रुपन्देहीको सूर्यपुरामा श्रीमानको कुटाईबाट श्रीमतीको हत्या भएको छ। सुर्यपुरा ९ कानीजवाका ३६ वर्षिय शिवनाथ ठाकुरले आफ्नी श्रीमती २८ वर्षिय ईन्द्रावती ठाकुरको हत्या गरेको प्रहरीले जनाएको छ।
ईलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक लालगोविन्द श्रेष्ठले सोमबार राती मादक पदार्थ सेवन गरेका ठाकुरले श्रीमती ईन्द्रावतीको हत्या गरेको बताएका छन्।
श्रीमतीसँगको सामान्य झगडामा काठको पिर्काले हानी निज ठाकुरले श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ। घटनापछि घटनास्थल पुगेको ईलाका प्रहरी कार्यालय सूर्यपुराले थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि निज ठाकुरलाई ईलाका प्रहरी कार्यालय लुम्बिनीको जिम्मा लगाएको श्रेष्ठले बताए।
प्रहरीले मृतक ईन्द्रावतीको शवलाई पोष्टमार्टमको लागि भीम अस्पतालमा पुराएको छ भने श्रीमतीको हत्या गर्ने ठाकुरलाई आफ्नो नियन्त्रणमा राखेको जनाएको छ। प्रहरी निरीक्षक श्रेष्ठले श्रीमतीको हत्या गर्ने ठाकुर उपर बुधवार अदालतबाट म्याद थप गरी कर्तव्य ज्यान मुद्दा अन्तरगत कारवाही प्रकृया अघि बढाईने बताए।
ठाकुरका १० वर्ष र ७ वर्षका दुई छोरा समेत रहेको प्रहरीले जनाएको छ।