विश्व खाद्य कार्यक्रमले काभ्रे जिल्लामा बाँडेको चामल गुणस्तरहिन पाइएकोले दोषिलाई कारबाही गर्न राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई सिफारीस गरेको छ।
कस्तो थियो त संयुक्त राष्ट्र संघ अन्तर्गतको विश्व खाद्य कार्यक्रमले काभ्रेको पाँचखाल नगरपालिका र वरिपरिका गाउँमा बाँडेको चामल?
राष्ट्रिय मानव अधिकार आयोगका अनुसार बाँडिएको चामलमा कनिकाको मात्रा नेपाल सरकारले तोकेको मापदण्डभन्दा बढी थियो। दोस्रो, आयोगका पदाधिकारीले चामलमा कालो रंगको झन्डै आधा कनिका मिसावट रहेको पाए। तेस्रो, चामल खाँदा अमिलो र तितो स्वाद आएको र खाएका बाल बच्चालाई झाडा-पखालासमेत भएको प्रतिक्रिया स्थानीयले आयोगका पदाधिकारीलाई दिए।
त्यसपछि प्रयोशालाको नतिजाका आयोगले विश्व खाद्य कार्यक्रमविरुद्ध सरकारलाई कारबाहीको सिफारीस गरेको छ। अब सरकारले कस्तो कदम लिन्छ हेर्न भने बाँकि छ।
आयोगले प्राप्त नतिजाले चामलमा कनिकाको मात्रा बढी भएको बताएको छ। ल्याबबाट प्राप्त अन्य नतिजा बारे जान्न खोज्दा, आयोगले नतिजाको रिपोर्ट गोप्य रहने बतायो। ‘चामल सरकारले तोकेको मापदण्डभन्दा कम छ। ल्याबको रिपोर्ट भने बाहिर दिन कानुनत: मिल्दैन,’ आयोगका सचिव वेदप्रसाद भट्टराईले सेतोपाटीसँग भने।
बाँडिएको चामलमा कनिकाको मात्र धेरै भएको तथ्य भने विश्व खाद्य कार्यक्रमले स्वीकार गरिसकेको छ। उक्त संस्थाले ‘सेन्टर फर क्वालिटी सर्भिलियेन्स’ मा उक्त चामलको नमूना परीक्षण गरेको थियो। परीक्षणको नतिजाले कनिकाको मात्रा सरकारी मापदण्ड अनुसार २५ प्रतिशतभन्दा कम हुनु पर्नेमा ३२ प्रतिशत पाएको थियो।
तर चामलका अन्य गुण भने सरकारले तोकेको मापदण्ड अनुसारका नै छन्। ‘सेन्टर फर क्वालिटी सर्भिलियेन्स’को नतिजा र सरकारको खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागले गरेको परीक्षणको नतिजा एकै किसिमका छन्।
‘चामलमा कनिका बाहेक अन्य कुरा मापदण्ड भित्र नै पाइयो,’ विभागका महानिर्देशक संजिवकुमार कर्णले सेतोपाटीलाई भने, ‘झाडा पखाला के कारणले लाग्यो थाहा भएन। यसका अन्य कारण पनि हुनसक्छन्। यस सम्बन्धमा धेरै कुरा डाक्टरले नै बताउन सक्लान।’
कनिकाको भात गाउँघर तिर खाने चलन नभएको होइन, तर यसलाई स्वादिष्ट खाद्य मानिंदैन। यसको प्रयोग रक्सी बनाउन गरिन्छ। ‘कुनै चामलमा कनिकाको मात्रा धेरै हुन्छ र कुनैमा थोरै,’ कर्णले भने, ‘यसको मात्र २५ प्रतिशत भन्दा मुनी हुनुपर्ने सरकारको मापदण्ड हो।’
तर खाद्य कार्यक्रमले भने कनिकाको मात्रा सरकारले तोकेको मापदण्डभन्दा बढी भए पनि खानाका निम्ति योग्य नै भएको दाबी गरेको छ। ‘डब्ल्युएफपीले काभ्रेमा चामल सम्वन्धी दावीलाई अनुसन्धान गरेको छ। चामल खान अयोग्य भएको पाइएन,’ उसले जारी गरेको विज्ञप्तिमा भनेको छ।
तर कनिकाको मात्रा धेरै भएकोले सरकारको मापदण्ड अनुसार गुणस्तर नपुगेकाले गल्ती भएको कुरा बहने उसले अप्रत्यक्ष रूपमा स्वीकार गरिसकेको छ। उसले चामल आपूर्ति गर्ने ब्यापारीबाट अबदेखि चामल खरिद नगर्ने निर्णय गर्नुका साथै एक आफ्नो कार्यालयमा नयाँ खाद्य विषेशज्ञ पनि नियुक्ति गर्ने निर्णय गरेको छ।
गुणस्तर परीक्षणले चामलमा कनिकाबाहेक अन्य कुरा मिसावट भएको दाबी भने अहिले प्राप्त प्रयोगशालाको नतिजा बाट देखिँदैन।
उसले काभ्रेमा बाँडन लागेको चामल पनि फिर्ता ल्याईसक्यो। ‘गुणस्तर नपुगेको १४५ बोरा चामल फिर्ता भैसक्यो,’ काभ्रेका प्रमुख जिल्ला अधिकारी जनार्दन ढकालले सेतोपाटीसँग भने।
हेर्नुहोस् विश्व खाद्य कार्यक्रमले परीक्षण गराएको प्रयोगशाला नतिजा