महाभूकम्पले छिमेकीको घर भत्काएपछि आफ्नो सग्लो घर भत्काउँदै मनकामनाका एक घरधनी। तस्वीर : प्रशन्न पोखरेल
१२ वैशाखको महाभूकम्पले छिमेकीको चारतले घर भत्काएको देखेपछि गोरखाको मनकामनाका घरधनीले आफ्नो सग्लो घर भत्काएका छन्। दुई तले घर भत्काएर एक तले बनाएका हुन्। प्रेमबहादुर श्रेष्ठको पक्की घर भत्केको देखेपछि छिमेकी बिन्दू थापाले सग्लो घर भत्काउन सुरु गरिन्। उनको दुईतले घर महाभूकम्पले चर्केको पनि थिएन।
‘छिमेकीको घर भत्केको आँखै अघि देखें' उनले भनिन्, ‘चारतले घर भत्कियो। दुई तले के बाँकि रहला भन्ठानेर भत्काएँ।’ बिगत चार दिनदेखि चार जना कामदारले उनको घर भत्काइरहेका छन्। मनकामनाका दुई घरधनीले सग्लै घर भत्काएर एक तले बनाएका छन्। अग्लो घर गर्ल्यामगुलुम भएको देखेपछि घरधनीहरुले घर भत्काएर एक तले बनाएका हुन्।
‘मर्नभन्दा बहुलाउन निको हुने रहेछ’ उनले भनिन्,’ दश लाख खर्च गरेर बनाएको दुई तले घर भत्कायौं।’ महाभूकम्पपछि पनि पराकम्पनहरु जाने क्रमः नरोकिएपछि कामदार खोजेर सग्लै घर भत्काएको थापाले बताइन्। उनको घरमा होटल सञ्चालनमा थियो।
त्यस्तै गोरखाको दोस्रो ब्यापारिक केन्द्र आरुघाटमा पनि घरधनीहरुले सग्लो घर भत्काएका छन्। थुमीको आर्खेतबजार, सोतिबजारमा पनि पक्की घर भत्काइएको छ। छिमेकीको घर भत्केर भुइँमा मिलेपछि अग्लो घर भत्काएर भुइँतलेमा झारिएको छ। कामदार अभावले अधिकांश घरधनीले अग्लो घर होचो बनाउन सकेका छैनन्।
पालुङटार क्षेत्रमा पनि अग्लो सग्ला घर भत्काएर भुइँतलेमा झारिएको छ। घर धनीहरुले अब निर्माण गरिने घरहरु दुई तलेभन्दा अग्लो बनाउन रोक्नुपर्ने जनाएका छन्। सरकारी तवरबाट नक्साको डिजाइन गरिदिनुपर्ने र नगरपालिका, गाबिसका कडाइका साथ भूकम्प प्रतिरोधात्मक घर निर्माण गर्नुपर्ने घरधनीहरु बताउँछन्।
गोरखा नगरपालिकाकी कार्यकारी अधिकृत चन्द्रा थापा मगरले असार मसान्तसम्म नयाँ घर निर्माण गर्न रोक्का गरिएको जानकारी दिइन्। महाभूकम्पअघि घर निर्माणको स्वीकृति लिएकाहरुले पनि घर निर्माण गर्न नपाउने अधिकृत मगरको भनाइ छ। सरकारले पनि दुई तले भन्दा अग्लो घर निर्माण गर्न तत्कालका लागि रोक लगाएको परिपत्र जिल्ला बिकास समितिको कार्यालय र नगरपालिकाहरुमा पठाएको छ। महाभूकम्पले गोरखाको ५८ हजार घरधुरी ध्वस्त बनाएको थियो।