लाखौँ रुपैयाँ तिरेर डाक्टर पढ्न जनकपुरको मेडिकल कलेज (जेएमसी)गएका विद्यार्थीहरुले आफ्नो पढाइ अलपत्र परेको बताएका छन्।
आवश्यक मापदण्ड नपुगेको भन्दै मेडिकल काउन्सीलले उक्त कलेजलाई नयाँ भर्ना लिन नपाउने भनेको थियो। तर त्यहाँ अध्ययनरत पुराना व्याजका विद्यार्थीहरुले कलेज र अस्पताल लगभग बन्द भएको बताएकका छन्।
कलेज सञ्चालकहरुको लापरवाहीले गर्दा ९ महिना यता आफुहरुले कक्षामा गएर पढ्न र अस्पतालमा अभ्यास गर्न समेत नपाएको गुनासो उनीहरुको छ।
‘भदौ देखि नै कलेज बन्द जस्तै छ हामीले क्लास लिन पाएका छैनौँ,’ जेएमसीमा चौथो व्याजका एक विद्यार्थीले भने, ‘कक्षा मात्रै होइन अस्पताल पनि चलेको छैन,होस्टल सञ्चालनमा पनि छैन, हाम्रो त विजोग भयो।’
उनले आफ्नो नाम भने नखुलाइदिन आग्रह गरे।
जेएमसी सञ्चालक समितिका अध्यक्ष ओपप्रसाद पाण्डेले पैसाको अभावका कारणले कलेज चलाउन गाह्रो भएको सेतोपाटीलाई बताए। ‘आर्थिक अभावका कारण हामीले राम्रो चलाउन सकेका छैनौँ हामीले ऋण खोजिरहेका छौँ पाएपछि राम्रोगरि कलेज चलाउँछौँ,’ उनले भने।
१० महिना देखि पठनपाठन ठप्प भएको भन्ने कुरा भने उनले स्वीकार गरेनन्।
‘पूर्णकालिनरुपमा चलाउन नसकिएको तीन महिना भयो दुई तीन दिन यता कलेज बन्द छ छिटै खुल्छ। तर विद्यार्थीले पढ्नै नपाएको होइन। उनले दिनमा तीन चार वटा कक्षा सञ्चालन भैरहेको समेत जानकारी दिए। अस्पताल र होस्टल बन्द नभएको उनको दावी छ।
विद्यार्थीहरुले भने पठनपाठन लगायत, होस्टल, पुस्तकालय लगायतका कुनै पनि सुविधा समेत नपाइएको बताएका छन्। यस्तो समस्या लिएर मन्त्रालय, चिकित्साशास्त्र अध्ययन प्रतिष्ठानमा कुरा राखे पनि सुनुवाई नभएको विद्यार्थीको गुनासो छ।
एमबीबीएस, नर्सिङ र वीएस्सी नर्सिङका करिब ३०० विद्यार्थीहरुले जेएमसीमा पढ्छन्। एमबीबीएस पढ्ने विद्यार्थीहरुले भर्ना हुने बेलै ३२ लाख बुझाएको बताए।
जेएमसी १२ वर्ष अघि स्थापना भएको कलेज हो।