फाइल तस्विर
जल तथा मौसम विज्ञान विभागले बाढीपहिरो बारे सर्वसाधरणलाई जानकारी दिन र गाउँठाउँबाट सूचना लिन टोल फ्री नम्बर सञ्चालन गर्ने तयारी गरेको छ।
वैशाख १२ को भूकम्पले हल्लिएको हल्लाएको जमिनमा आगामी मनसुनमा आउन सक्ने बाढी र पहिरोको सूचना सर्वसधारणलाई छिटो पुर्याउन ११५५ नम्बरको टेलिफोन प्रयोग गरिने विभागका महानिर्देशक ऋषिराम शर्माले सेतोपाटीलाई जानकारी दिए।
शर्माका अनुसार विभागले अहिले देशभरी २५ नदीमा राडार सेन्सर र बबल प्रेसर सेन्सर राखेको छ। ती उपकरणले नदीमा पानीको तहका बारेमा केही मिनेटको अन्तरमा विभागमा जानकारी पठाउँछन्। तिनै रिर्पोटका आधारमा विभागले कुनै ठाउँमा बाढी जाने वा नजाने विषयमा पूर्वानुमान र सूचना सम्प्रेषण गरिने बताएको छ।
त्यस्तै वर्षा नाप्ने यन्त्रले पनि वर्षाको अवस्थाबारे जानकारी दिने भएकाले बाढीको भविष्यवाणी गर्न सकिने शर्माले बताए। ‘मुसलधारे पानी लगातार पर्यो भने बाढी आउने सम्भावना हुन्छ भने सिमसिम पानी लामो समय परिरह्यो भने पहिरो खस्न सक्छ,' शर्माले भने।
भर्खरैको भूकम्पले यो मनसुनमा बाढीपहिरोका सम्भावना बढेकाले विभागले धेरै तयारी गरेको शर्माले बताए। ‘राडार, बबल प्रेसर सेन्सर पहिला थोरै ठाउँमा थिए, अहिले बढाएका छौं‘ उनले भने ‘बाढीको सम्भावना भए गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय लगायतका निकायमा खबर पुग्ने व्यवस्था पनि मिलाएका छौं ।'
टोल फ्रि नम्बर २४ घण्टा चालु रहनेछ। तीन सिफ्टमा विभागका प्राविधिकले सेवा दिने व्यवस्था मिलाइने शर्माले जानकारी दिए।
बाढी पहिरोबारे जान्न मात्र होइन, आफ्नो नजिक बाढी पहिरो गएको जान लागेको शंका लागे पनि उक्त नम्बरमा फोन गरेर टिपाउन सकिन्छ। ‘यो दोहोरो सञ्चारको माध्यम बनोस् भन्ने हिसाबले सुरु गर्न लागेका हौं,' शर्माले भने।
टेलिकमबाट ११५५ नम्बर स्वीकृत भइसकेपनि केही प्राविधिक कुरा मिलाउन बाँकी रहेकाले जेठ अन्तिम साताबाट मात्रै टोल फ्री नम्बरबाट जानकारी लिन र दिन सकिने शर्माले बताए।