वैशाख १२ गते र त्यसपछिका निरन्तर पराकम्पनले धेरै घर भत्किएका छन्। मानिसहरु पाल र टहरामा पुगेका छन्। पाल, त्रिपालपछि वासको व्यवस्था गर्न सरकारले जस्ता पाता वितरण गर्न थालेको छ। कस्ता घर कसरी बनाउने भन्ने बारेमा कुनै ठोस योजना छैन्। अन्यौलता जारी छ।
अन्यौलताबीच इन्जिनियरिङ पढेका र पढिरहेका विद्यार्थीले केही समयसम्म बस्न मिल्ने विभिन्न घरका मोडल तयार पारेका छन्। र त्यस्ता मोडल घरको प्रदर्शनी शुक्रबारदेखि पूल्चोक इन्जिनियरिङ क्याम्पसमा सुरु भएको छ।
राष्ट्रिय योजना आयोग, शहरी विकास मन्त्रालय, त्रिभुवन विश्वविद्यालय, नेपाल इन्जिनियर एसोसिएसन र सोसाइटी अफ नेप्लिज आर्किटेक्टले संयुक्त रुपमा आयोजना गरेको प्रदर्शनीको शहरी विकास मन्त्री नारायण खड्काले उद्घाटन गरे।
विनाशपछिको पुननिर्माण गर्नका लागि क्याम्पसमा अध्ययनरत विद्यार्थीको पहलमा क्याम्पसले खाली जग्गामा प्रदर्शनीका लागि ठाउँ दिएको हो। ‘नयाँ आइडिया आवस् भनेर बिना तयारी प्रदर्शनी आयोजना गरेका हौं‘, सहप्राध्यापक तथा आयोजक अरुण तिमिल्सेनाले सेतोपाटीसँग भने।
प्रदर्शनीमा केही घर बनिसकेका छन् भने केही घर बन्ने क्रममा रहेका छन्। ‘परिवार बस्ने मात्र घर नभई विद्यालयका लागि उपयुक्त हुने हल पनि निर्माण गरेका छन्‘ तिमिल्सनाले भने, विद्यार्थीले बनाएका घरलाई प्राध्यापकले पनि निरीक्षण गर्नु भएको छ।
प्रदर्शनीमा राखिएका घरहरु आवश्यकता अनुसार स्थानीय स्रोतको प्रयोग गरी बनाउन सकिने, यहीँबाट तयार गरी चाहिएको ठाउँमा फिट गर्न सकिने र केही सामान शहरबाट लिएर गाउँको स्रोत प्रयोग गरेर पनि बनाउन सकिने छन्।
मड हाउस
पूल्चोक इन्जिनियरिङ क्याम्पसमा बिई चौथो वर्षमा अध्ययनरत विक्रम आचार्यको टोलीले बनाएको यो घर गाउँघरको स्थानीय स्रोत साधनमा बनाउन सकिन्छ। माटोमा पराल र बालुवा मिसाएर बनाएको ब्रिक र बाँसबाट यो घर निर्माण गर्न सकिन्छ। बाँसको विकल्पमा काठको प्रयोग पनि गर्न सकिन्छ। माटोका ब्रिकलाई आपसमा जोड्दा एउटा ढिका बन्ने र त्यो भूकम्प प्रतिरोधी पनि हुने आचार्य बताउँछन्। उनका अनुसार घरको छाना खरले छाउनुपर्छ। गोलाकार सो घर बनाउन पाँच जनालाई पाँच दिन जति लाग्छ। ६० वर्षसम्म आयू भएका घर नेपालको ग्रामीण भेगमा उपयुक्त हुन्छन्। इँटा बनाउने, रातो, सेतो र फुस्रो माटोबाट यो घर बनाउन सकिन्छ। २० जना रहेका समूहका सदस्यहरुलाई सम्पर्क गरे उनीहरु प्राविधिक सहयोग गर्न गाउँमा स्वयम्सेवी बनेर जान तयार छन्।
एलसिबी हाउस
बाँस, जस्ता पाता आदिको प्रयोग गरी विभिन्न आकारका भूकम्प प्रतिरोधात्मक घर इन्जिनियर ओमकुमार शाहको समूहले निर्माण गरेको छ। घरको आकार र त्यसमा प्रयोग हुने सामग्रीको मात्राका आधारमा ४ किसिमका घरहरु निर्माण गर्न सकिने शाहले बताए। १३ हजार, २५ हजार, ३९ हजार र ५७ हजार रुपैयाँ मूल्य पर्ने ती घर बनाउन २ जना मिस्त्री र छ जना कामदारलाई तीन दिन लाग्छ। यस्ता घरमा ८ वर्षसम्म बस्न मिल्ने शाह बताउँछन्। २५ जनाको समूहका सदस्य पनि आवश्यक ठाउँमा प्राविधिक सहयोग गर्न जाने बताउँछन्।
