भूकम्प आउँदा लडेको घरको संरचनाले थिचेर घाइते भएकी लापा गाविस– २, तेनतेतकी ४८ वर्षीया देउमाया तामाङ अस्पतालले घर फिर्ता गरेपछि बिचल्लीमा परेकी छन् ।
घर जानका लागि उनको घर छैन । भूकम्पले नै घर लड्यो । माथिबाट आएको पहिराले गाउँ पुरियो । एउटा घरले च्यापेर उनकी पाँच वर्षीया छोरी मनीषाको मृत्यु भयो ।
घरमा बस्ने ठाउँ छैन । बाटो पनि पहिराले लडाएको जाने बाटोसमेत छैन । मृत्यु भएकी छोरीको घर नजिकै खाडल खनेर पुरेपछि देउमायालाई उनका श्रीमान्ले अस्पताल ल्याएका थिए । अस्पताल आइपुग्दा समेत पाँच दिनपछि मात्र श्रीमान् ले बोकेर ल्याएका थिए । खरबारीको घाँस काटी डोरी बनाएर उनलाई त्यही डोरीले बाँधेर झर्लाङसम्म ल्याइएको थियो ।
झर्लाङमा हेलिकप्टरले सदरमुकाम लान्छ भनेर कुर्दाकुर्दै एक दिनपछि सेर्तुङतर्फ लगिएको थियो । विकट गाउँमा पानीमा भिजेर बसेपछि वैशाख १२ गते घाइते भएर खुट्टा भाँचिएकी देउमायालाई पाँच दिनपछि अर्थात् १६ गते मात्र अर्को हेलिकप्टरले सदरमुकाम ल्यायो । उनको खुट्टाको उपचार गर्न नै समस्या परेको थियो ।
जिल्ला अस्पतालले उनलाई खुट्टा भाँचिएकाले साधारण बिरामी भनेर घर फिर्ता गरिदियो । उनी अलपत्र परिन् । अहिले नीलकण्ठ स्रोत केन्द्रमा भेटिएकी देउमायालाई सदरमुकाममा त्रिपालसमेत कसैले दिएन ।
बजारमा टोल सुधार समितिले त्रिपाल बाँड्यो, उनलाई बजारको मानिस होइन भनेर दिएन तर घर नभत्केको व्यक्तिले पनि त्रिपाल लगेर राखे । कहिले अर्काको त्रिपालको आड लाग्दै त कहिले स्रोतकेन्द्र भवनको बलेसीमा बसेर भाँचिएको खुट्टा घिसार्दै गरेकी देउमायासँग वैशाखीसमेत छैन । न उनी वैशाखी किन्न सक्छिन् न उनी खानेकुरा किनेर खान सक्छिन्? 'सरकारले समेत हामीहरुलाई हेरेन' देउमायाले मलिन अनुहार बनाउँदै भनिन्स 'सरकारसँग मेरो कुरा पुर्याइदिनुस्।' रासस