वैशाख १२ को भूकम्प र त्यसपछिका पराकम्पनले चर्किएका घरमा इन्जिनियर टोलीले निरीक्षण गरी विभिन्न संकेत चिन्ह( रातो, पहेँलो र हरियो रङका स्टिकर) टाँसेका छन्। घर, अपार्टमेन्ट, बिजनेस कम्प्लेक्स, सरकारी भवन र विद्यालयमा आकस्मिक निरीक्षणपछि टोलीले त्यस्ता स्टिकर टाँसेका हो।
रातो स्टिकर टाँसेका घर भवन अब बस्नै नमिल्ने भन्ने भान सर्वसाधारणलाई परेको छ। तर विज्ञ इन्जिनियरहरुले रातो स्टिकर टाँस्दैमा सो भवन भत्काउँनै पर्ने होइन भन्ने बताएका छन्। विस्तृत अध्ययन गर्न बाँकी रहेकाले के गर्ने भन्ने निक्र्यौल हुन समय लाग्ने सहरी विकास मन्त्रालयका पूर्व सचिव तथा सोसाइटी अफ नेप्लिज अार्किटेक्ट (सोना)का अध्यक्ष किशोर थापाले बताए। ‘ठूला अपार्टमेन्टका स्ट्रक्चरल संरचना बिग्रेका छैनन्, गाह्रो, पर्खाल लगायत फ्रेम संरचनामामात्र चर्किएका छन्, मर्मत गरेर त्यस्ता भवन सुरक्षित बनाउन सकिन्छ‘ थापाले भने ‘सरकारी भवन, विद्यालय र निजी घरको सवालमा पनि यो कुरा लागु हुन्छ।‘
धेरै विवादका बावजुद बनेका अपार्टमेन्ट चर्किए भत्किएनन्। दुर्भाग्यवस भूकम्पमा अपार्टमेन्टभित्र एक जनाको ज्यान गए पनि महानगरमा 'अपार्टमेन्ट कल्चर' नरोकिने थापाले बताए। ‘अपार्टमेन्ट चर्किए तर भत्किएनन् अब अपार्टमेन्ट बनाउँदा नचर्किने गरि बनाउनु पर्छ,‘ थापाले भने ‘अहिले अग्ला घर भूकम्पमा बढी असुरिक्षत छन भन्ने ठानिनु गलत हो।‘
शहरी विकास तथा भवन निर्माण विभागका उपनिर्देशक शिवहरी शर्माले पराकम्पन जारी रहेको बेला थप मानवीय क्षति नहोस् भनेर स्टिकर टाँसिएको बताए। रातो स्टिकर टाँसिएका संरचना पूर्निर्माणको बेला अवस्था हेरी भत्काउने वा मर्मत गरिने बताए।
‘कतिपय ठाउँमा प्रभावकारी निरीक्षण नै नगरी पनि स्टिकर टाँसेको पाइएको छ, त्यसको पुनः निरीक्षण हुन्छ, त्यसपछिमात्रै चर्किएका संरचनालाई के गर्ने निर्णय गर्छौं‘ शर्माले भने।
उनले उपत्यकामा ३ हजारभन्दा बढी घर चाहिँ भत्काउनु पर्ने देखिएको बताए। त्यस्ता घर भत्काउन उपकरणको अभाव भइरहेको पनि शर्माले जानकारी दिए।
भूकम्पपछिको अवस्थाबारे नेपाल इन्जिनियर एसोसिएसनले शुक्रबार पुल्चोक इञ्जिनियरिङ कलेजमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा इन्जिनियरहरुले घर निर्माणमा व्यापत कमजोरी औल्याएका थिए।
'उपत्यकामा घर बनाउँदा इन्जिनियरिङ सामान (छड, सिमेन्ट लगायत) प्रयोग गरिन्छ। तर त्यसको प्रयोगबारे जानकार इन्जिनियरको सल्लाह नलिने प्रवृत्तीले धेरै घर क्षति भए,' इञ्जिनियर हरिदर्शन श्रेष्ठले भने।
हैटी, जापान लगायतका देशमा भूकम्पपछि अवस्था अध्ययन गरेका इन्जिनियर राजेश ढकालले भूकम्पको विभिन्न ठाउँमा गति र शक्ति फरक हुने बताए। त्यसैले असन, इन्द्रचोक लगायत घर नबिग्रिएको तर नयाँ बसपार्क, धापासी क्षेत्रमा धेरै घर भत्किनुमा यस्ता कारण पनि भएको उनले बताए। ‘असन, इन्द्रचोक लगायतका घर भूकम्पप्रतिरोधी भएर बचेका होइनन् ती त भाग्यले बचेका हुन्‘, ढकालले भने। उनले घरको जग बसेको माटोले पनि भूकम्पमा घर क्षति हुने र नहुनेमा फरक पार्ने भएकाले माटो परीक्षणपछिमात्र घर सुझाव दिए।