उच्च माध्यमिक शिक्षा परिषदले ७२ उच्च मावि खारेज गरेको छ। कक्षा ११ र १२ को अध्ययन अध्यापन गराउने अनुमति पाएका उच्च माविहरुलाई कक्षा ११ का विद्यार्थी भर्ना नगर्न र नगराउनसमेत भनिएको छ।
उच्च माध्यमिक शिक्षा नियमावली २०५२ को नियम ७ र सम्बन्धनसम्बन्धी विनियम २०५५ को विनियम ६.१ बमोजिम आउँदो साउन १ गतेदेखि लागू हुने गरी सम्बन्धन खारेज गर्न लागिएको उच्च माध्यमिक शिक्षा परिषदकी प्रवक्ता हिरा आचार्यले भनिन्।
कक्षा सन्चालन गर्न भनेर अनुमति लिएपनि २-३ बर्षदेखि कक्षा सन्चालन नगरेका उच्च माविको संख्या देशभरमा ७२ वटा छन्। तिनिहरुलाई स्पष्टिकरण पेश गर्न १५ दिनको समयसीमा दिएको बताइन्। यदि चित्तबुझ्दो जवाफ नआए उक्त उच्च माविहरू स्वतः खारेज हुने उनले सेतोपाटीलाई बताइन्।
सम्बन्धन खारेज हुनेमा काठमाडौंका सबैभन्दा बढी १७ उच्च मावी छन्। यस्तै ललितपुरका १०, मोरङका ६, मकवानपुर र चितवनका ४-४ तथा झापाका ३ उच्च मावि छन्।
यस्तै भक्तपुर, धनुषा, नवलपरासी र तनहुँका २-२, वटा तथा इलाम, सर्लाही, दोलखा, काभ्रेपलाञ्चोक, पर्सा, बारा, उदयपुर, सिरहा, स्याङ्जा, लम्जुङ, कपिलवस्तु, रुपन्देही, प्यूठान, रुकुम, बाँके, बर्दिया, सुर्खेत र कैलाली जिल्लाका १-१ वटा उच्च माविको सम्बन्धन खारेज भएको छ ।
खारेज हुनेमध्ये सामुदायिक विद्यालयको उच्चमावि २, क्याम्पस १७, निजी ४७, संस्थागत २ र दश जोड दुई मात्रै सञ्चालन गर्ने भनेर अनुमति लिएका २ वटा रहेको उच्चमाध्यमिक शिक्षा परिषदले जनाएको छ।