सेवा ठप्प पारिरहेका थिए।
केयुले नै पारिश्रमिक निर्धारण गरेपछि त्यो उपलब्ध गराउन कलेज तयार भएको थियो। ‘केयुले तोकेको तलब दिन कलेज तयार भएको हो, तर मौखिक हैन लिखित रुपमा हामीलाई प्रत्याभूत गर्नुपर्छ भनेर हामीले संघर्ष गरिरहेका थियौं,' फुलाराले भने, ‘तर सञ्चालकले अस्पताल र कलेज दुबै बन्द गर्नुभयो।'
नोबेलमा अध्ययनरत करिब १२ सय विद्यार्थीको पढाइ सबै ठप्प भएको छ। सञ्चालक शर्माले आगामी सातादेखि हुने ती विद्यार्थीको परीक्षासमेत प्रभावित हुनसक्ने बताएका छन्।
एमबीबीएस विद्यार्थी डाक्टरलाई नोबेलले तीन हजार सात सय रूपैयाँमात्र दिने गरेको छ। अन्य मेडिकल कलेजमा ८ देखि १२ हजारसम्म पारिश्रमिक दिने गरेकाले त्यही बराबरको तलब पाउनुपर्ने भन्दै विद्यार्थी आन्दोलनमा उत्रिएका थिए।
एमबिबिएस कोर्स सकिएपछि ‘इन्टर्नसिप' सुरू भएको एक महिनामात्र पुगेको थियो। इन्टर्नसिप नसकिँदै घर फर्किन दबाब परेपछि एमबीबीएस सकेका १ सय २४ जना विद्यार्थीको डाक्टर बन्ने सपना प्रभावित भएको छ।
‘चार वर्ष मिहेनत गरेर एमबिबिएस कोर्स सक्यौं, हामीले मागेको अन्य मेडिकल कलेजले इन्टर्नसिपका विद्यार्थीलाई दिएसरह पारिश्रमिक मात्र थियो,' काठमाडौं कलंकीकी सुमिना ढकालले भनिन्, ‘अहिले अस्पताल र कलेज दुबै बन्द भएपछि हामी अन्यौलमा परेका छौं।'
भर्ना भएको समयमा सेक्युरिटीबापत पचास हजार रूपैयाँ धरौटी कलेजले लिएको थियो। कानुनतः कोर्स सकिएपछि यो रकम फिर्ता दिनुपर्ने भए पनि नदिएको भन्दै विद्यार्थीले पारिश्रमिक र धरौटी दुबैलाई प्राथमिकतामा राखेर आन्दोलन थालेका थिए।
अध्ययनरत विद्यार्थी डाक्टरबाट कलेजले आगामी मंसिर महिनासम्मको लागि छात्राबास खर्चबापत ६४ हजार भुक्तानी लिइसकेको छ। काठमाडौं विश्वविद्यालय, मेडिकल काउन्सिल, शिक्षा मन्त्रालय सबैले जुन कलेजमा पढेको हो त्यही कलेजमा इन्टर्नसिप गर्न पाउने व्यवस्था मिलाएका छन्।
इन्टर्नसिप विद्यार्थीले आफूहरूले पाउनुपर्ने सुविधा पाउनुपर्ने, कानुनबमोजिम इन्टर्नसिप गर्न जहाँ पढेको त्यहीँ पाउनुपर्ने माग गरेका छन्। कलेजमा पूर्वदेखि पश्चिम र भारतसम्मका विद्यार्थी अध्ययनरत छन्।
स्थानीय प्रशासनले भने मेडिकल कलेज र अस्पताल कसले बन्द गराएको भन्ने आधिकारीक जानकारी नआएको जनाएको छ। ‘सञ्चालकले विद्यार्थीले बन्द गरेका भनेका छन्, विद्यार्थी सञ्चालकले बन्द गराएको भनेका छन्,' प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीले सेतोपाटीसँग भने, ‘दुबैतर्फबाट बुझ्दा सञ्चालक आफैंले बन्द गराएको जानकारी आएको छ, यसबारे थप बुझ्ने प्रयास गरिरहेका छौं।'
यो पनि हेर्नुहोस्