सुरक्षित घर
हिमालय क्लाइमेट इनिसिएटिभले बनाएको सुरक्षित घरमा फलामको डण्डी र जस्ता पाताको प्रयोग गरिन्छ। ६५ हजारदेखि ८५ हजार रुपैयासम्म लागत लाग्ने घर सात जनाले तीन दिनमा बनाउन सक्छन्। १५ वर्षसम्म टिक्ने घरलाई आफूले चाहेको ठाउँमा सार्न पनि सकिन्छ।
छरितो घर
रोबटिक क्लबले जस्ता र फलामे डण्डी प्रयोग गरी बनाएको यो घर बनाउन जस्ताको गुणस्तर अनुसार ३२ हजारदेखि ३६ हजार रुपैयाँसम्म पर्ने यस्ता घरमा दुई वर्षसम्म बस्न सकिने क्लबकी सदस्य पूर्णिमा मुल्मीले बताइन्। हावाहुरी चट्याङ र भूकम्प प्रतिरोधी सो घर बनाउन क्लबका सदस्य नै जाने व्यवस्था छ। ठिक्क पारेको सामानको ढुवानी खर्च घर बनाउनेले व्यहोर्नुपर्छ भने डेढ दुई घण्टामा यस्तो घर फिट गर्न सकिने मुल्मीले जानकारी दिइन्।
यी घर बस्नमात्र नभई विद्यालयका रुपमा समेत प्रयोग गर्न सकिन्छ। घरमा फलामका डण्डी बंग्याएर जस्तापातालाई त्यसैमा जोडिन्छ। पर्खाल पनि जस्ताकै बनाइन्छ।
आश्रय
आर्किटेक्ट विद्यार्थी एसोसिएनले बनाएको यो घर पनि छरितो घर जस्तै जस्ता र फलामको छड प्रयोग गरेर बनाउन सकिन्छ। एसोसिएसन सदस्य गोपालबहादुर कुँवरका अनुसार यो घर छिटो, सजिलो र सस्तो मूल्यमा बन्छ। घरको भित्ता ढुंगा वा काठको बनाउन सकिन्छ। जस्ताको छाना तातेर गर्मी नहोस् भनेर छानामाथि खर, पराल आदी राख्न सकिने कुँवर बताउँछन। लागत मूल्य १३ हजार रुपैयाँ पर्ने त्यस्ता घर निर्माण गर्नका एसोसिएसनका सदस्यहरु प्राविधिक सहयोगको लागि घर निर्माण स्थलमा जाने कुँवरले बताए।
ब्याम्बो हाउस
बाँस घरमा जस्ताको छाना भएको ब्याम्बो हाउस घर सोनु खनालको समूहले बनाएको छ। इन्जिनियरिङ सकेका र पढ्दै गरेका १० जनाको उनको समूहले विभिन्न देशमा बनेका बाँसका घरको अध्ययनपछि यो घरको डिजाइन निकालेका हुन। घर बनाउन बाँस, जस्ता र त्यसलाई बाँध्ने तार चाहिने खनालले बताए। घरको पर्खाल बाँसकै चोयामा माटोले टाल्ने सो घर ३ वर्षसम्म बस्न मिल्ने खनालले बताए। चाहिएको ठाउँमा गएर प्राविधिक सहयो गर्न उनको समूहका सदस्य पनि तयार छन्।
४ हजार विद्यार्थी पठाउन सकिने
सहप्राध्यापक तिमिल्सिनाले सरकारले माग गरे इन्जिनियरिङ अध्ययन संस्थानमा अध्ययनरत करिब ४ हजार विद्यार्थीलाई स्वयम्सेवीका रुपमा आवश्यक ठाउँमा पठाउन संस्थान तयार रहेको बताए। ‘यो प्रदर्शनी पनि विद्यार्थीकै पहलमा भएको हो, सरकारले विद्यार्थीले बनाएका घर मन परे र यस्तै घर बनाउन प्राविधिक सहयोग चाहिन्छ भने विद्यार्थीलाई प्राक्टिकल गर्न पठाउन सक्छौं‘, उनले भने। अहिले संस्थान अन्तर्गत ४ हजार विद्यार्थी फेजआउट हुने तयारीमा छन्। हप्ता दिनसम्म चल्ने सो प्रदर्शनीले नयाँ सोच भएकालाई अवसर र सरकारलाई उपयुक्त विकल्प छान्ने मौका दिने तिमिल्सिनाको विश्वास छ।
तस्बिर : प्रकाश लामा