ललितपुरको कुनै पनि क्षेत्रमा सवारी हाँक्दै गर्दा र हिडिँरहेको बेला सामान्य दुर्घटनामा परे अब अस्पताल जान नपर्ने भएको छ।
जहाँ दुर्घटना भएपनि तपाइँले घटनास्थलमै प्राथमिक उपचार पाउनु हुने भएको छ। त्यसपछि तपार्इँको दुर्घटनाका प्रकृति हेरेर अस्पतालमा लगिने भएको छ।
ट्राफिक प्रहरीको यस्तो अभियानमा जावलाखेलस्थित अल्का अस्पतालले सघाउने भएको छ। ‘सुरूमा ललितपुरका सडकमा यो अभियान लागू हुन्छ, ललितपुर ट्राफिकका प्रहरी निरीक्षक सिताराम हाथेछुले भने, ‘त्यसपछि विस्तारै अन्य जिल्लामा पनि लैजान सकिनेछ।’
ट्राफिक प्रहरीलाई अल्का अस्पतालका ४ जना डाक्टरहरुले प्राथमिक उपचार गर्नेबारे २ दिन तालिम दिने भएका छन्। ललितपुर प्रहरीमा अहिले ९२ जना ट्राफिक प्रहरी छन्।
सानोतिनो दुर्घटना पर्दा पनि घाइते प्राथमिक उपचार नपाएर छट्पटाइरहेको बेला यस्तो गर्न लागिएको हाथेछुले बताए। ‘दुर्घटना भए चिट काट्ने, मापसे चेक गर्नेजस्ता काम मात्र नगरेर दुर्घटनामा परेकाहरुलाई अब ट्राफिक प्रहरीले उपचार पनि गर्छ,’ उनले भने।
सोमबारदेखि ललितपुरमा खटिने ट्राफिकले सानो ब्यागमा प्राथमिक उपचारका लागि चाहिने औषधि बोक्नेछन्। ती औषधी सबै अल्का अस्पतालले ब्यहोर्ने छ।
ट्राफिक प्रहरीले पेटीमा भिर्न मिल्ने प्राथमिक उपचारको औषधि भरिएको ब्याग धेरै गह्रुगोँ नहुने अल्का अस्पतालका अध्यक्ष कुमार थापाले जानकारी दिए। घटनास्थलमा आफू भएपनि प्राथमिक उपचार अभावले कतिपयको धेरै रगत बगेको र अन्य सवारी साधन भाडामा लिएर अस्पताल पुर्याउनु पर्दा घाइतेलाई झन आहत पुग्ने भएको देखेर ट्राफिक प्रहरीसँग यस्तो सहकार्य गरिएको हो, थापाले भने।
अल्का अस्पतालले ललितपुरमा कार्यरत ट्राफिक प्रहरी घाइते भए निःशुल्क उपचार गर्ने यसअघि नै घोषणा गरिसकेको छ। ट्राफिक प्रहरी निरीक्षक हाथेछुको पहलमा अस्पतालले त्यस्तो घोषणा गरेको हो।