भूकम्प जाँदा जोगिएका गोर्खाको सौरपानी गाविस २, गौथलीका ७२ वर्षीय देवीप्रसाद पनेरु आफ्नो घरको काठको तख्ता झरेर गम्भीर घाइते भएका छन्।
भुइँचालो गएको महिना पुगेको दिन शनिबार सामान निकाल्न घरभित्र छिरेका थिए। ‘त्यो बेला घरमा केही हेर्न जानु भएको थियो' देवीप्रसादका छोरा ठाकुरप्रसादले आइतबार पितालाई हेलिकोप्टरबाट काठमाडौंमा उपचारका निम्ति लैजाने क्रममा भने।
‘त्यो बेला उहाँको टाउकोबाट रगत बग्यो' ठाकुरप्रसादले भने– ‘तत्कालै ठूलोजस्तो लागेको थिएन। तर, राति ९/१० बजेदेखि वान्ता पनि भएपछि गम्भीर चोट लागेको छ भन्ने निश्कर्षमा हामी पुग्यौं।'
घाइतेको अवस्था गम्भीर भएको थाहा पाएपछि आइतबार बिहान पर्यटन व्यवसायी राजेन्द्र बजगाई हेलिकोप्टर लिएर उद्धारका निम्ति गाउँ पुगेका थिए। उनलाई उपचारका निम्ति काठमाडौंमा ल्याउने क्रममा उनी बोल्न नसक्ने अवस्थामा पुगिसकेका थिए।
गत वैशाख १२ को भूकम्पको केन्द्रविन्दु रहेको बारपाकसँगै जोडिएको सौरपानीमा कुनै घर ठाडो उभिएको छैन। ढुंगाको प्रयोग गरेर बनाएको कुनै पनि घर सद्दे छैन। बाँसको प्रयोग भएका एकाध छाप्रामात्र जोगिएका छन्।
भत्केका घरबाट केही निकाल्न सकिन्छ कि भन्ने प्रयास गर्ने क्रममा देवीप्रसादलाई जस्तै गम्भीर चोट लाग्न सक्ने खतरा रहेछ भन्ने धेरैले थाहा पाएका छन्।
‘पालमा बसिराख्नु भएको थियो' छोरा ठाकुरप्रसादले भने– ‘म त माथि गाउँतिर थिएँ। उहाँलाई यस्तो भएछ।'
अधिकांश गाउँलेहरूले आफ्ना घरहरू भत्किएपछि त्यही पोखिएको अनाज संकलन गर्ने गरेका थिए। धेरैलाई आफ्नो भत्किएको संरचनामा कुनै काम लाग्ने सामान होला कि भन्ने पनि लाग्छ। धेरैले आफ्नो पुरानो घर वा गोठमा लगाएका कर्कटपाता, काठ आदि प्रयोग गरेर अस्थायी छाप्रा बनाएका छन्।
आ–आफूले नै घर बनाउने कोसिस गरेका छन्। ‘मैले अझै छाप्रो ठड्याउन सकेको छैन,' निर्माण कार्य गरिरहेका बेला मार्तोलले लागेको सुनिएको औंला देखाउँदै सौरपानी–३ का टेकप्रसाद सोडारीले भने– ‘अन्न जोगाउन सकिएन। माटोबाट सोहोरेर केही जम्मा गरेका छौं।'
गोर्खाको १२ किलोबाट बसमा चार घण्टा र त्यसपछि पैदल साढे दुई घन्टामा मात्र पुगिने यो दुर्गम गाउँले भूकम्पको केन्द्रविन्दु नजिकै रहेका कारण भयानक त्रासदी अनुभव गरेको छ। धेरैजसो भुइँचालोका बेला खेतबारीमा काम गर्न गएका कारण ज्यान जोगाएका छन्।
यति हुँदा पनि यस गाविसकाका ३६ जनाको भुइँचालोले ज्यान लिएको छ। घाइतेहरूको संख्या पनि ठूलो छ।
वस्तु गोठालो गएका टेकप्रसाद खाली खेतमा थिए। तर, उनले आफूलाई त्यतिबेला उभ्याएर राख्न सकेनन्। घर आउँदा घरले किचेर पत्नी घाइते भएकी थिइँन्। उनलाई पोखरा पुर्याएर उपचार गराई बल्ल घर आएका हुन्।
सौरपानीकै पदमप्रसाद ढकाल भने पारीको जंगल फुस्रेमाटामा बाख्रा चराउन गएका थिए। भुइँचालोपछि आएको पहिरोले उनी र बाख्रो पहिरोमा परे। ब्ाख्रो फेला परे पनि उनलाई अझै फेला पर्न नसकिएको टेकप्रसादले बताए।
गाउँमा आएका सुरक्षाकर्मीले तिनलाई निकाल्न नसक्ने अवस्था देखियो। सारा गाउँलेले उनी पहिरोमा परेको निष्कर्ष निकाले पनि उनलाई ‘बेपत्ता'को सूचीमा राखेपछि परिवारले पाउनुपर्ने राहत र सुविधा पाउन नसकेको गाउँलेहरूले जानकारी दिए।
‘बेपत्ता भनेर लेखेपछि केही पाइँदो रहेनछ,' टेकप्रसादले भने।
सौरपानीजस्ता धेरै गाउँहरूको बाटो पहिरोले छेकेको छ। भएका पुलहरू पनि भाँचिएका छन्। सबै ठाउँको क्षतिको विवरण अझै अनुमान गर्न नसकिने अवस्थामा रहेको देखिन्छ। सिँगै गाउँहरू अस्थायी आश्रयमा रहेका छन्। झन् शनिबार आएको ठूलो आँधीले ती सबैको सातो लिएको छ।
‘जस्तो राप्ती पसेर तराईमा त्राहिमाम पार्छ हामीलाई त्यस्तै भयो, ६९ वर्षीय पम्फादेवी देवकोटाले त्यो दिनको त्रसदी सम्झदै भनिन्।
सौरपानीका करिब १४ सय धुरीका निम्ति यतिबेला पहुँच सडक पनि छैन। ‘ढोडेनीको पुल भाँचियो, मैलमको बाटो पहिरोले छेक्यो,' टेकप्रसादले भने– ‘गाउँमा कोही गम्भीर बिमारी भयो भने लिएर जान सकिन्न। यहाँबाट निस्किने बाटो छैन।'
यस्ता धेरै गाउँका निम्ति राहतमा पाइने सामग्री, छाप्रा निर्माणका निम्ति चाहिने कर्कटपाता पुर्याउन पनि हेलिकोप्टरजस्तो माध्यम नभई नहुने अवस्था छ। राजधानी काठमाडौंमा बस्ने केही चिनजानका व्यक्तिहरूले यसका निम्ति बेलाबेलामा सहयोग पुर्याएको अवस्था छ। भौगोलिक विकटतामा रहेका सौरपानीजस्ता धेरै गाउँहरूको अवस्था अहिले उस्तै छ।