महाभूकम्पले भत्काएको घर अघि सुमित्रा अधिकारी। तस्वीरः प्रशन्न पोखरेल
साहूबाट लिएको ऋण नर्तिदै १२ बैशाखको महाभूकम्पले घर ध्वस्त बनाएपछि गोरखाको थालाजुङ्ग –३ मुगेका सुमित्रा अधिकारीको परिवार चिन्तामा छन्। घर बनाउन अधिकारी परिवारले गाउँका गन्नेमान्ने साहूबाट एक लाख रुपैंया ऋण लिएका थिए। चर्को ब्याज तिर्नेगरी ऋण लिएर घर निर्माण गरेको बताउँदै सुमित्राले भनिन्, ‘भूकम्पले परिवारकै खुसी लुट्यो। एकतले घर माटोमा मिल्यो।’ हेर्दाहेर्दै घर ढलेपछि अधिकारी परिवार अहिले बारीको पाटामा त्रिपालमुनि बस्दै आएका छन्।
‘मेलापात गरी कमाएको पैसामा साहूबाट लिएको ऋण थपेर सानो घर उभ्याएका थियौं’ उनले भनिन्, ‘ऋण तिर्न नभ्याउँदै भूकम्पले घरलाई बगर बनायो।’ एकतले, खरले छाएको, बार्दली निकालिएको घरमा सासू बसुन्धरा अधिकारी, ससुरा तेजबहादुर अधिकारी, सुमित्रा, अपाङ्गता भएको छोरो रामचन्द्र अधिकारी, केशब अधिकारी, दिपीका अधिकारी मिलेर बसेका थिए।
‘घामपानीमा बचाउँछ भनेको घरले झण्डै अपाङ्ग नाती लाई मारेन’ रामचन्द्रको हजुरआमा बसुन्धराले भनिन्, ‘घर भत्केर नातीलाई पुरेछ। बल्लतल्ल निकाल्यौं।’ बसुन्धरा ७२ बर्षको भइनु। अपाङ्ग नाती स्याहार्ने दायित्व उनकै काँधमा छ। रामचन्द्रको बाबुको मृत्यु भएपछि आमा अर्र्कैसंग गएकी थिइन्।
‘घर भत्केपछिका तीन दिन रुखमुनि बस्यौं’ उनले भनिन्, ‘अहिले त्रिपाल पाएका छौं।’ त्रिपालको चार सुरमा डोरी टांगेर उनीहरु बस्दै आएका छन्। ‘खान पुग्दैन’ उनले भनिन्, ‘अधिँया गरेर खाइन्थ्यो। अलिअलि भएको अन्नपात पनि माटोमा मिल्यो।’ घरमा भएको धान, मकै, कोदोलगायतका अन्नपात भेटिन्छ कि भन्दै बसुन्धराले दुई दिनसम्म भगनाबशेष खोतलिन्। ‘दुई, चारपाथी अन्न हुँदो हो’ उनले भनिन्, ‘भेटिन्छ कि भनेर ढुङ्गा, माटो तहलगाए, भेटिएन।’ उनको परिवारलाई राहत सामग्री जुटेको छ।
‘गाविसले एक बोरा चामल दिएको थियो’ तेजबहादुरले भने, ‘अर्को संस्थाले एक बोरा थपिदियो।’ एक बोरा चामल सकिएको बताउँदै उनले अब एक बोरामात्रै बाँकी रहेको जानकारी गराए। ‘भाडावर्तन पनि दिएका थिए’ उनले भने, ‘जंगल गएर दाउरा ल्याउँछौं। त्रिपालमुनि पकाउँछौं। खान्छौं।’ राहत सामग्री सकिएपछि के खाने भन्ने चिन्तामा अधिकारी परिवार छ। उनीहरुले गाउँकै एक जनाको खेतमा अधिँया खेति गरेका छन्। ‘दोहोरो मकै गोड्ने बेला भएको छ’ उनले भने, ‘भूकम्पले मकै बुढ्यो।’ मकैलाई उकेरा लगाउने समय बितेकाले उब्जनी राम्रो नहुने तेजबहादुरको तर्क छ।
‘सास रहुञ्जेल भिख मागेर खानुहुँदैन’ उनले भने, ‘खेतिपाती गरेर हातमुख जोर्नुपर्छ।’ सरकारले घर बनाइदिए बसोबासको टुंगो लाग्ने भन्दै उनले राहत सामग्री भन्दा घर बनाइदिन सरकारलाई आग्रह गरे। ‘घरमा बुढाबुढी, अशक्त मात्रै छौं’ उनले भने, ‘सरकारले झुप्रो घर बनाइदिओस्।’